Comments Add Comment

शयन कक्षबाटै सगरमाथा नियाल्दा (फोटो फिचर)

१५ मंसिर, काठमाडौं । शयन कक्षबाटै देखिने विश्वको सर्वोच्च शिखर सगरमाथा । लहरै हिम श्रृंखला । नीलो आकाश । स्वच्छ हावा । शान्त वातावरण । आहा !

यस्तो वातावरणमा एकैछिन मात्र भए पनि बस्ने मन कसलाई पो नहोला र । तर अलिकति समय छुट्याउने हो भने यस्तै वातावरणमा रमाउन जो कोही पनि सक्छ । र, त्यसका लागि उपयुक्त गन्तव्य हुन सक्छ, सोलुखुम्बुको पताले ।

अहिले विश्वभर कोभिडका कारण पदयात्रा तथा घुमाघाम त्यति सहज छैन । तर पनि मानिसहरु यात्रामा निस्किरहेकै छन् । यसरी घुम्न निस्किन चाहनेहरुका लागि उत्कृष्ट गन्तव्य हो, पताले । पहाडका घुम्ती सडक, सुन्दर हिमशृंखला र अर्गानिक खानपान यहाँको विशेषता हो ।

यहीँबाट आँखै अगाडि सगरमाथा अवलोकन गर्न पाइन्छ । समुद्री सतहबाट झण्डै ३ हजार मिटर इचाइमा पर्ने पताले सगरमाथाको ‘भ्यू प्वाइन्ट’ पनि हो । बिहान उठ्नेवित्तिकै आफ्नै शयन कक्षबाट सगरमाथा हेर्न पाइन्छ । सायद यस्तै कुनै स्थानको कल्पना गर्दै गीतकार कालीप्रसाद रिजालले पनि गीत लेखे होलान्– बिहान उठ्नेवित्तिकै हिमाल देख्न पाइयोस्… ।

विगतमा पटक–पटक सञ्चारकर्मी राजेन्द्र बानियाँसँग पताले जाने योजना बन्दै र भत्किँदै आएको थियो । गत हप्ता भने त्यो अवसर जुर्यो । सञ्चारकर्मी राजेन्द्र बानियाँ, प्रमोद न्यौपाने, गोपाल पाठक, पुरु दाहालको पताले यात्रामा म पनि भक्तपुरबाट मिसिएको थिएँ । अरुलाई पताले नौलो भए पनि मेरो यो तेस्रो यात्रा थियो । चार वर्ष अघि पहिलो पटक म पताले पुगेको थिएँ ।

काठमाडौं उपत्यका छाड्दा विहानको करिब दश बजिसकेको थियो । हामी ढिलो यात्रामा निस्किएकाले पताले पुग्दा रातिको ९ बजिसकेको थियो । हामीले सोचेका थियौं पताले सुनसान होला तर त्यसो थिएन । आन्तरिक पर्यटकले पताले निकै भिडभाड भइसकेछ । काठमाडौं उपत्यका छाड्नुअघि नै होटलमा कोठा बुक गरिसकेकाले सजिलो भयो, नत्र कोठमा नपाइने खतरा रहेछ ।

ओखलढुंगा र सोलुखुम्बुको मध्यवर्ती क्षेत्र हो पताले । यही ठाउँमा उभिएर सगरमाथा लगायत दर्जनौं हिमश्रृंखला नियाल्न सकिन्छ । विश्वकै अग्लो चुचुरो सगरमाथालगायत विश्वको तेस्रो अग्लो हिमाल कन्चनजंघा लगायत अरु थुप्रै हिमाल हेरेर मन अघाउँदैन ।

पताले पुग्नका लागि ठूलो सास्ती खेप्नुपर्दैन । राजधानीको कोटेश्वरबाट १० घण्टाको मोटर यात्रामा आरामसँग पताले पुग्न सकिन्छ । राजधानीबाट यति नजिकको दुरीमा सगरमाथासँग साक्षात्कार गर्न पाउनु आफैंमा अभूतपूर्व ठान्छन् सञ्चारकर्मी बानियाँ । ‘राजधानीबाट यति सहजै विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्न पाइएला भनेर सोचेको पनि थिएन,’ पताले पुगेपछि उनले भने, ‘यति सहजै कालोपत्रे सडकबाट आँखै अगाडि सगरमाथा हेर्न पाइएला भनेर सोचेको पनि थिइनँ ।’

सोलु दूधकुण्ड नगरपालिकामा पर्छ पताले । मेयर नाम्गेल जाङ्बु शेर्पा पतालेको प्रचार प्रसारको खाँचो औंल्याउँछन् । उनले त्यहाँको अवस्थाबारे हामीसँग यसरी बेलिबिस्तार लगाए–

सोलुखुम्बु भन्नासाथ सगरमाथाको जिल्ला भनिन्छ । सगरमाथा देश विदेशका पर्यटकलाई लोभ्याउने धरोहर हो । सबैलाई लाग्छ, जीवनमा एकपटक त सगरमाथा पुग्नैपर्छ, हेर्नैपर्छ ।

तर सगरमाथा पुग्नका लागि आधार शिविरमै जानुपर्छ भन्ने छैन । सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकास्थित पताले र पिके डाँडासम्मको यात्रा गरे हुन्छ । तर, उचित प्रचारको अभावमा घुम्न चाहनेहरु यो ठाउँसम्म आइपुग्ने गरेका छैनन् । पतालेबाट आँखै अगाडि सगरमाथा हेर्न सकिन्छ भन्ने जानकारी धेरैलाई छैन ।

द्वन्द्वकालभन्दा अघिसम्म पतालेदेखि पीके डाँडासम्मको पदयात्रा निकै चर्चित थियो । १० वर्षे जनयुद्धकालमा त्यसमा कमी आयो । तर अहिले बिस्तारै चहलपहल बढ्न थालेको छ ।

स्थानीय निकायको बजेटले भ्याएसम्म हामीले केही काम गरेका छौं तर बजेट अभावका कारण सोचेजति काम गर्न सकेका छैनौं । पर्यटनसँग सरोकार राख्ने निकाय तथा प्रवर्द्धन गर्ने निकायले अलिकति सहयोग गर्नुभयो भने हामीले धेरै काम गर्न सक्थ्यौं । 

अहिले पतालेमा पूर्वाधार विकास गर्न डिपीआर बनाउने काम अघि बढेको छ । सरसफाइ नियमित भइरहेको छ । पताले र पिके डाँडालाई जोड्ने योजना छ । पदमार्ग तथा साइकल यात्राको लागि स्थानीय स्रोत र साधनले काम भएको छ ।

कसरी पुग्ने पताले ?

राजधानी काठमाडौंबाट १० घण्टाको यात्रा गरेपछि पुगिन्छ, पताले । यहाँसम्म पुग्नका लागि कोटेश्वरबाट यातायातको व्यवस्था छ । पतालेमा पुगेपछि के खाने, कहाँ बस्ने भनेर घोत्लिनुपर्दैन । व्यवस्थित बसोबासको मेलोमेसो मिलाइएको छ । कोटेश्वरबाट सिन्धुलीको सडक हुँदै पतालेसम्म पुग्दा प्राकृतिक दृश्यहरुले लोभ्याइरहन्छ । तर, यति आकर्षक स्थानमा पर्यटनको पर्याप्त पूर्वाधार नहुँदा केही खल्लो पनि लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment