Comments Add Comment

अस्पताल विवादले राइनासमा फाटो : मेयर र वडाध्यक्षले गरे छुट्टाछुट्टै शिलान्यास

चक्रतीर्थ स्वास्थ्य चौकी सातबिसेको अस्पताल शिलान्यास कार्यक्रममा मेयर सिंहबहादुर थापा

१५ मंसिर, पोखरा । लमजुङको राइनास नगरपालिकाको २३ फागुन २०७३ मा बसेको बैठकले वडा नम्बर ६ को धमिलिकुवा स्वास्थ्य चौकीको स्तरोन्नति निर्णय गर्‍यो ।

नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइनसकेका कारण तत्कालीन कार्यकारी अधिकृत नुराराज कडरियाको अध्यक्षमा बसेको बैठकले धमिलिकुवा स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने निर्णय गरेर पठायो । जिल्ला समन्वय समिति, स्वास्थ्य विभाग, स्वास्थ्य मन्त्रालय हुँदै प्रस्ताव मन्त्रिपरिषदसम्म पुग्यो । धमिलिकुवा स्वास्थ्य चौकीलाई स्तरोन्नतति गर्ने निर्णय गर्दै सरकारले कार्यक्रममा राख्यो र बजेट बिनियोजन पनि गर्‍यो ।

१४ असार २०७४ मा राइनास नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको पहिलो कार्यपालिका बैठकले वडा नम्बर ४ को सातबिसेमा नगरस्तरीय अस्पताल निर्माण गर्ने निर्णय गर्‍यो । तर संघीय सरकारबाट आर्थिक स्रोत जुटाउने र योजना पार्ने प्रक्रिया ढिला भयो ।

चालु आर्थिक वर्षमा सरकारले ३९६ स्थानीय तहमा ५ देखि १५ एकैचोटी शैय्याका आधारभूत अस्पताल निर्माण गर्ने कार्यक्रम ल्यायो । अर्थमन्त्रालयले त्यही कार्यक्रम अन्तर्गत नामै किटान गरेर धमिलिकुवा स्वास्थ्य चौकीका नाममा बजेट बिनियोजन गर्‍यो ।

सरकारले १५ शयाको अस्पतालका रुपमा धमिलिकुवा स्वास्थ्य चौकीलाई स्तरोन्नतति गर्ने कार्यक्रममा समेटेपछि वडा नम्बर ४ का सातबिसेमा तरंग छायो । सातबिसेमा नगरस्तरीय अस्पताल बनाउने योजना धमिलिकुवाले लग्यो भन्ने स्थानीयलाई पर्‍यो ।

यही विषयमा समाधान निकाल्न पटक पटक कार्यपालिका बैठक बस्यो, तर सहमति जुट्न सकेन । मेयरसहितका केही वडाध्यक्ष सातबिसेमा अस्पताल निर्माण गर्ने पक्षमा उभिए भने बाँकी वडाध्यक्ष धमिलिकुवामै हुनुपर्छ भन्नेमा थिए । संघीय सरकारले आज सोमबार देशभरका ३ सय ९६ अस्पताल एकसाथ शिलान्यास गर्ने योजना बनायो ।

राइनासमा पनि अस्पताल शिलान्यासको तयारी थालियो, तर दुई ठाउँमा । वडा नम्बर ४ का वडाध्यक्षसहित मेयर सिंहबहादुर थापाले चक्रतीर्थ स्वास्थ्य चौकी सातबिसेमा अस्पताल निर्माण गर्न शिलान्यास गरे ।

त्यही समयमा वडा नम्बर ६ का वडाध्यक्ष रुकबहादुर तामाङ, वडा नम्बर ७ का वडाध्यक्ष माधवप्रसाद पराजुली र वडा नम्बर ८ का वडाध्यक्ष देवबहादुर थापाको उपस्थितिमा वयोवृद्ध गिरिराज जोशीले शिलान्यास गरे ।

कहाँ अस्पताल निर्माण गर्ने विवादले राइनास नगरवासीकै बीच फाटो आएको छ भने मेयर र वडाध्यक्षबीच किट्टाकाट भएको छ ।

‘सरकारले धमिलिकुवा स्वास्थ्य चौकीलाई नै स्तरोन्नति गर्ने भनेर पठाएको छ भने अरु ठाउँमा त्यही योजना लैजान कसरी मिल्छ ?’ वडा नम्बर ६ का वडाध्यक्ष रुकबहादुरले भने, ‘मेयर सा’बले बलमिच्याईं गरेर सातबिसेमा गराउने भन्नुहुन्छ, यो मिल्ने कुरा होइन ।’

सातबिसेमा अस्पताल बनाउनुपर्छ भनेर धमिलिकुवाको विरुद्धमा विधिबिपरीत मेयरले सिंहबहादुरले नै जनता भड्काएको वडा नम्बर ८ का वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले बताए । अर्थमन्त्रालयबाटै धमिलिकुवा स्वास्थ्य चौकी स्तरोन्नति गर्ने भनेर बजेट बिनियोजन भएकाले चक्रतीर्थ राइनास अस्पताल शिलान्यास गर्नु मेयरको गैरजिम्मेवार र विधिबिपरीतको काम भएको वडा नम्बर ७ का वडाध्यक्ष माधवप्रसाद पराजुलीले बताए ।

मेयर सिंहबहादुरले भने कार्यपालिकाको बैठकको निर्णयले नै वडा नम्बर ४ मा शिलान्यास गर्ने निर्णय भएको बताउँछन् । तर अरु वडाध्यक्षले पनि मेयरले गरेको निर्णयमा कुनै पनि वडाध्यक्ष र कार्यपालिका सदस्यको हस्ताक्षर नभएको बताउँछन् ।

मयरले थापाले वडाका लागि नभएर नगरपालिकाका लागि बजेट आएकाले नगरले कागजमा जे भए पनि नगरले निर्णय गरे बमोजिम हुने बताए । ‘त्यहाँका वडाले हाम्रो नाममा आएपछि त्यो अस्पताल बजेट हामीले नै पाउनुपर्‍यो नि भनेर निहुँ खोजेका मात्र हुन्,’ उनले भने, ‘यो स्वास्थ्य चौकीका लागि होइन, नगरस्तरीय अस्पतालका लागि आएको बजेट हो ।’

नगरको निर्णयअनुसारै सोमबार ५ शैयाको कोभिड अस्पताल र १५ शैयाको अस्पताल निर्माणका लागि शिलान्यास गरेको मेयर थापाको भनाइ छ । ‘सरकारको योजना नगरपालिकाले कार्यान्वयन गर्ने हो वडाले होइन । नाम धमिलिकुवाको आउँदैमा योजना वडाको हुँदैन,’ मेयर थापाले भने, ‘नगर कार्यपालिकाले जहाँ तोक्यो त्यही हुन्छ ।’ स्थानीय तह सञ्चालन ऐनले पनि कार्यपालिकाले तोकेबमोजिम हुने भनेकाले विवाद गर्नुको कुनै तुक नभएको मेयर थापाको भनाइ छ ।

वडा नम्बर ४ सहित केही वडाध्यक्ष र त्यहाँका स्थानीयले अर्थ र स्वास्थ्यमा धमिलिकुवाका कर्मचारी रहेकाले कागजमा उतैको नाम उल्लेख गरेर पठाएको बताउँछन् । गुणराज लोहनी, तीर्थ चिलुवालहरुका घर नजिकैको अस्पतालको नामै तोकेर पठाउने काम गरेको केही जनप्रतिनिधिसहित सातबिसेका नागरिकको भनाइ छ ।

अस्पताल निर्माणका विषयमा ठूलो विवाद सिर्जना भएर बेग्लाबेग्लै शिलान्यासका कार्यक्रम राखिएपछि केही वडाध्यक्ष चुपचाप बसे । उपमेयर धनकुमारी गुरुङ, वडा नम्बर ९ र १० का वडाध्यक्ष कुनै पनि कार्यक्रममा सहभागी भएनन् । उपमेयर गुरुङ सम्पर्कमा आइनन् ।

वडा नम्बर ९ का वडाध्यक्ष देवबहादुर थापाले भने धमिलिकुवा स्वास्थ्यचौकीकै नाममा बजेट आएकाले त्यहीँ हुनुपर्छ भन्ने मत बलियो भएको कुनैपनि शिलान्यास कार्यक्रममा सहभागी नभएका बताए । ‘पटकपटक बैठक र छलफल हुँदा पनि सहमति नजुटेपछि दुई ठाउँमा कार्यक्रम आयोजना गरियो । हामी कुनैमा पनि गएनौं,’ वडाध्यक्ष थापाले भने, ‘यो योजनाले राइनासका नागरिकलाई नै विभाजन गर्ने काम गर्‍यो ।’

राइनासमा पूर्व एमालेका तर्फबाट नेकपाका मेयर सिंहबहादुर थापा छन् । वडा नम्बर ५ र ७ का वडाध्यक्ष पूर्व माओवादीतर्फका हुन् भने उममेयरसहित बाँकी वडाध्यक्ष कांग्रेसका हुन् ।

सोही क्षेत्रका प्रदेश सांसद धनञ्जय दवाडीले सहमतिमा नआए अस्पतालै नबन्ने दुर्भाग्य निम्तन सक्ने बताए । ‘नगर कार्यपालिकाले निर्णय गरेबमोजिम अस्पताल बन्ने विधि भएकाले सोही अनुसार हुनुपर्छ । त्यसका लागि सहमतिमा आउनको विकल्प छैन,’ सांसद दवाडीले भने, ‘चक्रतीर्थ र धमिलिकुवाको विवाद पहिलेदेखि कै हो ।’ पालिकाको केन्द्र तोक्नेदेखि विकास निर्माणसम्मका काममा यो भेगमा विवाद उठ्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment