Comments Add Comment

श्रद्धाञ्जली कवि डाक्टर भीष्मराजलाई

१० मंसिर २०७७ साँझ ७ बजे नेपालका एक सुनामधारी व्यक्तित्वको अवसान भयो, उनी थिए डा.भीष्मराज प्रसाईं । मुटुमा समस्या आएपछि उनी कात्तिक २८ गते मेडिसिटी अस्पतालमा भर्ना भएर उपचाररत थिए ।

पेसाले मेडिकल डाक्टर भए पनि उनले नेपाली साहित्यमा कविता, काव्य, महाकाव्य र अनुवादमा समेत योगदान पुर्याएका थिए । उनले वाल साहित्यको पुस्तक पनि लेखेका थिए । मेडिकल डाक्टरको व्यक्तित्वका अतिरिक्त यो साहित्यिक व्यक्तित्व उनको उज्यालो पक्ष थियो । यो बेग्लै कुरा हो, उनी साहित्यिक वृत्तमा भने उति सारो घुलमिल नहुने स्वभावका हुनाले पछिल्लो समय उनको साहित्यिक सकृयता खासै देख्न पाइएको थिएन ।

उनको जन्म विसं १९८९ साल असोज फूलपातीका दिन ताप्लेजुङको आठराईमा भएको थियो । उनी चिकित्सा शिक्षा पढेर मेडिकल डाक्टर बने । तर, उनलाई सानैदेखि नै साहित्य लेखनमा रुचि थियो । उनले विसं २००७।८ तिर त्यस समयको प्रख्यात पत्रिका “ भारती “ मा “दोषी को ?” शिर्षकको लेख प्रकाशित गरेर साहित्यिक प्रकाशनको सिलसिला शुरु गरेका थिए ।

आफ्नो लेखन यात्रका बारेमा उनको आफ्नै आत्मस्वीकृति यस्तो थियो:

“ साहित्यिक क्षेत्रमा लसपस भएको १० वर्ष भएछ । अब मलाई वात लाग्ने डर छ । मलाई यस्तो असमञ्जसको स्थितिमा पुर्याउने व्यक्ति श्री वासुदेव शर्मा लुईंटेल हुन् । उनीसँग मेरो सम्पर्क २०३७ सालमा गद्य कृति “गीता बोध” छपाउने सन्दर्भमा भएथ्यो । उनीसँग मेरो विचारको तादात्म्य मिलेर गाँठो कसिएको अवश्य होइन, तर कसो कसो घनिष्ठता कायम हुन गयो । निल्नु न ओकल्नुको स्थितिमा पुगेको छ । उनीसँग भेट्न नचाहने साहित्यकार कोही छैनन् होला । उनका व्ङ्ग्यले मुटु चिर्दछ र आफ्नो स्थिति वोध गराउँछ ।

भँगेरे काङ्ग्रेस आयो, भूसतिघ्रे गयो, वावुकी छोरी आई, स्वास्नीको लोग्नेले भेट गर्‍यो , शुभलाभ यहाँ छैन, नेप्टीको कुरा नगर, लिण्डो खाने कहाँ छ ? आज श्राध्द हुँदैछ गयौ ? त्यो देब्रे हो, जात्रा चल्दैछ अरे, गीता डाक्टर के भन्छ ? ईण्टर भ्यू प्रसाईं त राम्रै लेख्दो रहेछ, जङ्ग बहादुर त जङ्ग बहादुर नै रहेछ !

राई-वाहुन् विरामी छन् ! यी सबै व्यङ्ग्यात्मक नाम उनको दिमाग कम्प्युटरभित्र राख्तछन् र कुराकानी गर्दा यस्तै भाषा प्रयोग गर्दछन्-मानिसहरुको बिषयमा । ती नामका मानिस को हुन् ? उनी नै जान्दछन् वा उनीसँग घनिष्ठ सम्पर्कमा रहनेले बुझ्दछ । खस्रो र टर्रो भाषा मात्र बोल्ने ती वासुदेव टेलिफोनमा भने किन हो कुन्नी सबैसित मसिनो नरम भाषामा “हजुर !” “हवस् “ भन्ने गर्दछन् । उनको चरित्रको कोमलताको अर्को पक्ष यो हो ।

उनीभित्रको कोमलताले मलाई आकर्षण गर्दछ । उनीले लेखककलाकारलाई आफ्नो परिवार मान्दा रहेछन् । सम्भवत: त्यसै कारणले होला मलाई उनले आफ्नो घेराभित्र भेट हुनासाथ राखे । साहित्य र लेखक भनेपछि मरिमेट्ने वासुदेवले मलाई कलम चलाउन हुट्हुटी लगाउँदै रहे ।

“डाक्टर साब ! तपाईंले सालको एउटा कृति छपाउनै पर्दछ” भन्न थालेको १० वर्षै भएछ । लेख्न त लेख्तै छु, तर उनको आकाँक्षाअनुरुप चल्न सकेको छैन, सम्भव पनि देख्दिनँ । तर, मलाई घच्घचाउने श्रेय उनैलाई जान्छ । यो खण्ड-काव्य पनि त्यही प्रेरणाबाट उम्रेको हो । ”

“घाम फेरि झुल्कने छ” काव्यमा लेखिएका यी हरफहरुले उनको लेखन यात्राको क्रम देखाउँछ साथै उनको समर्थ गद्य लेखनको परिचय समेत दिन्छ । तर, उनले कविता काव्यमै मन लगाए। त्यसैमा समर्पित हुन चाहे, गद्यमा उनी लागेनन् ।

भीष्मराजको यो काव्य कृति “ घाम फेरि झुल्कनेछ” को विमोचन उन्नयन पत्रिकाका तर्फबाट एकताका साहित्यिक समारोहहरुले सधैं हल खाली नहुने “ कृषि आयोजना सेवा केन्द्र” को सभाकक्षमा विसं २०४७ चैत्र ८ गते शुक्रबार सम्पन्न भएको थियो र सो कार्यक्रमका अतिथिहरु डा.ईश्वर बराल, बैरागी काईंला, लीला सिं कर्मा, टेकवीर मुखिया, प्रा.मोहन हिमाँशु थापा, डा.स्वामी प्रपन्नाचार्य आदि थिए । कार्यक्रममा जनकवि केशरी धर्मराज थापा, गोमा, रोचक घिमिरे, मञ्जुल जस्ता स्वनामधन्य साहित्यकारहरुको गर्विलो उपस्थिति थियो ।

यो काव्य कृतिको विमोचनको चाँजो पाँजो मिलाउने वासुदेव लुईंटेल भने नदारद थिए । उनी कुनै कार्यक्रममा हिँड्दैनथे, तर कार्यक्रम सफल बनाउनका लागि भने मज्जाले दिल फुकाएर सहयोग गर्थे । विमोचनलाई उनी सराध्दे भन्ने गर्थे र सराध्देमा पाहुनाको लस्कर लगाइदिन उनी सहयोग गर्थे र त्यस कार्यक्रममा के-के भो, अरुबाट सुनेर आनन्दित हुन्थे । भीष्मराज प्रसाईंको यो पुस्तक विमोचन सफल बनाउन पनि उनको यस्तै भूमिका रहेको थियो ।

भीष्मराजका रचनाहरु फूटकर रुपमा प्रकाशित भए पनि पहिलो पुस्तक भने विसं २०३७ मा मात्र प्रकाशित हुन सक्यो । त्यो थियो श्रीमद्भागवत् गीताको अनुवाद “ गीताबोध “ । त्यसपछि विसं २०४३ सालमा” शान्तिको अधूरो गीत” खण्ड काव्य प्रकाशित भयो ।

त्यसै साल उनको “ आराधना” काव्य सङ्ग्रह पनि प्रकाशित भयो । त्यसपछि विसं २०४७ सालमा दुई खण्ड काव्य प्रकाशित भयो-“निभेको दीयो” र “घाम फेरि झूल्कने छ । उनको “आत्म समर्पण” महाकाव्य विसं २०५५ सालमा प्रकाशित भएको थियो, यो व्यङ्ग्यात्मक महाकाव्य हो । उनको वाल साहित्यको कृति “ वनौं सबै ज्ञानी” वालगीत सङ्ग्रह २०६७ सालमा प्रकाशित भएको थियो ।

भीष्मराज प्रसाईं शुरुमा वासुदेव लुईंटेलको सहयोग, साथ र सद्भाव पाएर साहित्यिक चिनारी बनाउन सफल भएका थिए भने पछि नरेन्द्रराज प्रसाईंको निकटताले पुस्तक प्रकाशन तथा पुरस्कार प्राप्तिमा ठूलो सौहार्दता पाएका थिए । उनको “आत्म समर्पण” महाकाव्य नरेन्द्रराज प्रसाईं र ईन्दिरा प्रसाईंको नाममा स्थापित नई प्रकाशनबाट भएको थियो भने प्राप्त गरेका भानुभक्त पुरस्कार, त्रिमुर्ती पुरस्कार, महाकवि देवकोटा सम्मान, नई देरुनिख सुकीर्ति पुरस्कार प्राप्त गर्नमा पनि नरेन्द्रराज प्रसाईंकै प्रयास र सद्भाव रहेको थियो ।

आफ्नो डाक्टरी पेशामा पनि डा.भीष्मराज प्रसाईं सम्मानित व्यक्तित्व थिए । त्रिवि शिक्षण अस्पतालको स्वप्नदर्शी तथा प्रथम कार्यकारी निर्देशक उनै थिए । उनको स्कुल तथा कलेजको शिक्षा आठराई, दार्जीलिङ, वनारसमा भएको थियो । उनले पाकिस्तानको भूभाग भएको बेलाको हालको बङ्गलादेशको राजधानी ढाकाबाट मेडिकल शिक्षा पाएका थिए भने बेलायतमा प्याथोलोजी अध्ययन गरेका थिए । उनी त्रीवीमा चिकित्साशास्त्रको डिन हुँदै उपकुलपति पदसम्म पुगेका थिए । उनबाट शिक्षण अस्पातालको स्थापनामा भएको योगदानको स्मरणार्थ शिक्षण अस्पताल परिसरमा भीष्म उद्यान बनाइएको छ । यो उनको ठूलो सम्मान हो ।

म आफू पनि त्रिवि केन्द्रीय कार्यालयमा जीवनको साढे २२ वर्ष सेवा गरेको कर्मचारी हुँ । मैले त्रिवि केन्द्रीय कार्यालयबाट आन्तरिक आन्तरिक लेखा परीक्षणका लागि शिक्षण अस्पताल जाँदा त्यहाँ नेपाली साहित्यका विशिष्ट प्रतिभाहरुको तैल रङ्गका आकर्षक रंगीन पोट्रेटहरु देखें । अस्पतालमा साहित्यकारहरुको त्यस्ता तस्वीर देख्दा मलाई सुखद आश्चर्य लागेको थियो । पछि थाहा भो, यो उनै डा. भीष्मराज प्रसाईंको सोचको परिणाम रहेछ । यसबाट उनको साहित्यकारलाई हेर्ने उच्च दृष्टि र दृष्टिकोण सहजै बुझ्न सकिन्छ ।

उनीसँग मेरो भेटघाट र भलाकुसारी भए पनि ती औपचारिक र संक्षिप्त थिए । विनम्र, भद्र तथा कम वोल्ने अहङ्कार लेस मात्र नभएका गम्भीर व्यक्तिको रुपमा पाएको थिएँ मैले ।

उनको सोच थियो, “मेरो मूल्याङ्कन नै भएन, मैले माथि चढ्न पाईंन, मैले ठूलो पद पाइनँ, मैले धन कमाउन सकिनँ, मैले मर्यादा पाइनँ, मैले अधिकार पाइनँ” भन्नुको साटो , “मेरो देखाउने र गर्ने काम अलग छन्, मैले समाजलाई केही दिन सकेको छैन, मैले अधिकार त खोजें, कर्तव्य चाहिँ निर्वाह गरेको छैन, म नातावाद, कृपावाद, चाकडीवाद, जातिवादमा पटक्क छैन” भन्न सक्ने इमान्दार, कर्तव्यनिष्ठ, मानवतावादी, ईश्वरपरायण पुस्ताको जरुरत छ, जसले हाम्रा परम्परागत मान्यताको उद्घोषण, शंख ध्वनि थर्काएर गरुन् ।” उनी भन्दथे, “गीतामा प्रतिपादन गरिएको कर्मयोग मेरो जीवनको मार्ग दर्शन भएकाले म सधैं यही आस्थामा बाँच्न चाहन्छु ।”

उनले यही सिद्धान्तलाई जीवनभर अङ्गीकार गरेका थिए । उनले सदा विनयशील र लो प्रोफाइलमा बसेर सार्थक जीवनको दृष्टान्त छाडेर गए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment