Comments Add Comment
व्यंग्य :

बयलगाडा चालक र ठेलगाडा चालक !

१. जहाजका पाइलटहरू :

उडिरहेको जहाज अचानक डगमगाउन थाल्यो । कहिले तल जाने, कहिले माथि जाने । कहिले दायाँ जाने, कहिले बायाँ जाने । कहिले अगाडि हुइँकिने, कहिले पछाडि फर्किने । जहाज त यसरी उडेको कहिल्यै थाहा थिएन । न आकाशमा बादल थियो, न कुनै हिमपात । तै पनि किन हल्लिरहेछ यो जहाज ?

यात्रुहरू आत्तिए । त्यत्रो माथि उचाइमा उडिरहेको जहाज विनाकारण हल्लिएपछि को आत्तिँदैन ? यात्रुहरू एक आपसमा मुख–मुख हेर्न थाले । के भएको भन्ने भावमा मुन्टो उठाउँदै प्रश्न गर्न थाले । तर, जवाफ कसैबाट आएन । न जहाज तल–माथि, दायाँ–बायाँ, अगाडि–पछाडि हल्लिन नै छोड्यो ।

धेरैबेरसम्म पनि जहाज हल्लिएको हल्लियै भएपछि केही यात्रुहरू उठेर ककपिटतिर लागे– कुनचाहिँ झुर पाइलटले चलाएको रहेछ भनेर हेर्न ।

ककपिटको ढोका त बन्द थियो । तर, भित्रको दृश्य देखेर यात्रुहरू तीन छक भए । के हो यो ? ककपिटमा दुईजना पाइलट थिए । तर उनीहरू मिलेर जहाज चलाउनुको साटो एकले अर्काको ह्याण्डिल पो लुछालुछ गरिरहेका रहेछन् । उसले उसको ह्याण्डिल तान्ने, उसले उसको ह्याण्डिल तान्ने । त्यही तानातानले गर्दा जहाज असन्तुलित भइरहेको थियो ।

त्यसपछि यात्रुहरूको ध्यान जहाज चलाइरहेका दुई पाइलटतिर केन्द्रित भयो । ‘अरे ! यो के हो ? यिनीहरू त पाइलटै होइनन् !’ एकजना यात्रु चिच्याए ।

‘पाइलट होइनन् ? अनि को हो त ?’ डरले काँप्दै अर्को यात्रुले सोधे ।

‘यी त एकजना बयलगाडा चालक हुन्, अर्का ठेलगाडा चालक हुन् । म यिनीहरूलाई राम्रै चिन्छु । बयलगाडा चलाउने र ठेलगाडा चलाउनेलाई हवाइजहाज चलाउन दिएपछि यस्तै त हुन्छ नि !’ अघि चिच्याउने यात्रु कराए, र भुइँमा थचुक्क बसे । बाँकी यात्रुहरू ‘राम ! राम !’ (बाबुरामचाहिँ होइन नि !) भन्न थाले ।

२. बाह्य विपक्षी :

प्रधानमन्त्री खड्गप्रसाद ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई वालुवाटारमा बोलाएर कुराकानी गरेपछि नेकपाको विवाद झनै चर्केर गएको छ । देउवा त कांग्रेसका अध्यक्ष हुन्, उनलाई किन पार्टीको आन्तरिक विवादबारे बताउने ?

देउवालाई बोलाएर कुराकानी गरेकोमा प्रचण्ड पनि रिसाएका छन्, माधव नेपाल पनि रिसाएका छन् । झलनाथ खनाल के भएका छन् त्योचाहिँ थाहा हुन सकेको छैन । शायद उहाँ रीस व खुशको दोसाँधमा हुनुहुन्छ होला ।

त्यसो त एउटा पार्टीको अध्यक्षले अर्को पार्टीका अध्यक्षलाई भेट्नु कुनै नौलो कुरा होइन । यसमा रिसाउनुपर्ने कुरा पनि छैन । तर, पनि किन रिसाइरहेका छन् त नेताहरू ?

मैले रिसाएका नेतामध्ये एक नेतालाई सोधेँ, ‘तपाईको अध्यक्षले शेरबहादुर देउवासँग कुरा गर्दा के पो समस्या भयो र ? यो कुनै समस्याको विषय त थिएन । होइन र ?’

नेताजीले भने, ‘भेट्नु नराम्रो होइन । तर, यो भेटका कारण पार्टी अध्यक्षले अझै पनि हामीलाई माइनस गरेको प्रमाणित भयो ।’

‘किन कमरेड ?’ मैले सहज प्रश्न राखेँ ।

उनले भने, ‘देउवाजी भनेका कांग्रेसको अध्यक्ष मात्र होइन, उहाँ विपक्षी नेता पनि हुनुहुन्छ । अब पार्टीभित्र हामी नै हुँदाहुँदै प्रधानमन्त्रीले बाहिरका विपक्षी नेतासँग किन कुरा गर्नुप¥यो ?’

‘बाहिरका विपक्षी भन्नाले ?’ मैले अलि बुझिनँ ।

उनले प्रष्ट पारे, ‘प्रधानमन्त्रीजीलाई विपक्षीसँगै कुरा गर्नु थियो भने आफ्नै पार्टीभित्रका विपक्षीसँग कुरा गर्नु नि, किन बाहिरको विपक्षी चाहियो ? हामी हुँदाहुँदै बाहिरबाट विपक्षी भित्र्याउनुको अर्थ हामीलाई हेपेको होइन ?’

३. हवल्दार साबको आपत्ति :

सरकारले हालै जारी गरेको बलात्कारसम्बन्धी कानून देखेर हवल्दार साब अत्यन्त क्रुद्ध भएका छन् । खासगरी बलात्कारको घटनामा मेलमिलाप गराएमा दण्ड सजाय दिइनेछ भन्ने बुँदामा उनको आपत्ति भएको रहेछ । बलात्कार घटनामा दण्ड बढाएकोमा सबैजना खुशी छन्, तर हवल्दार साबलाई मात्रै किन आपत्ति ?

भर्खरै मात्र हवल्दार साबले एउटा पत्रकारलाई चौकीमा बोलाएर आफ्नो ‘स्टेटमेन्ट’ नै जारी गरे । उनले आक्रोशित हुँदै आफ्नो भनाई राखे, ‘हेर्नोस्, यो बलात्कार केशमा मेलमिलाप गराउनेलाई दण्ड दिने भनेको के हो ? यस्तो पनि कानुन हुन्छ ?’

पत्रकार छक्क परे । सोधे, ‘यो त राम्रै हो नि । के नराम्रो छ र यसमा ?’

हवल्दार साब जंगिए, ‘कहाँ राम्रो छ ? के मेलमिलाप गराउनु नराम्रो हो ? जस्तोसुकै केशमा होस् न, झैंझगडा गरेर बस्नुभन्दा मिलेर बस्नु त राम्रै कुरा हो नि । अब यहाँ त मिलाउने मान्छेलाई नै कारवाही गर्ने रे ? के भन्या यो ?’

‘होइन, बलात्कार केशमा पैसा खाएर पनि मिलाएको पाइयो नि, त्यही भएर भनेको होला ।’ पत्रकारले सम्झाउन खोजे ।

तर, हवल्दार साब किन सम्झिइनु ? उनले भने, ‘नेताहरूले भाषण गर्दा चाहिँ हामी सबै मिलेर बस्नुपर्छ, अनि मात्रै देश विकास हुन्छ भन्ने, अनि मिलाउने मान्छेलाई चाहिँ कारबाही गर्ने भनेर कानुन निकाल्ने ? मिलाउने मान्छेलाई नै कारबाही गरेपछि को मिलेर बस्छ त ? मिलाउने र मिलेरै समेत बस्न नहुने हो भने कसरी हुन्छ मुलुकको विकास ?’

हवल्दार साब गम्भीर देखिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment