Comments Add Comment

सेयर बजारमा दिनदिनै रेकर्ड : प्रविधिको कमाल कि अरु कारण ?

१५ मंसिर, काठमाडौं । नेपाली सेयर बजारमा दिन प्रति दिन नयाँ–नयाँ रेकर्ड कायम हुन थालेको छ । अघिल्लो साता बिहीबारको अन्तिम कारोबार रकम ७ अर्ब नाघेर रेकर्ड कायम भएको बजार साताको पहिलो दिन आइतबार नै त्यो रेकर्ड तोडेर नयाँ रेकर्ड कायम भयो ।

आइतबार कारोबार रकम ९ अर्ब नाघेर नयाँ रेकर्ड कायम हुनको साथै नेप्से परिसूचकले पनि उच्च विन्दुमा पुगेर रेकर्ड ब्रेक गर्‍यो । यो क्रम सोमबारको सेयर बजारले पनि निरन्तरता दियो । सोमबार दिउँसो नेप्से परिसूचक हालसम्मकै उच्च (२ हजार २८) विन्दुमा पुग्यो ।

यद्यपि कारोबार बन्द हुँदासम्म २८ दशमलव ७९ अंकले उकालो लागेर सेयर कारोबार मापक नेप्से परिसूचक १ हजार ९ सय ९७ दशमलव ०५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६३ अंकले बढेर ३८५ दशमलव ५६ अंकमा पुगेको छ ।

कुनै दिन करोड पनि कारोबार नपुग्ने बजारमा अहिले एक्कासी कारोबार रकम कसरी ८ अर्ब, ९ अर्ब रुपैयाँ भइरहेको छ त ? नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद भन्छन्, ‘यो सबै प्रविधिको कमाल हो, कोरोना पछि लगानीकर्ताहरु प्रविधिमा अभ्यस्त हुन थालेका छन् ।’

पौने ९ अर्ब भन्दा धेरै कारोबार भयो । दिनभर भएका ८३ हजार ५६७ कारोबारमा १९८ कम्पनीका २ करोड ५१ लाख ९१ हजार ३१९ कित्ता सेयर किनबेच भए । कारोबार रकम ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ रुपैयाँ पुगेको छ ।

कुनै दिन करोड पनि कारोबार नपुग्ने बजारमा अहिले एक्कासी कारोबार रकम कसरी ८ अर्ब, ९ अर्ब रुपैयाँ भइरहेको छ त ? नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद भन्छन्, ‘यो सबै प्रविधिको कमाल हो, कोरोना पछि लगानीकर्ताहरु प्रविधिमा अभ्यस्त हुन थालेका छन् ।’

नेप्सेले यो वर्ष घरबाटै सेयर खरिद बिक्री गर्न सकिने गरी ‘अनलाइन कारोबार प्रणाली’ को विकास गरेको थियो । तर अनलाइन कारोबारमा लगानीकर्ताहरु एकदमै कम आवद्ध भए । कारोबार प्रणालीमा पटक–पटक समस्या आउँदा नेप्सेको व्यापक आलचना पनि भयो ।

अहिले भने अनलाइन कारोबार सही प्रमाणित भएको र यसका कारण अहिले बजारमा ठूलो हलचल भइरहेको नेप्सेका सीईओ साउद बताउँछन् । हिजो ब्रोकर कार्यालयमा नै गएर कारोबार गर्नुपर्ने बाध्यता रहेकाले पनि धेरै लगानीकर्ता सेयर खरिद बिक्रीमा सक्रिय हुन नसकेको उनी बताउँछन् ।

अनलाइन कारोबार आएपछि देशविदेशमा रहेका धेरैले किनबेच गर्न थाल्दा बजारमा त्यसको सकारात्मक प्रभाव परेको सीईओ साउद बताउँछन् । उनका अनुसार, अहिले पुँजी बजारमा २० लाख हाराहारीमा लगानीकर्ता छन् । सक्रिय लगानीकर्ता भने ४ लाख पनि छैनन् ।

अहिले बजारमा केवाईसी अपडेट गरिरहने सक्रिय लगानीकर्ताको संख्या ३ लाख ७५ हजार हाराहारी रहेको नेप्सेका सीईओ साउद बताउँछन् । त्यसमा पनि १ लाख ९० हजार लगानीकर्ताले अनलाइन युजर लिएर कारोबार गर्न थालेका छन् । त्यसको सकारात्मक प्रभाव बजारमा देखिएको साउदको विश्लेषण छ ।

‘यो पनि कोरोना कै कारण भएको हो, कोरोना अघि ५–१० प्रतिशत मात्रै लगानी कर्ता अनलाइनबाट किनबेच गर्थे’, उनी भन्छन्, ‘अहिले ठीक विपरीत भएको छ, अधिकांशले अनलाइनबाटै किन्छन्, ब्रोकर अफिसबाट किन्ने १० प्रतिशत होलान् ।’

यो कारणले बढ्यो

नेप्सेका सीईओ साउदले भने अनुसार अनलाइन युजर बढेपछि कारोबार रकम बढे पनि बजार बढ्नुको कारण यो मात्र होइन । अर्थशास्त्रका सिद्वान्त अनुसार, माग अनुसार आपूर्ति हुन्छ । उपभोग गर्ने वस्तुको माग बढ्दै गयो, तर आपूर्ति कम भयो भने मूल्य बढ्छ ।

सेयर बजारको हकमा भने लगानीकर्ताको मनोवलले समेत फरक पार्ने सेयर बजारका विश्लेषक अनलराज भट्टराई बताउँछन् । लगानीकर्ताको मनोवल बढ्दै जाँदा त्यसको सकारात्मक असर बजारमा पर्छ । अर्को कारक भनेको सरकार र नियामक निकायहरुको नीतिनियम पनि हुन् ।

पछिल्लो समयनीति नियममा आएका स्पष्टताको पनि सकारात्मक असर परेको विश्लेषक भट्टराई बताउँछन् । सीईओ साउदले भनेजस्तै अनलाइन कारोबारका कारण पनि बजार बढेको उनले बताए । अनलाइनले कारोबार गर्न सहज भएका कारण पनि लगानीकर्ताको आकर्षण बढेको उनको बुझाइ छ ।

सीईओ साउद प्रविधि र लगानी वातावरण दुवैलाई बजार बढ्नुको मूख्य कारण मान्छन् । कोरोनाका कारण प्रविधि प्रयोग त बढ्यो नै सेयर बजारमा लगानी गर्ने वातावरण समेत बनेको उनले बताए ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बजार उकालो लाग्नुलाई सामान्य मान्नुपर्ने बताउँछन् । नेप्से परिसूचक केही समय अघिसम्म धेरै नै तल रहेको र अब बढ्न थालेकाले सामान्य रुपमा लिनु पर्ने उनको तर्क छ ।

‘कोरोना पछि ८८ प्रतिशत कारोबार अनलाइनबाट भएको छ यसले बजारलाई राम्रो असर गर्‍यो’ उनी भन्छन्, ‘अर्को कारण भनेको अरु व्यवसायहरुमा लगानी गर्ने खासै वातावरण नभएपछि कहाँ गर्ने त भन्दा सेयर बजारमा भन्ने भयो ।’

अहिले बजारमा सस्तो ब्याजदरमा ऋण पाइएका कारण पनि सेयर बजारमा सकारात्मक असर परेको उनी बताउँछन् । अर्को तर्फ विश्व राजनीतिक, कोरोना भ्याक्सीन लगायत कारण पनि लगानीकर्ताको मनोबल बढेको साउद बताउँछन् ।

‘बजार बढ्ने नै हो, घटे थोरै घट्छ’

बजारले लिएको गतिलाई अप्रत्यासित भन्दा पनि सामान्य रुपले नै लिनु पर्ने विश्लेषक भट्टराई बताउँछन् । अधिकांश बैंकहरुको सेयर मूल्य अहिले पनि हुनुपर्ने भन्दा कम (अण्डर भ्याल्युड) रहेको भन्दै उनले बजार उकालो लाग्ने अझै पनि सम्भावना रहेको बताए । उनी बजार ओरालो झरिहाल्ने देख्दैनन् ।’

बजार एकोहोरो बढेको बढ्यै गर्नुलाई खास राम्रो मानिदैन । बजार लगातार बढेर कुनै एकदिन घट्यो भने पनि त्यसलाई सकारात्मक लिएर ‘करेक्शन’ भएको भन्ने चलन छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार पनि बजार उकालो लाग्नुलाई सामान्य मान्नुपर्ने बताउँछन् । नेप्से परिसूचक केही समय अघिसम्म धेरै नै तल रहेको र अब बढ्न थालेकाले सामान्य रुपमा लिनु पर्ने उनको तर्क छ ।

फोरमकै सदस्य सृजना सुवेदी बजार बढ्ने बेलामै बढेका कारण शंका गर्ने ठाउँ धेरै नरहेको बताउँछिन् । अझै केही समय बजार उकालो नै लाग्ने उनको अनुमान छ । धेरै कम्पनीका सेयर मूल्य अत्यन्तै कम रहेकोले ति अझै बढ्ने उनी बताउँछिन् ।

अनुमान होइन विश्लेषण गरेर लगानी

फाइदा कमाउन सामान्यतया बजार बढेको बेला बिक्री गर्ने र घटेका बेला बेच्ने गरिन्छ । तर बजार बढेका बेला अझै धेरै बढ्छ भनेर किन्ने र केही समयमा घटेपछि लौ बर्वाद भयो भनेर बिक्री गरिहाल्दा समस्या हुने गरेको फोरमा अध्यक्ष रौनियार बताउँछन् । म कत्तिको जोखि लिन सक्छु भन्ने बुझेर मात्रै बजारमा लगानी गर्नु पर्ने उनको सुझाव छ । सेयर किन्दा वा बेच्दा निकै अध्ययन गर्नुपर्ने उनी बताउँछन् ।

विश्लेषक भट्टराई अन्डर भ्यालूड रहेका धेरै कम्पनीका सेयर रोजाईमा पर्नुपर्ने बताउँछन् । धेरै बढेको भनेर हौसिएर अध्ययन नगरी किन्दा क्षति बेहोर्नु पर्ने उनी बताउँछन् ।

‘सबभन्दा पहिलो कुरा त सम्बन्ध्ति कम्पनीको विषयमा अध्ययन गर्नुपर्छ, हौसिएर कसैको भरमा लगानी गर्नु हुँदैन’ उनी भन्छन्, ‘बजार घटबढ हुनु सामान्य नै हो तर कुन कम्पनीको अवस्था कस्तो छ भनेर बझुेर किन्दा समस्या पर्दैन ।’

फोरमकी सदस्य सुवेदी केही बैंकको सेयर अहिले पनि धेरै कम रहेको भन्दै ती अझै बढ्ने सम्भावना रहेको बताउँछिन् । लगानीकर्ताले चाहिँ अरुले भनेको भरमा नपरि आफैले बुझेर लगानी गर्नु उत्तम हुने उनी बताउँछिन् ।

सेयर बजारमा निरन्तर नयाँ रेकर्ड बनिरहँदा नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई अनुमानका भरमा लगानी नगर्न सुझाव दिएको छ । कसैले भनेको वा कतै सुनेको भरमा भन्दा कम्पनीको अवस्था विश्लेषण गरेर मात्रै लगानी गर्न नियामक निकायले सर्वसाधारण लगानीकर्ताहरुलाई सुझाव दिएको हो ।

‘पछिल्ला केही दिनयता दोस्रो बजारमा कारोबार रकम र नेप्से सूचक हालसम्मकै उच्च विन्दुमा छ, जुन पूँजी बजारमा खुशीको कुरा हो’, बोर्डका प्रवक्ता निरज गिरीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पूँजी बजारका केही स्थापित मूल्य र मान्यता अनुरुप सूचिकृत संगठित संस्थाको वित्तीय अवस्था, आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरी लगानी सम्बन्धि निर्णय लिनु लगानीकर्ताको हितमा हुनेछ ।’

लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरुको वित्तीय स्थितिको विश्लेषण गर्नुपर्ने बोर्डले बताएको छ । संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफ्नो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजक भई लगानी गर्न समेत बोर्डले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

दुलही केकी

Advertisment