Comments Add Comment

कांग्रेस नेताहरुसँग भारतीय विदेश सचिवको भेटवार्ता, सीमा विवादमा कुरा भएन

१२ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्वराजदूत दिनेश भट्टराई सहभागी थिए ।

विदेश सचिव श्रृंगला कांग्रेस नेताहरुलाई भेट्न विहीबार साँझ सभापति देउवा निवासमा पुगेका थिए । करिब आधा घण्टा चलेको भेटवार्ता औपचारिकतामा सीमित भएको थियो ।

भेटवार्तामा नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको कांग्रेसका एक नेताले जानकारी दिए । यद्यपि सीमा विवादको विषयमा भने कुराकानी नभएको ती नेताले जानकारी दिए ।

सभापति देउवाले नेपाली कांग्रेस सबै छिमेकीसँग राम्रो सम्बन्ध राख्न चाहेको बताउँदै कांग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको बताएका थिए ।

भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईका अनुसार दुवै देशबीच बाँकी रहेका मुद्दा आपसी छलफलबाट समाधान गरेर जाँदा सम्बन्ध थप सुदृढ हुनेलगायत विषयमा पनि कुराकानी भएको थियो ।

सभापति देउवाले दुवै मुलुकबीच सम्झौता भएका परियोजनाको शीघ्र र प्रभावकारी कार्यान्वयन हुँदा त्यसले राम्रो सन्देश जाने र दुवै देशको हित हुने कुुरामा जोड दिएका थिए ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव श्रृंगला दुईदिवसीय भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आएका थिए । उनले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र परराष्ट्रसचिव भरतराज पौडेलसँग पनि भेटवार्ता गरेका थिए ।

शुक्रबार गोरखा र मनाङका कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

कृतीको व्यस्तता

Advertisment