Comments Add Comment

कमला नदीमा देउता खेलाउनेको भीड (फोटो फिचरसहित)

१५ मंसिर, जनकपुरधाम । बाद्यवादनसहितको भजनकीर्तन भइरहेको छ । चारैतिर मान्छे बसिरहेका छन् । बीचमा एउटी महिला कपाल खोलेर बसिरहेकी छन् ।

भजनकीर्तन सुरु भएको १० मिनेटमै महिलाले आफ्नो कपाल नचाउन थाल्छिन् । र, हल्लिन थाल्छिन् । ‘ए, ओइ’, ‘जय महाराज’सहितका आवाज उनको मुखबाट निस्किन थाल्छ । यतिकैमा बाद्यवादन बजाउनेहरु जोर-जोरले बजाउन थाल्छन् ।

नदी छेउमा उपस्थित भएकाहरुका अनुसार ती महिलामा देउता चढिसकेको छ । अर्थात् उनको शरीरमा देउताको प्रवेश भइसकेको छ ।

देउता खेलाउने उनी एक्ली भने होइनन् । सोमबार सयौं महिला तथा पुरुष धनुषा र सिराहाको बीचमा रहेको कमला नदीमा यसरी नै देउता खेलाएका छन् ।

प्रत्येक वर्ष कात्तिक पूणिर्माका दिन यो नदी छेउमा देउता खेलाइँदै आएको छ । यस दिन यहाँ देउता खेलाइएपछि भूतप्रेतसहित दुष्ट आत्मा परै रहने जनविश्वास रही आएको छ ।

खासगरी धामीको विद्या आर्जन गर्न चाहनेहरु यहाँ बढी संख्यामा आउने बताइन्छ । कात्तिक पूणिर्माका दिन कमला नदीमा स्नान गरेर देउता खेलाइए तन्त्रमन्त्रको विद्या बढ्ने जनविश्वास छ ।

प्रदेश २ का जिल्लासहित छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु यस नदीमा नुहाउन आउने गर्छन् ।

भारतमा गंगा नदीप्रतिको विश्वास झैं कमला नदीप्रतिको विश्वास पनि धेरै रहेको धनुषाको कमला नगरपालिकाका रामकृष्ण यादवले बताए । ‘यहाँ नुहाउन आउनेहरु यहाँको जलसमेत भरेर आफ्नो घर लग्ने गर्छन्,’ उनले भने, ‘यहाँ वर्षौ अघिदेखि देउता खेलाउने चलनसमेत रहिआएको छ ।’

आइतबार बिहान कमला नदीमा नुहाउन गएका जनकपुरधाम १८ का बैजनाथ पासवानले आफू ५० वर्षदेखि नियमित कात्तिक पूणिर्माका दिन नुहाउन आइरहेको बताए ।

७७ वर्षीया पासवानले यहाँ लामो समयदेखि देउता खेलाउने काम भइरहेको बताए ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment