Comments Add Comment

युरोपमा आफ्नो खोप आपतकालीन प्रयोगमा ल्याउन फाइजरको आवेदन

१६ मंसिर, काठमाडौं । अमेरिकी कम्पनी फाइजर र जर्मन खोप निर्माता बायोएनटेकले आफूहरुले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आपतकालीन अवस्थामा प्रयोगका लागि युरोपेली नियामकमा आवेदन दिएका छन् ।

अमेरिका र बेलायतपछि कम्पनीहरुले युरोपमा आफ्नो खोपको आपतकालीन प्रयोगका लागि आवेदन दिएको मंगलबार बताएका हुन् ।

यसअघि गत नोभेम्बर २० मा अमेरिकाले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको थियो । यससँगै फाइजर र बायोएनटेकको खोप सार्वजनिक प्रयोगका लागि मान्यता पाउने संघारमा पुगेको छ ।

त्यससँगै कम्पनीहरुले युरोपियन मेडिसिन एजेन्सी (ईएमए) मा आपतकालीन प्रयोगको लागि आवेदन दिएको हो । युरोपेली नियामकले डिसेम्बरको अन्तिमसम्ममा यो खोपको सार्वजनिक प्रयोगको लागि मान्यता दिने अपेक्षा गरिएको छ ।

फाइजरको प्रतिस्पर्धी कम्पनी मोडर्नाले पनि आफूले विकास गरेको खोपको लागि युरोपेली नियामकमा अनुमतिको लागि आवेदन दिने बताइसकेको छ । सोमबार कम्पनीले अमेरिकी र बेलायती नियामक निकायमा आफ्नो खोप सार्वजनिक प्रयोगका लागि अनुमति मागेको थियो । उसले अबको केही समयमा युरोपेली नियामकमा पनि आवेदन दिने बताएको थियो ।

फाइजर र बायोएनटेकले निर्माण गरेको खोप क्लिनिकल परीक्षणको क्रममा कोरोना संक्रमण नियन्त्रणका लागि ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment