Comments Add Comment

भविष्यका कथाकार चिनाउने ‘छकालै’

१३ मंसिर, काठमाडौं । बजारमा खासै नाम नचलेका र आफ्नो विशिष्ट परिचय नबनाइसकेका २० जना कथाकारको कथा संगालो ‘छकालै’ हालै पढ्ने मौका मिल्यो । छकालै शब्द आफ्नो बोलीचालीमा धेरै प्रयोग नगर्ने हुनाले यसको अर्थ के रहेछ भनेर नेपाली बृहत शब्दकोश पल्टाउँदा ३ वटा अर्थ भेटिए ।

एक– मध्यान्हको समय, मध्यान्हकाल । दुई– बिहानको समय, सखार । र, तीन– सुनसान स्थिति, सन्नाटा, निछ्याम्म ।

यद्यपि, पश्चिम नेपालमा यो शब्दले बिहानलाई बुझाउने रहेछ ।

सायद यी २० कथाकारले आफूहरू कथामा भर्खरै उदाएको वा कथा लेखन भर्खरै सुरु गरेको सन्देश दिन खोजेका होलान् ।

२० कथाकारमध्ये १५ जना कविता लेखिरहेकाहरू रहेछन्, ५ जना पत्रकारिता क्षेत्रमा आवद्ध रहेछन् । कथाकारमध्ये ५ जना महिला छन् । उनीहरूको कथालाई नवीनले सम्पादन गरेर बजारमा ल्याएका हुन् ।

धेरै कथाकारको कथा संगालो कुनै एकैजना कथाकारको कथा संग्रहभन्दा केही फरक स्वादका हुँदा रहेछन् । फरक–फरक शैली, फरक परिवेश र सांस्कृतिक विविधता बोकेका कथा एकैजना कथाकारको संग्रहमा विरलै पाइन्छन् ।

छकालै पनि यस अर्थमा भिन्न छ, यो न त कुनै निश्चित शीर्षक वा सन्दर्भमा धेरै लेखकले लेखेका कथा हुन् न एकै क्षेत्रका साहित्यकारहरुको संकलन हो । पूर्वको झापा, इलाम, सोलुखुम्बु, भोजपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, बागलुङ, रोल्पा, दाङ, डोल्पा, कैलालीसमका कथाकारका कथा यसमा अटाएका छन् ।

धेरै लेखकले आफ्नो क्षेत्र, भूगोल र परिवेशकै कथा लेखेका र त्यसमा आफ्नो संस्कृति, जनजीवन, चालचलन, संस्कृति प्रस्तुत गरेकाले यो विविधतापूर्ण छ । केही लेखक विदेशमा रहे पनि उनीहरूले नेपाली परिवेशकै कथा लेखेका छन् ।

यो संगालोमा मधेसका कथाकारको कथा छैन, अर्थात् मधेसबारे लेखिएका कथा पनि छैनन् ।

साहित्य बजारमा प्रवेश गरिसकेपछि त्यहाँ नयाँ वा भर्खरै लेख्न थालेका  कथाकार भनेर पक्कै सहानुभूति र छुट पाइँदैन । प्रतिस्पर्धामा भाग लिनैपर्छ । बजारको प्रतिस्पर्धामा भने यो संग्रहका धेरै कथा पछाडि पर्न सक्छन् । तर, यो संगालोको कथा पढ्दा नयाँ कथाकारसँग धेरै निराश हुनुपर्ने छैन

पूर्वको किराँत सस्कृति, पूर्वी र मध्यपहाडको जनजीवन, डोल्पाको तानेर विवाह गर्ने र बहुपति प्रथा, सुदूरपश्चिमको दलित उत्पीडनबारे कथाकारले कथा लेखेका छन् ।

त्यस्तै राणा शासनविरुद्धको आन्दोलन, सशस्त्र द्वन्द्वको अँध्यारा पाटा, वैदेशिक रोजगारी र यसले परम्परागत सम्बन्धमा पारेका प्रभाव, सामाजिक सञ्जालका असर, पछिल्लो समय उदार बन्दै गएको नेपाली समाज र कमजोर बनेका परम्परागत नाता सम्बन्धका विषयलाई कथामा उनिएको छ ।

त्यस्तै, हालको विद्यार्थी आन्दोलन, चुनाव जित्न गरिने अनेक हत्कडा, राजनीतिको आडमा हुने अपराध र अपराधीलाई राजनीतिले दिने संरक्षणजसता विकृति पनि कथामा आएका छन् ।

नयाँ कथाकारले छनोट गरेका विषय भने एकाधबाहेक प्रचलित धाराकै छन् । एक–दुई कथाकारले नयाँ प्रयोग गर्न खोजेको देखिन्छ, नभए, गाउँ समाजमै देखे–भोगेकै विषयलाई कथा बनाइएको छ ।

बालविधवा महिला, बहुपतिकी पत्नी बन्न अस्वीकार गर्ने महिलाजस्ता केही विद्रोही नारीहरू पनि कथामा देखिएका छन् । केही कथाकारले महिला र उत्पीडित पात्रलाई बलियो, आत्मविश्वासी र अरुको भर नपर्ने रुपमा देखाएका छन्, जुन परम्परागत कथा लेखनमा पाइने भन्दा नयाँ कुरा हुन् ।

विद्यार्थी राजनीतिमा लागेका युवाहरुको मनोदशा, सशस्त्र द्वन्द्वपछि त्यसमा सहभागी भएकाहरुको मानसिक स्थिति बुुझ्न सघाउने खालका केही कथा पनि छन्, जसले हाम्रो अहिलेको राजनीतिको कुरुप चित्र र आशावादी हुन नसक्ने भविष्यतिर संकेत गरेको छ ।

विषयका हिसाबले कथालाई धेरै खोट लगाउन सकिँदैन । तर, विषयको गहिराइमा कथाहरु पुगेका छैनन् । सतहमा नै अल्झिँदा कथा बरालिएको छ । पढ्दा पाठकको धित् नमर्ने र अन्त्य दमदार हुन सकेको छैन । कतिपय कथा भने विषय, प्रस्तुति र कथानकका हिसाबमा अब्बल पनि छन् ।

फाट्टफुट्ट कथा लेख्ने वा कथामा आफ्नो भविष्य खोज्दै गरेकाहरुका लागि यस्तो कथा संगालो प्रकाशनले पक्कै हौसला प्रदान गर्नेछ । नवोदित कथाकारले बजारबाट मिश्रित प्रतिक्रियाहरु पाएका हुन सक्छन् । आफ्नो कथामा पाएका प्रतिक्रियाका आधारमा उनीहरु कथा लेखनलाई निरन्तरता दिने कि नदिने निर्क्यौलमा पुग्न सक्छन् ।

यो कथासंग्रह प्रकाशन गर्नुअघि सम्पादक नवीनले कथाकार छनोट गरेर उनीहरुका कथा समेटेको देखिन्छ । त्यसैले, कथाको गुणस्तरमा धेरै ध्यान दिएको देखिन्न ।

कथाकार छनोट गरेपछि उनीहरुले लेखेको कथा छाप्नैपर्ने बाध्यता सम्पादक र प्रकाशकलाई परेको हुन सक्छ । त्यसमाथि बजारमा पठाउने हतारले सम्पादनमा पनि धेरै ध्यान दिन नसकेको देखिन्छ ।  संग्रहमा सम्पादक नवीनसँगै अनिल वान्तवा, अन्जना इछमफूल, अन्शु खनाल, अन्वेश थुलुङ, बाबुसाहेब, विकास रोका मगर, दीपा मेवाहाङ राई, देवव्रत, खेम बतास, कृष्णप्रसाद अर्याल, कुन्साङ, मनोज विश्वकर्मा, नदीश, निमेषराज सापकोटा, निर्भीकजंग रायमाझी, प्रज्वल अधिकारी, संगीत मगर,  समर्पण श्री र सागर चन्दका २० थान कथा छन् ।

समग्रमा यो औसतखालको कथासंग्रह हो । साहित्य बजारमा प्रवेश गरिसकेपछि त्यहाँ नयाँ वा भर्खरै लेख्न थालेका  कथाकार भनेर पक्कै सहानुभूति र छुट पाइँदैन । प्रतिस्पर्धामा भाग लिनैपर्छ । बजारको प्रतिस्पर्धामा भने यो संग्रहका धेरै कथा पछाडि पर्न सक्छन् । तर, यो संगालोको कथा पढ्दा नयाँ कथाकारसँग धेरै निराश हुनुपर्ने छैन ।

नेपालमा आख्यानमा कथाभन्दा उपन्यासकै दबदबा छ । राम्रा कथाकार खोज्दा दुई हातका औंलामा गन्न सकिनेमात्र होलान् । यो संगालोको कथा पढ्ला भविष्यमा उनीहरूबाट राम्रो कथा आउने सम्भावना देखिन्छ । नवोदित कथाकारहरूलाई शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment