+
+

नेपालमा ३० जना एचआईभी संक्रमितलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १६ गते १४:५२

१६ मंसिर, काठमाडौं । नेपालमा एचआईभी संक्रमित मध्ये ३० जना कोरोना संक्रमणमा परेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ । २९ हजार ५०३ जना एचआइभी संक्रमित मध्ये कोरोना संक्रमण भएका ३० जना उपचार पछि निको भइसकेका छन् ।

केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले नेपालमा हाल १७ हजार ५८७ पुरुष र ११ हजार ९१६ महिला गरी कुल २९ हजार ५०३ जना एचआइभी संक्रमित रहेको जानकारी दिइन् । उनका अनुसार कोरोना महामारीले एचआईभी संक्रमितको उपचार र औषधि वितरणमा कुनै असर परेको छैन ।

‘लकडाउन तथा महामारीको समयमा पनि एचआइभी संक्रमितहरुले खाने औषधि एआरटी घर–घरमा पुर्‍याउने व्यवस्था मिलायौँ,’ उनले भनिन्।

नियमित औषधि सेवन नगर्ने र लुकेर रहेका एचआइभी संक्रमितहरु मात्र कोरोना संक्रमणको उच्च जोखिममा रहेको उनले बताइन् । सावधानी अपनाउन आवश्यक रहे पनि नियमित औषधि सेवन गर्ने र निरन्तर चिकित्सकको परामर्शमा रहने एचआइभी संक्रमित कोरोनाबाट डराइहाल्नु नपर्ने उनको भनाइ छ ।

नेपालमा करिब ८० प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यमबाट सरेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा एचआइभी संक्रमणको दर उच्च रहेको छ । २०७७ सालको असार मसान्तको तथ्यांक अनुसार नेपालको कुल एचआइभी संक्रमितमध्ये १९ हजार ४ सय १० अर्थात् ६६ प्रतिशत मात्र एआरभी उपचारमा छन् ।

सन् २०१० को तुलनामा सन् २०१९ सम्ममा नेपालमा नयाँ संक्रमण ६४ प्रतिशतले घटेको छ। सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने सरकारको लक्ष्य छ। ८० वटा एआरटी केन्द्रबाट निशुल्क औषधि वितरण भइरहेको केन्द्रले जनाएको छ।

यस वर्ष एड्स तथा यौन रोग नियन्त्रणका लागि ५६ करोड ७२ लाख रुपैयाँ बजेट बिनियोजन भएको केन्द्रले जनाएको छ। जसमध्ये औषधि र औषधिजन्य सामग्रीका लागि मात्र ८५ प्रतिशत बजेट खर्च हुने गरेको छ।

एचआइभी नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारा सहित आज ३३ औँ विश्व एड्स दिवस मनाइँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?