Comments Add Comment

आकासमा ‘स्टण्ट’ देखाउँदा प्याराग्लाइडिङ दुर्घटनाको जोखिम

१२ मंसिर, काठमाडौं । गत सोमबार पोखरामा यात्रुसहित प्याराग्लाइडिङ दुर्घटना भयो । दुर्घटनामा पाइलट राजु गैरेको निधन भयो । यात्रु शीला श्रेष्ठ घाइते भइन् ।

पोखरामा प्याराग्लाइडिङको इतिहास करिब दुई दशक लामो छ । यसबीचमा दुई दर्जनभन्दा बढी दुर्घटना भएका छन् । यात्रुसहित प्याराग्लाइडिङ दुर्घटना भएर  मानवीय क्षति निम्तिएको चाहिँ यो पहिलो घटना हो ।

नेपाल हवाई खेलकुद संघका वरिष्ठ उपाध्यक्ष वसन्तराज दवाडीका अनुसार यसअघि सोलो उडान, प्रशिक्षण र काबुभन्दा बाहिरको अवस्था सिर्जना भएर प्लाराग्लाइडिङ दुर्घटना भएका थिए । पछिल्लो दुर्घटना भने पाइलटले अतिआत्मविश्वासका साथ ‘स्टण्ट’ गर्दा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उडानमा रहेका पाइलटले रुखको फूल टिप्न खोज्दा दुर्घटना भएको अनुसन्धानमा देखिएको छ ।

अनुभवी पाइलटबाट भएको यस्तो लापरवाहीले अन्त्यमा गम्भीर नतिजा निम्तिएको दवाडीले बताए । ‘विस्तृत कारण अनुसन्धानबाट पछि खुल्ला’, संघका वरिष्ठ उपाध्यक्ष दवाडीले भने, ‘घटनामा पाइलटको बढी आत्मविश्वास र लापरवाही प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’ दुर्घटनामा निधन भएका ३७ वर्षीय गैरे नेपालका अनुभवी पाइलटमध्ये एक थिए ।

सरकारले प्याराग्लाइडिङबारे नियमनको अधिकार नेपाल हवाई खेलकुद संघलाई नै दिएको छ । यात्रु बोकेका पाइलटले आकासमा गर्न हुने र नहुने कामबारे बेलाबेला सचेतनामुलक अभियान चलाउँदै आएको संघका वरिष्ठ उपाध्यक्ष दवाडी बताउँछन् ।

‘प्याराग्लाइडिङ एकदमै सुरक्षित खेल हो, कहिलेकाहीँ काबु बाहिरको परिस्थतिमा मात्र दुर्घटना हुन्छ,’ उनी भन्छन्, ‘पाइलटको लापरवाहीका कारण कसैको पनि ज्यान जोखिममा पर्नु हुँदैन ।’

उनका अनुसार, पोखरामा प्रशिक्षणका दौरान बढी प्याराग्लाइडिङ दुर्घटना भएको छ । टेकअफ र ल्याण्डिङका बेला सन्तुलन मिलाउन नसक्दा सामान्यदेखि गम्भीर प्रकृतिका दुर्घटना भएका छन् । त्यसबाहेक शारीरिक तथा मानसिक रुपमा तयार नभएका पाइलटले उडान लिँदा र एकै दिनको अधिक उडानबाट थकानका कारण पनि दुर्घटना निम्तन सक्छ ।

वरिष्ठ उपाध्यक्ष दवाडीका अनुसार दुर्घटनाका यस्ता सम्भावित कारणबारे कम्पनीहरुलाई सचेत गराउने काम संघबाट हुने गरेको छ । उनी भन्छन्, ‘तर, पछिल्लो समय टिकटक भिडियोका लागि स्टण्ट देखाउन आकासमा लापरवाही बढेको अनुमान पनि छ ।’

पोखरामा यात्रुसहित प्याराग्लाइडिङ दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले यो दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा दुर्घटना दोहोरिन नदिन सुझावसमेत दिने कार्यभार पाएको छ । समितिलाई एक महिनाको समयावधी दिइएको छ ।

नेपालमा प्याराग्लाइडिङका लागि व्यवसायिक रुपमा सफल स्थान हो पोखरा । त्यहाँ ६१ वटा कम्पनी औपचारिक रुपमा दर्ता भएर सन्चालनमा छन् । ती कम्पनीले करिब ३५० हाराहारी पाइलटलाई काम दिएका छन् ।

पोखरामा दैनिक ८ सय हाराहारी यात्रुले उडान गर्न सक्ने क्षमता छ । अहिले दैनिक औसत चार सय हाराहारी यात्रुले सेवा लिइरहेको संघको अनुमान छ । दशैं र तिहारको समयमा यो संख्या दोब्बर थियो । अर्थात्, दशैंतिहारमा लगभग पूर्ण क्षमतामा प्याराग्लाइडिङ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment