
१२ मंसिर, काठमाडौं । निजी क्षेत्रको ठूलो प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ ।
महासंघको वरिष्ठ उपाध्यक्षसहित कार्यसमितिका ६३ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ ।
महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्नेछन् भने बाँकी पदहरुमा निर्वाचन हुनेछ ।
महासंघको वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकालबीच प्रतिस्पर्धा हुँदैछ । अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको निर्वाचनमा यो पद अहिले सर्वाधिक महत्वपूर्ण हो ।
महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध भएका छन् भने अरु पदमा निर्वाचन हुँदैछ ।
चन्द्र भर्सेस किशोर
एशोसिएट सदस्यबाट महासंघको राजनीति शुरु गरेका ढकाल आइएमई समूहका अध्यक्ष हुन्, उनको समूहको बैंक तथा वित्तीय संस्था र पर्यटन क्षेत्रमा ठूलो लगानी छ ।
अघिल्लो कार्यकालमा उनी एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । उनी इन्डोनिशियाका लागि अवैतनिक वाणिज्य दूतसमेत छन् ।
विराटनगरका व्यवसायी किशोर प्रधान जिल्ला तथा नगर उद्योग वाणिज्य संघबाट महासंघको राजनीतिमा आएका हुन् । यसअघिको कार्यकालमा उनी वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँग पराजित भएका थिए । तर महासंघका जिल्ला/नगर उपाध्यक्ष प्रमोद श्रेष्ठले स्थानीय निर्वाचनमा उम्मेदवार बनेपछि प्रधान उपाध्यक्ष मनोनित भएका थिए ।
उमेशसँग अञ्जनको प्रतिस्पर्धा
महासंघको वस्तुगततर्फको उपाध्यक्षमा व्यवसायी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । महासंघमा १०३ वटा वस्तुगत संघ र १८ वटा द्विदेशीय उद्योग वाणिज्य संघ छन् । द्विदेशीयलाई पनि वस्तुगतमै गणना गरिन्छ ।

वस्तुगत तर्फका उम्मेदवारमा अञ्जन किशोर प्रधानको प्यानलबाट हुन् भने उमेश चन्द्र ढकाल प्यानलका हुन् । लक्ष्मी ग्रुपका अध्यक्ष रहेका अञ्जन नाडा अटोमोवाइल डिलर्स एशोसिएसनका पूर्वअध्यक्षसमेत हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र नेतृ साहना प्रधानका छोरा उमेशलाल श्रेष्ठ भने व्यवसायिक क्षेत्रकै राजनीतिमा रमाए । ३ कार्यकाल महासंघको केन्द्रीय सदस्य र हाल उपाध्यक्ष रहेका उनी ३ कार्यकाल नेपाल औषधी उत्पादक संघको अध्यक्ष रहे । औषधी उत्पादक संघका साथीहरुकै सल्लाहमा उपाध्यक्षमा फेरि उम्मेदवारी दिएको उनी बताउँछन् ।
वस्तुगत केन्द्रीय सदस्य
वस्तुगत तर्फका १४ केन्द्रीय सदस्यमा २८ जनाले उम्मेदवारी दिएका छन् ।
एशोसिएट उपाध्यक्षमा
महासंघमा ९ सय भन्दा धेरै एसोसिएट सदस्य छन् । एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र संघईले उम्मेदवारी दिएका छन् । ज्योति प्रधान प्यानल र संघई ढकाल प्यानलका उम्मेदवार हुन् ।
यसअघिको निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी नदिएर चन्द्र ढकाललाई समर्थन गरेका ज्योतिले यसपटक ढकालको विपक्षी प्यानलबाट उम्मेदवारी दिएका छन् ।
महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिका जेठा छोरा शौरभ अटोमोवाइल डिलर्स एसोसिएसनको अध्यक्ष हुँदै महासंघ प्रवेश गरेका थिए । उनी हाल महासंघको राजश्व समितिका सभापति छन् ।
ढकाल प्यानलका उम्मेदवार संघईको बैंक तथा वित्तीय क्षेत्रमा लगानी छ । उनी अध्यक्ष रहेको त्रिवेणी स्पिनिब मिल्स प्रालि (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढी रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा चिनिन्छ । सरकारबाट सीआईपी सम्मान समेत पाएका उनी एक वाणिज्य बैंकको सञ्चालक समेत हुन् ।
एशोसिएट केन्द्रीय सदस्य
एशोसिएटतर्फका १९ केन्द्रीय सदस्यका लागि ३१ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्ला नगर उपाध्यक्षमा तिवारी र श्रेष्ठ
महासंघमा देशभरका १०५ वटा जिल्ला÷नगर उद्योग वाणिज्य संघहरु सदस्य छन् । जिल्ला नगरतर्फका १ जना उपाध्यक्ष पदमा महासंघको लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधि तिवारी र बाग्मती प्रदेशका दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् ।
उनको कपि तथा स्टेशनरी उद्योग, नेपालगञ्ज मेडिकल कलेज, होटल, ट्रेडिङ, प्रिन्टिङ मेसिनरी सप्लाई लगायतमा लगानी रहेको छ । उनी प्रधान प्यानलबाट उम्मेद्वार बनेका हुन् । ढकाल प्यानलबाट उम्मेदवार बनेका तिवारी पनि जिल्ला नगरमा परिचित व्यवसायी हुन् ।
जिल्ला नगर सदस्यका उम्मेदवार
महासंघको कार्यसमितिमा जिल्ला नगरतर्फबाट चयन हुने १८ केन्द्रीय सदस्यमा ३८ जनाको उम्मेदवारी परेको छ ।
प्रदेशको ७ पदमा १५ जनाको उम्मेदवारी
महासंघमा ७ प्रदेशबाट १/१ जना केन्द्रीय सदस्य चयन हुनेछन् । यो ७ पदमा १५ जनाले उम्मेदवारी दिएका छन् । जसमा प्रदेश १ बाट राजेन्द्र राउत निर्विरोध भएका छन् भने बाँकी ६ पदमा १४ उम्मेदवार छन् ।
अन्य केन्द्रीय सदस्य
महासंघमा संस्थापक उद्योग वाणिज्य संघबाट एक जना केन्द्रीय सदस्य चयन हुनेछन् । जसमा पोखरा उद्योग वाणिज्य संघ र चितवन उद्योग वाणिज्य संघका १/१ जना उम्मेदवार छन् ।
चितवनले व्यवसायी उत्तमलाल चुके र पोखराले दामु अधिकारीलाई उम्मेदवार बनाएको छ ।
द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट नेपाल—इन्डोनेसिया चेम्बर अफ कमर्सका अध्यक्ष सन्दीप अग्रवाल सर्वसम्मत चयन भइसकेका छन् ।
प्रतिक्रिया 4