Comments Add Comment

चितवनमा १० महिनाको अवधिमा ६७ एचआईभी संक्रमित थपिए, १६ को मृत्यु

१६ मंसिर, चितवन । चितवनमा सन् २०२० को दश महिनामा ६७ जना नयाँ एचआईभी संक्रमित थपिएका छन् भने, १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना पुरुष र ६ महिला छन् । मृत्यु हुनेमध्ये एक संक्रमित पुरुषलाई कोरोना भाइरसको संक्रमणसमेत भएको थियो ।

भरतपुर अस्पतालमा रहेको एचआइभी उपचार केन्द्र (एआरटी सेन्टर)का अनुसार गएको १० महिनामा समुदायस्तरमा पुगेर ६ हजार ७०६ जनामा एचआईभी परीक्षण गर्दा ६७ जना नयाँ एचआईभी संक्रमित पत्ता लागेका छन् । तीमध्ये ११ जनामा क्षयरोग पनि देखा परेको छ । कार्यक्रमका फोकल पर्सन डा. युवनिधी बसौलाले एचआईभी संक्रमितलाई क्षयरोगको जोखिम पनि उच्च हुने बताए ।

एचआईभी संक्रमित हुँदाहुँदै मदिरापान, कलेजो, क्यान्सर, रक्तअल्पता, क्षयरोग आदि समस्याका कारण उनीहरुको मृत्यु हुने गरेका छ । अधिकांश थपिने नयाँ संक्रमितहरु सुई साटासाट भन्दा पनि असुरक्षित यौन सम्पर्कका कारणले संक्रमित भएको पाइएको डा. बसौलाले बताए । धेरैजसो घुमुवा सेक्स वर्करहरुमा एचआइभीको संक्रमण देखिएको उनले बताए ।

चितवनमा सन् २०२० को हालसम्ममा अन्य जिल्लाबाट स्थानान्तरण भएर आएका बिरामीको संख्या ४० पुगेको छ । त्यसमा २१ जना पुरूष, १६ जना महिला र तीन जना बालबालिका छन् । १० महिनाको अवधिमा औषधि सुरू गरेका नयाँ बिरामीको संख्या भने ११६ छ । त्यसमा ६४ पुरूष, ४७ महिला र पाँच जना बालबालिका छन् ।

सन् २००७ यता भरतपुर अस्पतालको एआरटी सेन्टरमा उपचारका लागि नाम दर्ता गराउनेको संख्या एक हजार ९३ पुगेको छ । त्यसमा ९८९ पुरूष, ७६० महिला र १४५ जना बालबालिका छन् । एआरभी औषधि लिनेको संख्या भने ९०० पुगेको छ । त्यसमा ४५८ पुरूष, ४४२ महिला र ५० जना बालबालिका छन् । चितवनमा अहिलेसम्म १४२ संक्रमितको मृत्यु भएको छ ।

नेपालमा करिब ३० हजार जनामा एचआईभी संक्रमित भएको अनुमान छ । हालसम्म २३ हजार १३७ जना एचआईभी पत्ता लागेको छ । औषधि सेवन गर्नेको कुल संख्या भने १८ हजार ६२८ जना रहेको एचआईभीको क्षेत्रमा काम गर्दै आएको एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) चितवनका संयोजक कृष्णहरि सापकोटाले बताए ।

नेपालमा नयाँ पत्ता लागेका एचआइभी संक्रमितको संख्या ७९० र हालसम्म मृत्यु भएकाको संख्या ७४० छ ।

एचआईभी संक्रमित भएकाहरुलाई कोरोना भाइरसको संक्रमण भए जोखिम बढी हुने भएकाले थप सतर्कता अपनाउनुपर्ने डा. बसौलाले बताए ।

लकडाउनको समय अवधिभर भरतपुरको उपचार केन्द्रले सम्भव भएका स्थानहरुमा बिरामीको घरमै पुगेर परामर्श र औषधि दिने कामसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment