Comments Add Comment

नामसराको मरण : न एम्बुलेन्स भेटियो, न समयमा स्वास्थ्य चौकी पुगिन्

१६ मंसिर, कैलाली । समयमै स्वास्थ्य चौकी पुर्‍याउन सकेको भए शायद नामसरा विक यतिबेला आफ्नो शिशुसँग रमाइरहेकी हुन्थिन् । तुर्माखाँद स्वास्थ्य चौकीमा एम्बुलेन्स भइदिएको भए वा भैरवस्थल स्वास्थ्य चौकीको एम्बुलेन्स नबिग्रिएको भए पनि उनको शिशुले पनि यो संसार देख्न पाउँथे होला ।

तर न परिवारजने उनलाई समयमै स्वास्थ्य चौकी पुर्‍याए, न तुर्माखाँद स्वास्थ्य चौकीमा एम्बुलेन्स भेटियो, नत भैरवस्थल स्वास्थ्य चौकीको एम्बुलेन्सले साथ दियो ।

सुत्केरी व्यथाले च्यापेपछि भएको अत्यधिक रक्तस्रावका कारण अछामको तुर्माखाँद गाउँपालिका ४ तुर्माखाँदकी ३८ बर्षीया नामसरा विकको मृत्यु भएको छ ।

नामसरालाई सोमबार दिउँसो १२ बजे व्यथाले च्याप्यो । परिवारका सदस्यहरूले घरमै सुत्केरी गराउन थाले । उनको स्वास्थ्य अवस्था झन् बिग्रँदै गयो । अवस्था जटिल भएपछि मात्रै उनलाई तुर्माखाँद स्वास्थ्य चौकीतर्फ लगियो, त्यो पनि बोकेर ।

परिवारका सदस्यहरूले ३ घण्टामा स्वास्थ्य चौकी पुर्‍याए । त्यो बेलासम्म अत्याधिक रक्तस्राव भइसकेको थियो । ‘यहाँ पुराउँदासम्म उहाँको अवस्था गम्भीर भइसकेको थियो’, स्वास्थ्य शाखाका संयोजक एकेन्द्र बयकले भने, ‘आउनासाथ हामीले जिल्ला अस्पताल रेफर गर्‍यौँ ।’ तर स्वास्थ्य चौकीमा एम्बुलेन्स थिएन ।

तुर्माखाँद गाउँपालिका–३ स्थित भैरवस्थाल स्वास्थ्य चौकीबाट एम्बुलेन्स मगाएर जिल्ला अस्पताल पठाइयो । तर त्यो एम्बुलेन्स पनि बाटोमै बिग्रियो । त्यसपछि निजी गाडी खोजेर अस्पताल पुर्‍याइएछ’ स्वास्थ्य संयोजक बयकले भनेका छन् । नामसरालाई जिल्ला अस्पताल पुर्‍याउँदा रातको १० बजिसकेको थियो ।

व्यथाले च्यापेको १० घण्टापछि अस्पताल पुगेकी उनलाई चिकित्सकले जोगाउन सकेनन् । अत्याधिक रक्तस्रावले प्राण लियो । ‘राति करिब १० बजेतिर जिल्ला अस्पताल आइपुग्नु भएको थियो,’ डा. अतुल भारद्वाज भन्छन्, ‘हामीले नर्मल डेलिभरी नै गरायौं । तर बच्चा पेटमै मरिसकेको थियो ।’

राति १२ बजे बच्चा जन्मिएको थियो । त्यसको केही समयपछि नमसराको पनि मृत्यु भएको छ । ‘अनेक प्रयास गर्दा पनि हामीले बचाउन सकेनौं’ डा. अतुल भारद्वाजले भने, ‘सायद समयमै अस्पताल पुराएको भए आमा र सन्तान दुवै जोगिने थिए ।’

अस्पताल नपुग्दै जान्छ ज्यान

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सुरक्षित प्रसूति सेवा नपाएरै सुत्केरीको मृत्यु भएको यो पहिलो घटना भने होइन । हरेक वर्ष थुप्रै नमसराहरुले ज्यान गुमाउने गरेका छन् ।

२२ असोजमा बाजुराको बुढीनन्दा नगरपालिका–४ की २३ वर्षीय अम्बकला रोकायालाई व्यथा लाग्यो । परिवारले नजिकै रहेको आधारभूत स्वास्थ्य इकाईमा लैजाने तयारी गरे, तर बर्थिङ सेन्टरमा सुत्केरी गराउने जनशक्ति थिएन ।

स्वास्थ्य इकाईमा रहेका अनमी र अहेब पनि कार्यालय सहयोगीलाई जिम्मा लगाएर कोल्टी गएका रहेछन् । अम्बकलालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजानुपर्ने भयो । आफन्तले बोकेर पाँच घण्टाको दुरीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बोकेर लैजाँदै थिए, तर । तर दोगाडे पुग्दा उनको मृत्यु भयो ।

२५ भदौमा बाजुराकै बुढीनन्दा नगरपालिका वडा नं. १० का ३५ बर्षीया निर्मला बोहराको उच्च रक्तस्रावका कारण मृत्यु भयो । भदौ ७ गते जिल्ला अस्पताल बाजुरामा बडीमालिका नगरपालिका(७ का २१ बर्सिया वसन्ती नेपालीको सुत्केरी हुँदा ज्यान गयो ।

१६ कात्तिकमा त्रिवेणी नगरपालिका १ छताराका ३७ बर्षीया रजिया नेपालीको मृत्यु भएको थियो । सुत्केरी बेथा लागेपछि आफन्तहरूले नजिकैको छतारा स्वास्थ्य चौकीमा पुर्‍याएका थिए । तर अर्काे दिन बिहान उनको ज्यान गयो ।

१० मंसिरमा जगन्नाथ गाउँपालिका–५ गोत्री सामुदायिक एकाइ केन्द्रमा जगन्नाथ गाउँपालिका–६ गोत्रीकी ३५ बर्षीया पुल्ती रावलको मृत्यु भएको थियो ।

पछिल्लो समय जटिल अवस्थाका सुत्केरी तथा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार पनि नगरिएको होइन ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम र जटिल गर्भवती महिला तथा सुत्केरी महिला उद्धार कार्यक्रम अन्तर्गत १० जना सुत्केरी तथा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

‘तर अझै पनि घरमै सुत्केरी गराउनेहरू छन्, जसका कारण गर्भवती तथा सुत्केरी महिलाहरूको मृत्यु भइरहेको छ’ उनले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment