Comments Add Comment

चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न खोज्दा फणीन्द्र नेपाल पक्राउ

प्रहरी भन्छ- सुरक्षामा कडाइ गर्दा केही व्यक्तिहरु पक्राउ परेका छन्

१४ मंसिर, काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेलाई स्वागत गर्न भन्दै त्रिभुवन विमानस्थलतर्फ जाँदै गर्दा विमानस्थलको गेटबाट पक्राउ परे ।

स्वागत ब्यानरसमेत बोकेर पुगेका नेपाललाई विमानस्थलको मुलगेटमा उत्रिनासाथ प्रहरीले पक्राउ गरेर भ्यानमा हाल्यो । पक्राउपछि महानगरीय प्रहरी वृत्त गौशालामा पुर्‍याइएका उनलाई तीन घन्टापछि छाडियो ।

रिहा भएपछि नेपालले आफूलाई चिनेरै प्रहरीले पक्राउ गरेको दाबी गरे । ‘म मास्क लगाएर गएको थिएँ, तर गेटमा पुगेर एकछिन मास्क खोल्नासाथ झ्यापझुप समातिहाले,’ उनले भने, ‘चिनियाँ रक्षामन्त्रीलाई कसैले पनि स्वागत नगरोस् भन्ने प्रहरीलाई निर्देशन रहेछ ।’

सुगौली सन्धीमा नेपालले गुमाएको भुभाग फिर्ता पाउनुपर्छ भनेर अभियान चलाइरहेका उनी भारतबाट विशिष्ट अतिथिहरु नेपाल भ्रमणमा जाँदा कालो झण्डा देखाउन पुगिहाल्थे । उनी बिमानस्थलमा कालो झण्डा बोकेर जाने र प्रहरीले पक्राउ गर्ने सिलसिला लामो समयदेखि चल्दै आएको छ । त्यसैले प्रहरीका लागि उनी एक परिचित व्यक्ति हुन् ।

यसपालि भने फणीन्द्र कालोझण्डा देखाउन गएका थिएनन् । तर, स्वागत ब्यानर देखाउन जाँदा पनि उनलाई किन पक्राउ गरियो त ? के प्रहरी झुक्किएको हो ?
काठमाडौंका प्रहरी प्रवक्ता डीएसपी प्रमिश श्रेष्ठले आफूलाई फणीन्द्र नेपाल पक्राउ परेकोबारे जानकारी नै नभएको बताए ।

‘चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई लिएर सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ, त्यस क्रममा केही व्यक्तिहरु पक्राउ परेका छन्,’उनले भने, ‘को-को पक्राउ परे भन्ने चाहिँ मलाई जानकारी भएन ।’

गौशाला प्रहरी वृत्तका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले चाहिँ विमानस्थलमा उछृङ्खल गतिविधि गर्न सक्ने आशंकामा नेपाललाई पक्राउ गरिएको बताए ।

‘विमानस्थलमा कुनै किसिमको हुल हुज्जत नहोस् भनेर सतर्कता अपनाएका थियौं,’ उनले भने, ‘उहाँ कुन प्रयोजनका लागि पुग्नुभएको थियो भन्ने थाहा भएन, विरोध प्रदर्शनको आशंकामा प्रहरीले पक्राउ गरेका होलान् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment