Comments Add Comment

पाउलो कोइल्होले गरे ‘सेतो सूर्य’ को प्रशंसा

१३ मंसिर, काठमाडौं । विश्वविख्यात लेखक पाउलो कोइल्होले नेपाली चलचित्र ‘सेतो सूर्य’ को प्रशंसा गरेका छन् । उनले शुक्रबार ट्विटरमा नेपाली लेखक बुद्धिसागरलाई मेन्सन गर्दै सेतो सूर्यको प्रशंसा गरेका हुन् ।

कोइल्होले लेखेका छन्, ‘हिजो मैले एउटा महान नेपाली चलचित्र सेतो सूर्य हेरेँ । कृपया उक्त चलचित्रका निर्देशकलाई भेट्नुभयो भने मेरो बधाई सुनाइदिनुहोला ।’

कोइल्होको उक्त ट्विटलाई लिएर उत्साहित बुद्धिसागरले पनि तत्काल जवाफ दिएका छन् । ‘ओमएजी ! यो त ऐतिहासिक हो । म यो गौरवपूर्ण क्षण चलचित्रका निर्देशक र कलाकारहरुसँग बाँड्नेछु,’ बुद्धिसागरले लेखेका छन् । उनले आफ्नो उक्त ट्विटमा सेतो सूर्यका निर्देशक दीपक रौनियार र अभिनेता दयाहाङ राईलाई मेन्सन गरेका छन् ।

निर्देशक रौनियार पनि कोइल्होको प्रतिक्रियाबाट दंग छन् । उनी लेख्छन्, ‘धन्यवाद । तपाईंले यो चलचित्र हेर्न र आफ्नो भावना व्यक्त गर्न समय निकाल्नुभएकोमा वास्तवमै आभारी छु । यसले मेरो दिन बनाएको छ ।’

राजनीतिक विषयवस्तुमा आधारित चलचित्र सेतो सूर्य चार वर्षअघि प्रदर्शनमा आएको थियो । यो चलचित्रमा नेपालमा भएको एक दशक लामो सशस्त्र द्वन्द्वको समयलाई चित्रण गरिएको छ । व्यवसायिकरुपमा सफल हुन नसके पनि अन्तर्राष्ट्रिय महोत्सवहरुबाट सेतो सूर्य चर्चामा आएको हो ।

सिंगापुरमा आयाजित फिल्म फेस्टिबलमा सर्वोत्कृष्ट ठहरिँदै चलचित्रले करिब ४२ लाख रुपैयाँको पुरस्कार जितेको थियो । यसैगरी यो चलचित्र नेपालबाट ओस्कारको मनोनयनमा समेत परेको थियो । यस चलचित्रमा दयाहाङ राई, आशा मगराति, रविन्द्रसिंह बानिया, सुमी मल्ल, अमृतसिंह परियार, देशभक्त खनाल, दीपक क्षेत्री लगायतले अभिनय गरेका छन् ।

को हुन् पाउलो कोइल्हो ?

ब्राजिलमा जन्मेका ७३ वर्षीय पाउलो कोइल्हो विश्वचर्चित गीतकार तथा उपन्यासकार हुन् । उनको उपन्यास ‘द अल्केमिस्ट’ सर्वाधिक चर्चित छ । विश्वका थुप्रै भाषामा यसको अनुवाद भएको छ । पाउलोका प्रशंसक विश्वव्यापी छन् ।

नेपाली लेखक उपन्यासकार बुद्धिसागर पनि पाउलोका फ्यान हुन् । उनले पहिले पनि पाउलोलाई मेन्सन गर्दै केही ट्विटहरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment