Comments Add Comment

यो साता तोलामै ३ हजारले सस्तियो सुन, मूल्य अझै घट्ला ?

१३ मंसिर, काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ ओरालो ट्रेण्डमा रह्यो । साताको पहिलो दिन ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ साताको अन्त्यमा तीन हजार रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा झर्यो ।

एक साता अवधिमा चाँदीको मूल्यमा पनि प्रतितोला ४५ रुपैयाँको गिरावट देखियो । घट्दो मूल्य र विवाहको सिजन लगायतका कारणले सात महिनासम्म बन्द सुन बजारमा खरिद बिक्रीको चहल पहल बढेको छ ।

सामान्य अवस्थाको तुलनामा करिब ३५ प्रतिशतसम्म मात्रै व्यवसाय चलिरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

भाउमा उतार चढाव

आइतबार प्रतितोला ९४ हजार ३ सयमा कारोबार भएको सुनको भाउ सोमबार पनि यथावत नै थियो । तर मंगलबार सुनको भाउ तोलामै एक हजार आठ सय रुपैयाँले घट्यो । सो दिन चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले सस्तिएको थियो । बुधबार पुनः एक हजार रुपैयाँले सुनको भाउ सस्तो भएर ९१ हजार पाँच सय रुपैयाँ कायम भयो ।

बुधबार चाँदीको मूल्य पनि प्रतितोलामा पाँच रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ थियो । विहीबार स्थिर रहेको सुनको भाउ शुक्रबार भने तोलामा दुई सय रुपैयाँले सस्तिएर ९१ हजार तीन सय रुपैयाँमा झरेको छ ।

दिन छापावाल सुनको प्रतितोला मूल्य तेजावी सुनको प्रतितोला मूल्य चाँदीको मूल्य
आइतबार रु.९४,३०० रु. ९३,८०० रु.१,२१०
सोमबार रु. ९४,३०० रु. ९३,८०० रु.१,२१०
मंगलबार रु. ९२,५०० रु. ९२,००० रु.१,१८०
वुधबार रु. ९१,५०० रु. ९१,००० रु.१,१७५
विहीबार रु. ९१,५०० रु. ९१,००० रु.१,१७५
शुक्रबार रु. ९१,३०० रु. ९०,८०० रु.१,१६५

सुनको अन्तर्राष्ट्रिय बजार ट्रेण्ड

सुनको मूल्य पछिल्लो एक महिनादेखि नै ओरालो लागेको छ । यसो हुनुको प्रमुख कारण अमेरिकी राष्ट्रपति निर्वाचनको नयाँ नतिजा र कोभिड–१९ भाइरसको खोपको प्रभावकारीताबारे आएका सुखद समाचारहरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको विश्लेषण छ । सुनमा हुने लगानी आपूर्ति, माग र लगानीकर्ताको स्वभावमा निर्भर हुने गर्दछ । यसमध्ये कुनै एकमा आउने परिवर्तनले सुनको मूल्यमा प्रभाव पर्ने इन्भेष्टोपेडियाले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएपछि अमेरिकी शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ । यस्तै अन्तर्राष्ट्रिय शेयर बजार र कच्चा तेलमा गरिने लगानीबाट बाहिरिएका लगानीकर्ताहरु पुनः तेलमा आकर्षित हुँदा कच्चा तेलको मूल्य पनि बढ्न सुरु भएको छ ।  यी सूचकहरुको अर्थ हो, लगानीकर्ताहरु नयाँ चुनावी नतिजापछि सुन छोडेर लगानीका अन्य क्षेत्रहरु जान उत्साहित छन् । अर्कोतर्फ कोभिडका कारण विश्व अर्थतन्त्रमा आउन सक्ने संकुचनको डरले सुनमा लगानी गरेका लगानीकर्ताको स्वभाव कोरोनाविरुद्धको खोपको विकसित रुपको नयाँ चर्चाले दंग छ ।

नयाँ विकसित घटनाक्रमले सुनको माग, आपूर्ति र लगानीकर्ताको स्वभावको चेन प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको विश्लेषण छ । सुनको अन्तर्राष्ट्रिय मूल्य सूचक जारी गर्ने गोल्ड प्राइस डटकमका अनुसार पछिल्लो एक महिनामा सुनको भाउ ५६.९० डलरले ओरोलो लागेको छ । शुक्रबार यो समाचार तयार पार्दासम्म २.८५ डलरले सुनको भाउ घटिसकेको छ ।

नेपालमा सुनको भाउ अझै घट्ला ?

सुनको भाउमा पछिल्लो एक साताको अवधिमा आएकोे गिरावटका कारण उपभोक्ताहरु अझै सुनको मूल्य ओरालो लाग्ने विश्लेषणमा छन् । बिहेका लागि सुन नभई नहुने भएकाले पनि मानिसहरु पर्ख र हेरको अवस्थामा रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउमा यस वर्ष कायम भएको हालसम्मकै उच्च मूल्यको रेकर्ड लामो समय टिक्न नसकेका कारण मूल्यको उतार चढाव निरन्तर नै रहने महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्य बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा केही दिनदेखि एक हजार आठ सयदेखि एक हजार आठ सय १० डलरको बीचमा रहेको सुनको मूल्य केही समय स्थिर रहने उनको आँकलन छ । सुनमा भएको लगानी उद्योग, शेयर बजार जस्ता क्षेत्रमा जान थालेको भन्दै उनले अमेरिकी नयाँ बाइडनको पदभार ग्रहणपछि सुनको मूल्यको बाटो तय हुने शाक्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment