Comments Add Comment

एक दिनको अन्तरमा दाजु–भाइको मृत्यु

१२ मंसिर, विराटनगर । मोरङमा २४ घण्टाको अन्तरमा दाजुभाइको मृत्यु भएको छ । लेटाङ नगरपालिका–२ का ७० वर्षीय गोपाल कोइराला र ६३ वर्षीय ईश्वरीप्रसाद कोइरालाको मृत्यु एक दिनको अन्तरमा मृत्यु भएको हो ।

दुवै जनाको मृत्यु नोबेल शिक्षण अस्पताल विराटनगरमा भएको हो ।

अस्पतालको आइसोलेसनमा कोरोनाको उपचार हुँदाहुँदै दाजु गोपालको बिहीबार बिहान मृत्यु भयो । कोरोना संक्रमण मुक्त भएका भाइ ईश्वरीको शुक्रबार बिहान ११ बजेतिर मृत्यु भएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएपछि गोपाललाई मंसिर ९ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उनी लेटाङमै किराना पसल सञ्चालन गरेर बसेका थिए । पछिल्लो समय श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या थियो ।

ईश्वरीलाई २ मंसिर बिहान अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा त्यही दिन कोरोना पोजेटिभ देखिएको थियो । पुनः परीक्षण गर्दा मंसिर ९ गते रिपोर्ट नेगेटिभ आएको थियो । नेगेटिभ रिपोर्ट आएपछि उनको अवस्था गम्भीर थियो ।

कोरोनामुक्त भएपछि कोभिड वार्डबाट जनरल आईसीयूमा सारेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । नेपाली कांग्रेस नेता ईश्वरीमा मधुमेह र फोक्सो सम्बन्धी पुरानै समस्या थियो ।

ईश्वरी कांग्रेस मोरङ क्षेत्र नम्बर १ ‘ख’ का सभापति हुन् । उनी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बनेका थिए । निर्वाचनमा नेकपाका उपेन्द्र घिमिरेसँग पराजित भएका थिए ।

कांग्रेसका नेता एवं उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, पार्टीका जिल्ला सचिव मोदराज घिमिरेलगायतले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेपछि शवको लेटाङकै चिसाङ खोलामा अन्त्येष्टि गरिएको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment