Comments Add Comment
नेकपा बैठकको भित्री कथाः :

बालुवाटारमा ओली र प्रचण्डवीच घोचपेच

ईश्वर, बादल र नारायणकाजी बोलेनन्

१३ मंसिर, काठमाडौं । लिखितरुपमा एक-अर्कावीच आरोप प्रत्यारोप लगाइरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच अचेल एक्लाएक्लै सम्वाद हुन छाडेको छ ।

शनिबार बालुवाटारमा भएको सचिवालय बैठकमा उनीहरुवीच स्वाभाविक भेट भयो । तर, आपसमा घोचपेच भयो ।

सचिवालय बैठक एक बजे बोलाइए पनि केही ढिलो गरी शुरु भएको थियो, जहाँ ओली र प्रचण्डले एकअर्का विरुद्ध बोले ।

बैठकको सुरुमा कार्यकारी अध्यक्ष प्रचण्डले गत मंसिर ३ को बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई डकुमेन्ट लेख्नका लागि १० दिनको समय दिएको स्मरण गर्दै प्रस्ताव ल्याउनुभएको होला भनेर प्रस्तुत गर्न आग्रह गरे ।

त्यसपछि ओलीको लिखित प्रस्ताव खाममा राखेर सबै नेताहरुलाई वितरण भयो ।कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ मा पेश गरेको प्रस्ताव र सात पृष्ठको पत्रको जवाफमा ओलीले ३८ पृष्ठको प्रस्ताव पेश गरेका छन् ।

ओलीले आफ्नो मौखिक भनाइ पनि बैठकमा राखेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव एजेण्डाका रुपमा दर्ता नहुने भन्दै पार्टी एकताको रक्षा गर्ने हो भने त्यसलाई फिर्ता लिएर प्रचण्डले आत्मालोचना गर्नुपर्ने बताए ।

प्रस्तावमा आफूमाथि गलत लाञ्छनाहरु लगाइएकाले प्रचण्डले त्यसलाई फिर्ता लिएर क्षमा मागेपछि मात्रै पार्टी एकता अघि बढ्न सक्ने प्रधानमन्त्री ओलीको अडान थियो ।

बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले अन्तरिम कमिटीहरुको बहुमतले आफूलाई हटाउन खोजेमा त्यो मान्य नहुने भन्दै त्यस्तो अन्तरिम कमिटीहरुको बहुमतको निर्णय आफूले नमान्ने बताएको एक सचिवालय सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

शनिबारको बैठकमा ओलीको प्रतिवेदनमाथि कुनै छलफल भएन । प्रतिवेदन पेश गर्दै ओलीले पार्टीभित्र हुनुपर्ने भन्दा पनि नहुनुपर्ने प्रस्ताव ल्याइएको बताए । ‘बैठकमा ल्याउनुपर्ने एजेण्डा कहिले ल्याउनुहुन्छ ? जनताका समस्या ल्याउनै हुन्न’, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भन्यो, ‘नातागोताले पाउनुपर्ने कुरा पाएकै छन्, घर नहुनेले घरबेटी पाएकै छन् ।’

प्रधानमन्त्री ओलीले घोचपेच गरेपछि प्रचण्डले पनि म केही कुरा राख्छु भन्दै केपी ओलीलाई अहंकारी, दम्भी र व्यक्तिवादी भएको आरोप लगाए ।

प्रधानमन्त्रीले ल्याएको लिखित प्रस्तावको जवाफ त्यसको अध्ययन गरेपछि दिने बताउँदै प्रचण्डले बैठकमा प्रधानमन्त्रीका कुरा सुनेपछि संक्षिप्त टिप्पणी गर्न मन लाग्यो भन्दै आफ्ना कुरा राखेका थिए ।  ‘तपाई अहिले पनि अहंकार र दम्भ नै देखाइरहनुभएको छ । आफ्नो कमजोरी कहिल्यै महसुस गर्नुहुन्न । सधैं नेताहरुको अपमान गर्नु हुन्छ । यस्तो नगर्नुहोस्, यसले एकतामा बाधा ल्याउँछ’, बैठकमा प्रचण्डको भनाइ थियो ।

केपी ओलीकै कारण पार्टी एकतामा समस्या आएको र ओली चार पटक पार्टी फुटाउन खोज्दा आफूहरुले जोगाएको प्रचण्डले बैठकमा बताए । ‘आफैंलाई फर्केर हेर्नुहोस्, आफ्नो निर्णयहरु सम्झनुहोस् अनि नेताहरुलाई गरेको अपमान सम्झनुहोस्’, ओलीलाई प्रचण्डको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने असफल प्रयास गरेको प्रचण्डले बताए । त्यस्तै गुटको भेला गरेर पूर्वमाओवादीलाई एक्ल्याउने निर्णय गरेको, एमाले नामको पार्टी दर्ता गरेको र मदन भण्डारी फउन्डेसनको वडा तहसम्म संगठन विस्तार गरेको प्रचण्डले ओलीमाथि आरोप लगाए ।

कार्यकारी अध्यक्ष प्रचण्डले ओलीबाट लिखितरुपमा प्रस्ताव आउनु सकारात्मक भएको बताउँदै यसले बहसलाई व्यवस्थित बनाउने बताए ।

शनिबारको बैठकमाअध्यक्षद्वय ओली र प्रचण्डले बोलिसकेपछि झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमले बोलेका थिए । ईश्वर पोखरेल, रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठले भने बैठकमा आफ्नो धारणा राखेनन् ।

बैठकमा बोल्दै बरिष्ठ नेता झलनाथ खनालले पार्टीमा बहुमतको निर्णय मान्दिनँ कसैले भन्न नमिल्ने बताए । पार्टीभित्र विचार, नीति र पद्दतिमा अन्तरविरोध रहेको तर, अन्तरविरोध देखिनासाथ पार्टी फुट्छ भनेर सोच्न नहुने खनालको भनाइ थियो । अन्तसंघर्षले पार्टीलाई फुटतर्फ हैन, गतिशील बनाउनुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री खनालले बहुमतको निर्णय मान्ने विश्वव्यापी मान्यता भएकाले सहमति नजुटेको अवस्था बहुमतको निर्णय मान्नुपर्ने बताए ।

अर्का बरिष्ठ नेता माधवकुमार नेपालले अहिले पार्टीमा देखिएको विवादलाई दुई अध्यक्षको विवादका रुपमा नलिई सामुहिक रुपमा यसको समाधान खोजिनुपर्ने बताए । दुई अध्यक्षबाहेक अरु नेताहरु रबर स्टाम्प नभएको बताउँदै उनले विधि र पद्दतिमा जोड दिए ।

बालुवाटारले राति राति गुटबन्दी गरिरहेको बताउँदै नेता नेपालले आफूहरु भेला भएर पार्टीबारे छलफल गर्दा त्यसलाई गुटबन्दी गरेको आरोप लगाउन नमिल्ने बताए । नेता नेपालले बैठकमा भने, गुटबन्दी के हो ? यसको परिभाषा गरौं, बालुवाटारले गरेको गुटबन्दी चाहिँ के हो ?’

उपाध्यक्ष वामदेव गौतमले अध्यक्षले शान्तिपूर्वक प्रस्ताव राखेको भन्दै त्यसमा छलफल हुने बताए । नेता गौतमले पनि सहमतिबाट अघि बढ्न नसकेको अवस्थामा बहुमतको निर्णयकै आधारमा अघि बढ्नुपर्ने बैठकमा बताए ।

सचिवालयको अर्को बैठक भने प्रधानमन्त्रीनिवास बालुवाटारमा नबस्ने भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण नेकपाको सचिवालय र स्थायी कमिटीको बैठक बालुवाटारमै बस्दै आएको थियो । तर, मंसिर १६ गते बस्ने अर्को बैठक भने पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment