Comments Add Comment

उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न आज मतदान हुँदै

१५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न आज मतदान हुने भएको छ । शेखर गोल्छाको नेतृत्वमा आइतबार आएको महासंघको नेतृत्वले कोषाध्यक्ष मनोनयन गर्न प्रस्ताव गरेको थियो ।

तर नवननिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरुले सहमतिबाट कोषाध्यक्ष चयन गर्नु पर्ने माग राखे । गोल्छा पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी सकुन्तला हिराचनलाई कोषाध्यक्षमा मनोनयन गर्न लागिएपछि एकलौटी निर्णय मान्य नहुने आवाज उठेको थियो ।

त्यसपछि जसको पक्षको भए पनि निर्वाचनबाट गरौं भन्ने सहमति जुटेको हो । सहमति पछि महासंघको निमित्त कार्यकारी निर्देशक मीना श्रेष्ठ संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । उक्त समितिले सोमबार दिउँसो महासंघको कार्यालयमा निर्वाचन गराउने तयारी गरेको छ ।

१ लाख ५० हजार रुपैयाँ शुल्क तिरेर उम्मेद्वारले आजै मनोनयन गराउनु पर्ने र त्यसपछि कार्यसमितिभित्र मतदान हुने महासंघले बताएको छ ।

‘उम्मेद्वारी दर्ता भए पनि निर्विरोध हुनसक्ने सम्भावना पनि छ, यसकारण अहिले नै अरु केही भन्न सकिदैन,’ महासंघका एक पदाधिकारीले भने । ती पदाधिकारीका अनुसार गोल्छा पक्षबाट हिराचन र ढकाल पक्षबाट डिबी बस्नेतलाई कोषाध्यक्षमा उठाउने तयारी गरिएको छ ।

सोमबार साँझ बसेको गोल्छा नेतृत्वको महासंघको पहिलो बैठकले विशिष्ट सदस्यमा पशुपति मुरारकालाई मनोनित गरेको छ । यसअघि महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल विशिष्ट सदस्य थिए ।

नवनियुक्त अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्यकारिणी समितिको बैठकले महासंघका पूर्वअध्यक्ष मुरारकालाई विशिष्ट सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।

वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालसहितको प्यानललाई सघाएका चण्डीराजले केही वर्षदेखि विशिष्ट सदस्यका रुपमा महासंघमा राजनीति गर्दै आएका थिए । यसपटक गोल्छाले चण्डीराज ढकाललाई महासंघको राजनीतिबाट विस्थापित गर्ने भन्दै किशोर प्रधानलाई समर्थन गरेका थिए ।

नयाँ कार्यसमितिमा ढकाल पक्षमा बहुमत नभएकाले यसपटक चण्डीराजको विशिष्ट सदस्य पद खोसिन पुगेको छ । चण्डीराज महासंघमा लामो समयदेखि निर्णायक पात्र बन्ने गरेका थिए । यसैगरी केन्द्रीय कार्यकारिणी समितिमा प्रदेश १ का अध्यक्ष नरेश खड्कालाई पनि मनोनित गरिएको छ ।

महासंघको बैठकले मानार्थ सदस्यमा किशोर प्रधानलाई मनोनित गर्ने निर्णय गरेको छ । उनी वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालसँग पराजित भएका थिए ।

अघिल्लो चुनावमा पनि गोल्छासँगै प्रधान पराजित भएका व्यक्ति हुन् । महासंघको विधानमा मानार्थ सदस्य नभएपनि गोल्छाले प्रधानलाई पनि समेट्नुपर्ने भन्दै मनोनयनको प्रस्ताव ल्याएका थिए । यस विषयमा ढकाल पक्षले केही बोलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment