Comments Add Comment

रोटरी क्लबले बुटवलमा क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना गर्ने

१५ मंसिर, बुटवल । रोटरी क्लव अफ बुटवलले स्वास्थ्य र शिक्षा क्षेत्रलाई लक्षित गर्दै बुटवलमा क्यान्सर स्क्रिनिङ सेन्टर सहित चारवटा परियोजना सुरु गरेको छ । क्लवले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा करिब १० करोड रुपैयाँ लागतमा क्यान्सर स्क्रिनिङ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना गर्न लागेको हो ।

रोटरीको ग्लोवल ग्रान्ट प्रोजेक्ट अन्तर्गत क्यान्सर स्क्रिनिङ सेन्टरका लागि यो वर्ष साढे २ करोड रुपैयाँ लगानी हुन लागेको क्लबका अध्यक्ष सुनिल श्रेष्ठले बताए । स्क्रिनिङ सेन्टर भएपछि विशेषगरी महिलाहरुलाई क्यान्सर रोग पत्ता लगाउन बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने छ ।

यस्तै सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पताल बुटवलमा अक्सिजन जेनरेशन प्लाण्ट निर्माण, शंकरनगर वनवाटिकामा रोटरी ई–लर्निङ्ग साइन्स एण्ड थिएटर र रोटरी ब्लड कलेक्सन मोबाइल भ्यान परियोजना पनि अघि बढेको अध्यक्ष श्रेष्ठले बताए । आम्दा अस्पतालमा निर्माण हुने अक्सिजन प्लाण्टका लागि करिब ५५ लाख बजेट आवश्यक पर्ने रोटरीले जनाएको छ ।

त्यस्तै करिब ५० लाख रुपैयाँको लागतमा वन वाटिकामा ई–लर्निङ्ग एण्ड साइन्स थिएटर र ६५ देखि ८० लाख रुपैयाँको लागतमा ब्लड कलेक्सन मोबाइल भ्यान सञ्चालन गर्ने काम पनि रोटरीले अगाडि बढाएको छ । परियोजनाका लागि रोटरी इन्टरनेशनल डिष्टिक ३२९२ बाट सहयोगको आश्वासन पाएको र स्थानीय, प्रदेश र संघ सरकारसँग पनि सहयोगको आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

स्थापनाकालमा ६५ जना सदस्यबाट सुरु भएको रोटरी क्लव अफ बुटवलमा ११७ जना सदस्य पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment