Comments Add Comment

हलचोक पुगेर गृहसचिवले बाहिनीपतिहरुलाई भने – फिल्डमा खरो उत्रिनुस्

१४ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक पुगेर गृहसचिव महेश्वर न्यौपानेले जिम्मेवारी निर्वाहमा खरो भएर उत्रिन सरुवा भएर जान लागेका बाहिनीपतिहरुलाई निर्देशन दिएका छन् ।

बिहीबार सरुवा भएका ५ वटा बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई हलचोकमा निर्देशन दिँदै न्यौपानेले बाहिनीपतिका रुपमा खटिएपछि मातहतका इकाइबाट भएका कामको सही मूल्यांकन गर्दै इमान्दारितापूर्वक जिम्मेवारीमा खरो उत्रिन निर्देशन दिएका हुन् ।

‘आफू मातहतका सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुलाई उचित ढंगले परिचालन गरी निर्दिष्ट लक्ष्य प्राप्तिमा पूर्ण व्यवसायिक भइ कार्यसम्पादनमा उत्कृष्ट योगदान पुर्‍याउनु हुनेछ भन्ने विश्वास छ’, न्यौपानेले भनेका छन् ।

उनले विपद् व्यवस्थापन कार्यमा सशस्त्र प्रहरीले पुर्‍याएको योगदानको प्रशंसा गर्दै एपीएफले कोभिड–१९ महामारी नियन्त्रण तथा व्यवस्थापनमा पुर्‍याएको योगदान पनि प्रशंसनीय रहेको बताए ।

न्यौपानेले शान्ति सुरक्षा कायम गर्ने कार्यमा आइपर्ने विविध सुरक्षा चुनौतीहरुलाई परास्त गर्दै मुलुकको आन्तरिक सुरक्षा कायम राख्न अन्य निकायहरुसँग समेत आवश्यक समन्वय र सहकार्य गर्दै कार्यसम्पादनमा जुट्न पनि निर्देशन दिए ।

न्यौपानेले सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, राजश्व चुहावट नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रणमा संवेदनशील भएर जिम्मेवारी निर्वाहमा लाग्न कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए ।

सोही अवसरमा आईजीपी शैलेन्द्र खनालले प्राप्त स्रोत साधनलाई अधिकतम उपयोग गर्दै शान्ति सुरक्षा तथा सुशासन कायम राख्दै अनुशासित र इमान्दारिताका साथ चेनअफ कमाण्डमा रहेर व्यावसायिक कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment