Comments Add Comment

मुख्यमन्त्री गुरुङको प्रस्ताव : डान्सबार र दोहोरी साँझ पनि खोलौं

१२ मंसिर, पोखरा । कोरोना संक्रमण रोकथामका लागि भन्दै सरकारले गत चैतदेखि बन्द गरेको सिनेमा हल, जिमखाना, डान्स बार, पार्टी प्यालेस, दोहारी जस्ता ब्यवसाय अझै औपचारिक रुपमा खुलेका छैनन् ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर होटल, रेस्टुरेन्ट खुला गर्ने निर्णय भए पनि बढी भीड लाग्ने स्थल व्यवसाय बन्द नै छन् ।

डान्स बार, सांगीतिक रेस्टुरेन्ट, दोहोरी साँझहरु पनि खोल्न दिन माग गर्दै पोखराका व्यवसायीले जिल्ला प्रशासनदेखि प्रदेश सरकारसम्मलाई गुहारे । पोखरा लेकसाइडका केही रात्री सांगीतिक क्लब सञ्चालन गर्ने तयारी गरे पनि प्रहरीले बन्द गरायो ।

कोरोना संक्रमण दर बढिरहेको र पछिल्लो मृत्यु हुनेको संख्या पनि किशोरअवस्थादेखि ५० वर्षसम्मका उमेरसमूहकै रहेको तथ्यांकले देखाएको छ ।

भीड लाग्ने मनोरञ्जनात्मक व्यवसायबाट थप जोखिम बढ्ने भन्दै संघीय सरकारले बन्द गर्ने निर्णय गरेको डान्स तथा डिस्को बारहरु, सांगीतिक क्लब, दोहोरी तथा गजलहरु अब खोल्नुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अब डान्स बार, क्लब, दोहोरीजस्ता व्यवसाय पनि खुला गर्नुपर्ने उनको भनाइ छ । पोखरा पर्यटन परिषदको अधिवेशनमा बोल्दै मुख्यमन्त्री गुरुङले अब पोखरा सुरक्षित छ भनेर दुनियाँलाई भन्नुपर्ने बताएका हुन् ।

‘अब अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्ने, अनिवार्य सामाजिक दुरी कायम गर्ने गरेर पनि व्यवसाय खोल्नुपर्छ । यसरी खोल्न सक्यो भने नाच्छन्, गाउँछन्, जान्छन्,’ मुख्यमन्त्री गुरुङले भने, ‘कामदार सुसूचित हुनुपर्‍यो । व्यवस्थित गरेर खोलौं । भीड नगरिकन खोलौं ।’

पोखराका २० वटा प्रत्यक्ष सांगीतिक कार्यक्रम हुने रेस्टुरेन्ट, ४/५ वटा रात्री क्लब, त्यति नै संख्याका डिस्को तथा डान्स रेस्टुरेन्ट, २४ वटा दोहोरी साँझ र ४ वटा गजल रेस्टुरेन्ट बन्द छ । मुख्यमन्त्रीले खुला गर्न भनेपछि व्यवसायी उत्साही बनेका छन् ।

प्रदेश सरकारले खोल्न भनेपछि प्रमुख जिल्ला अधिकारीले माथिको आदेश भनेर बन्द गराउने काम गर्न नहुने उनले बताए । ‘माथिको मात्रै आदेश मान्ने सीडीओको के काम ? प्रदेश सरकारले चलाउने भनेपछि चलाउनुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘मैले सुरुदेखि नै भनेको थिएँ, होटलहरु अब विस्तारै खोल्नुस् । पहिले बाँच्ने उपाय खोज्नुप¥यो । जे गर्दा समाजमा संक्रमणको सम्भावना कम हुन्छ, त्यसरी नै खोलौं ।’

अहिले पोखराका करिब २० वटा प्रत्यक्ष सांगीतिक कार्यक्रम हुने रेस्टुरेन्ट, ४/५ वटा रात्री क्लब, सोही संख्यामा डिस्को तथा डान्स रेस्टुरेन्ट, २४ वटा दोहोरी साँझ र ४ वटा गजल रेस्टुरेन्ट बन्द छ । मुख्यमन्त्रीले अब स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खुला गर्न भनेपछि व्यवसायी उत्साही बनेका छन् ।

व्यवसायी गणेशबहादुर भट्टराईले मुख्यमन्त्रीको भनाइ सकारात्मक रहेको बताए । ‘एकातिर संक्रमणदर बढिरहेको छ । अर्कोतिर व्यवसाय खोल्नैपर्ने बाध्यता छ । यस्तो अवस्थामा मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्नुको विकल्प छैन,’ भट्टराईले भने, ‘खोप कहिले आउने हो पत्तो छैन । मानिसको स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो । बरु अनुगमनलाई प्रभावकारी बनाउनुपर्‍यो ।’

पोखराको लेकसाइड स्थानीय भन्दा बाहिरबाट र विदेशी पर्यटक आउने ठाउँ भएकाले अलि बढी नै संवेदनशील हुनुपर्ने उनको भनाइ थियो ।

रेस्टुरेन्टहरु खुले पनि सांगीतिक कार्यक्रम नखुल्दा लेकसाइडमा थप आकर्षण नभएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए ।

‘रेस्टुरेन्ट खुलेका छन् तर सांगीतिक क्लब, बार, डिस्कोहरु बन्द छन् । धेरै पटक सीडीओ कार्यालयमा अनुमति मागिरहेका छौं । केन्द्र सरकारको निर्णय नभएकाले खुल्न दिन नसकिने जवाफ पायौं,’ अध्यक्ष बरालले भने, ‘अब मुख्यमन्त्री गुरुङको पहलमा खुल्ने आशामा छौं ।’

मापदण्ड अपनाएर खोल्ने विषयमा प्रोटोकल अपनाउनेबारे अभिमुखीकरण कार्यक्रम पनि भइसकेको उनले बताए ।

‘अनुगमन चाहिँ हुनुपर्‍यो । सहायक सीडीओको संयोजकत्वमा अनुगमन समिति पनि बनेको छ । त्यसले नियमित अनुगमन गरेर अनुशासित ढंगले खोलौं भन्ने हाम्रो पनि भनाइ हो,’ बरालले थपे ।

करोडौंको लगानी र थुप्रैको रोजगारी जोखिममा परेकाले अब मापदण्ड अपनाएर खोल्न दिन पोखराका लोकहोदोरी व्यवसायीले पनि माग गर्दै आएका छन् । ‘२ पटक सीडीओ कार्यालयमा ज्ञापनपत्र बुझायौं, सुनुवाई भएन,’ लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीका अध्यक्ष जीवन गुरुङले भने, ‘सीडीओ कार्यालयले मुख्यमन्त्रीलाई भन्न भन्यो, मुख्यमन्त्रीलाई पनि भन्यौं । उहाँले प्रहरीका डीएसपीलाई फोनै गरेर भन्नुभयो ।’

मुख्यमन्त्रीले छिट्टै खोल्न आश्वासन दिएपछि आशावादी बनेको गुरुङले बताए । २४ लोकदोहोरी साँझमध्ये अब कति खुल्छन् भन्ने यकिन नभएको र धेरै कलाकार पेशासमेत परिवर्तन गरिसकेको गुरुङको भनाइ थियो ।

‘दोहोरी साँझ व्यवसायको अवस्था दुखद् छ । २ जना कलाकारले आत्महत्या नै गरिसके । कतिले बालुवा चाल्न चालेका छन्, कतिले तरकारी बेच्न । धेरै मानसिक तनावमा छन्,’ गुरुङले भने । पोखराका लोकदोहारी साँझमा १ हजारभन्दा बढी कामदार आश्रित थिए ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खोल्न दिने मुख्यमन्त्री गुरुङको भनाइ सकारात्मक रहेको मेलोडी क्याफेका सञ्चालक तथा गायक विनोद बानियाँले बताए ।

कोरोना संक्रमणबाट सबै सचेत बन्दै पुरानै लयमा नफर्कने हो भने जनजीवन अझै कठिन बन्ने व्यवसायीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment