News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता मुकेश खन्नाले फिल्म ‘रामायण’का निर्मातामाथि धार्मिक ग्रन्थसँग खेलवाड गरेको आरोप लगाउँदै कडा आलोचना गरेका छन्।
- उनले साई पल्लवीले निर्वाह गरेको सीताको भूमिकाको विरोध गर्दै वाल्मीकि रामायणमा माता सीतालाई योद्धाका रूपमा नदेखाइएको बताएका छन्।
- मुकेशले अनुपम खेरले फिल्मको प्रशंसा गर्नुको कारण जटायुको भूमिकामा आवाज दिएको भएपछि मात्र बुझिएको बताएका छन्।
अभिनेता मुकेश खन्नाले फिल्म ‘रामायण’को कडा आलोचना गरेका छन् । आफ्नो युट्युब च्यानलमार्फत उनले फिल्मका निर्मातामाथि प्रश्न उठाएका छन् । उनले अभिनेत्री साई पल्लवीले निर्वाह गरेको सीताको भूमिकाबारे आपत्ति जनाएका छन् । यसका साथै अभिनेता अनुपम खेरको प्रतिक्रियामाथि पनि प्रश्न उठाएका छन् ।
अभिनेता मुकेश खन्ना सामाजिक सञ्जालमार्फत आफ्ना स्पष्ट विचार राख्ने गर्छन् । यसपटक उनले हालै प्रदर्शनमा आएको फिल्म ‘रामायण’बारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । विशेषगरी फिल्ममा साई पल्लवीले निर्वाह गरेको माता सीताको भूमिकालाई लिएर उनले असन्तुष्टि जनाएका छन् ।
फिल्मबारे के भने मुकेशले ?
मुकेश खन्नाले आफ्नो पछिल्लो भिडियोमा फिल्म ‘रामायण’का निर्माताको आलोचना गरेका छन् । उनले भनेका छन्, ‘वाल्मीकि रामायणमा माता सीतालाई योद्धाका रूपमा देखाइएको छैन । निर्माताले आफ्नो कल्पनाअनुसार फिल्म बनाएका छन् । दुःख लाग्छ, निर्माताहरू पैसा कमाउनकै लागि धार्मिक ग्रन्थसँग खेलवाड गरिरहेका छन् ।
मैले यो फिल्म हेरेको छैन । तर समीक्षा, दर्शकको प्रतिक्रिया, प्रचार सामग्री र केही दृश्यका आधारमा फिल्मबारे आफ्नो धारणा राखिरहेको छु । म १२०० रुपैयाँको टिकट काटेर यो फिल्म हेर्न चाहन्नँ । निर्मातालाई फिल्मको कमाइ दिन पनि चाहन्नँ । किनकि निर्माता नमित मल्होत्राले मानिसहरूको आस्थामाथि खेलवाड गरेका छन् ।’
सीता माता योद्धा थिइनन्
आफ्नो युट्युब च्यानलमा मुकेशले भनेका छन्, ‘रामायणमा कतै पनि सीता माता लडाइँ गरिरहेको देखाइएको छैन । उहाँलाई आदर्श, समर्पण र सेवाभाव भएकी महिलाका रूपमा प्रस्तुत गरिएको छ । उहाँले पतिसँग वनवास जान स्वीकार गर्नुभयो। सीताले कहिल्यै राजदरबार माग्नुभएन । उहाँ कहिल्यै योद्धा हुनुहुन्नथ्यो । यदि उहाँ योद्धा हुनुहुन्थ्यो भने अपहरण गर्ने रावणसँगै लड्नुहुन्थ्यो ।
निर्माताले यो दृश्य ‘अद्भुत रामायण’बाट लिइएको बताएका छन् । तर यो अद्भुत रामायण भनेको के हो ? मूल रामायण त वाल्मीकिले लेख्नुभएको हो। यस्तो हिम्मत अन्य धर्मका विषयमा गरेर देखाऊन् ।’
मुकेशले आफ्नो भिडियोमा अनुपम खेरले फिल्म ‘रामायण’बारे दिएको प्रतिक्रियाको पनि आलोचना गरेका छन् । उनले भनेका छन्, ‘अनुपम खेरले फिल्मको निकै प्रशंसा गरेका थिए । उनको समीक्षा देखेर मलाई अचम्म लाग्यो । तर पछि थाहा पाएँ, अनुपमले फिल्ममा जटायुको भूमिकामा आवाज दिएका रहेछन् । त्यसपछि उनले फिल्मको प्रशंसा गर्नुको कारण बुझेँ ।’
प्रतिक्रिया 4