Comments Add Comment

प्रहरीमा ९ डीआईजी पद रिक्त : तीन ब्याचका एसएसपी प्रतिस्पर्धामा

१६ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको सिफारिस गरिएसँगै प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बढुवाको तयारी  थालिएको छ ।

हाल प्रहरीमा डीआईजीको ८ दरबन्दी रिक्त छ भने एक सातापछि विश्वराज पोखरेल एआईजीमा बढुवा भएसँगै रिक्त सिट संख्या ९ पुग्नेछ । पोखरेललाई गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सोमबार एआईजीमा बढुवा गर्न सिफारिस गरिसकेको छ ।

डीआईजीको ९ दरबन्दीमा तीन ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बीच प्रतिस्पर्धा  सुरु भएको छ । आंकाक्षीहरुले लबिङ पनि थालेका छन् ।

सरकारले कात्तिक अन्तिम साता ५ जना डीआईजीको दरबन्दी थप गरेको थियो भने हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याजी हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्कीको एआईजीमा बढुवा भएसँगै तीन सिट खाली थियो ।

डीआईजीका लागि प्रहरी महानिरीक्षक क्षेत्रीकै ब्याचका टोलीसहित ११ चैत २०४९ र ५ चैत २०५१ मा प्रहरी निरीक्षकमा भर्ना भएको टोली प्रतिस्पर्धामा छ । आईजीपी क्षेत्रीका ब्याचका १४ जना एसएसपी डीआईजी बढुवाको प्रतीक्षामा छन् ।

नयाँ टोलीले पनि भविश्यमा नेतृत्वमा जाने लाइन स्पष्ट पार्न खोजेका कारण यो बढुवा महानिरीक्षक क्षेत्रीका लागि पनि चुनौतीपूर्ण रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।

क्षेत्रीका ब्याचका गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, दीलिपकुमार चौधरी, राजेशलाल कर्ण, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रञ्जितकार, नरोत्तमलाल प्रधान, प्रकाश अधिकारी, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोर दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ डीआईजी बढुवाका दाबेदार हुन् ।

निरीक्षकमा ११ चैत २०४९ मा भर्ना भएका क्षेत्रीको वैकल्पिक ब्याचका एसएसपीहरु पनि डीआईजी बढुवाको पर्खाइमा छन् । यही टोलीका विश्वराज पोखरेल डीआईजी भएर पनि एआईजी बढुवाका लागि सिफारिस भइसकेका छन् ।

यो टोलीमा बढुवाको लाइनमा रहेका एसएसपीहरुमा सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री, मसाउद अलाम खाँलगायत पर्छन् ।

५ चैत २०५१ मा भर्ना भएका निरीक्षकहरुको टोली पनि एसएसपीबाट डीआईजीमा बढुवा हुन लागि परेको छ । उनीहरु अहिल्यै डीआईजीमा बढुवा भएर भावी आईजीपी बन्ने प्रतिस्पर्धामा छिर्न चाहन्छन् । यो टोलीका एसएसपी सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर र भीमप्रसाद ढकाल छन् ।

प्रहरी प्रधान कार्यालयले भने वरिष्ठताको आधारमा बढुवा गर्ने इच्छा राखेको छ । महानिरीक्षक क्षेत्रीले जारी गरेको आचारसंहितामा पनि वरिष्ठतालाई जोड दिइएको छ भने सरुवामा पनि कुनै आर्थिक वा नैतिक विषयमा प्रश्न नउठे एक वर्षसम्म नचलाउने भनिएको छ ।

तर, डीआईजी पोखरेलको एकल बढुवा प्रकरण र काठमाडौंबाट एसएसपी श्याम ज्ञवालीलाई समय नपुग्दै तानिसकिएकाले यसपटक महानिरीक्षक थापाको आचारसंहिताले खासै फरक नपर्ने पछिल्लो दुई टोलीका एसएसपीहरुको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment