Comments Add Comment

कैलाशकुट : सात दशकको प्रयासमा पनि पत्ता लाग्न नसकेको एउटा ‘भव्य दरबार’

पछिल्लो प्रयासमा पनि लागेन पार

कैलाशकुट भवनको सांकेतिक तस्वीर/क्षितिज तामाङबाट

१७ मंसिर, काठमाडौं । इतिहासको हरेक स्रोतमा ठूलो प्रशस्ती र विशिष्ठताको भेटिने कैलाशकुट भवनको खोजी हुन थालेको सात दशक हुन लाग्यो । २००७ सालमा राणा शासनको अन्त्यपछि नेपालीले समेत इतिहासको खोजी गर्ने अवसर पाए ।

नयराज पन्तको पुस्तक लिच्छवि संवत्को निर्णयमा उल्लेख भएबमोजिम तत्कालीन गृहमन्त्री वीपी कोइराला लगायतले आफ्नै खर्चमा इतिहासको खोजी गर्ने बन्दोबस्त मिलाएका थिए । कोइरालाको सहयोगमा नयराज पन्तको नेतृत्वमा गठन भएको इतिहास संशोधन मण्डलले धेरै इतिहासमा प्रकाश पार्ने काम गर्‍यो । विदेशी इतिहासकारहरुले खोजेका कतिपय विषयलाई संशोधन मण्डलले खण्डन गर्यो । कैलाशकुट भवन क्षेत्र भने ७ दशकसम्म पनि अज्ञात छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं इतिहास विद् प्रा. दिनेशराज पन्त आफ्ना बाबुहरूले सात दशकभन्दा अघिदेखि कैलाशकुट भवनप्रति चासो देखाएको बताउँछन् ।

पहिले साहित्यिक स्रोतमा उल्लेख भएको विषय अध्ययन गर्ने, त्यसपछि विभिन्न विधिमार्फत् अन्वेषण गर्ने र अन्वेषणबाट यकिन विवरण आएको ठाउँमा उत्खनन् गर्ने वैज्ञानिक प्रक्रिया हुन् । तर न विश्वासिलो साहित्यिक स्रोत न त अभिलेखीय प्रमाण, हालसम्म प्राप्त कुनै पनि स्रोतले कैलाशकुट भवन रहेको ठाउँ संकेत गरेको छैन ।

कैलाशकुट भवन रहेको ठाउँबारे इतिहासकार र पुरातत्वविदहरुले आ–आफ्नै दाबी प्रस्तुत गरेका छन् । तिमध्ये तारानन्द मिश्र, सुदर्शनराज तिवारी, ठाकुरलाल मानन्धर, भेषनारायण दाहाल लगायतले काठमाडौंको हाँडीगाउँ क्षेत्रमा कैलाशकुट भवन छ भनेका  छन् । धनवज्र बज्राचार्य र ज्ञानमणि नेपालले पनि हाँडीगाउँ भेगमै रहेको बताएका छन् । हालको हाँडीगाउँमा नै कैलाशकुट रहेको मान्ने इतिहासकारहरुले त्यहाँ भेटिएको महासामन्तांशुवर्मणः र श्री महासामन्तांशुवर्मणः उल्लेखित इँटाहरु, हाँडीगाउँमा राखिएका दुईवटा अभिलेखमा दूतकको नाम उल्लेख नहुनु, हाँडीगाउँमा सो समयका अन्य विभिन्न प्रमाण पाइनु आदिलाई यो दाबीको आधार मानेका छन् ।

सो समयमा दरबारभन्दा टाढा अभिलेख राख्न जाने दूतकको नाम पनि अभिलेखमा उल्लेख गर्ने चलन थियो । धेरै अभिलेखमा त्यस्ता दूतकको नाम उल्लेख छ । हाँडीगाउँको थटोल डबलीमा भेटिएको ई ६०६ र ई ६०८ का दुई अभिलेखमा भने दूतकको नाम भएर ‘स्वयमाज्ञा’ भन्ने उल्लेख छ । संवत् ३० को अभिलेखमा अंशुवर्माको राज्याभिषेक सम्बन्धमा राजदरबारको स्थिति बन्देजसम्बन्धी विषय समेत उल्लेख भएकोले हाँडीगाउँको मतमा बढी प्रमाण जुटेको प्रा.डा. जगदीशचन्द्र रेग्मीले ‘लिच्छवि इतिहास’मा उल्लेख गरेका छन् ।

त्यसो त यो मतमा सबै इतिहासकार सहमत छैनन् । नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका प्रमुख प्रा.डा. मदनकुमार रिमाल कैलाशकुट भवन हाँडीगाउँभन्दा अन्यत्रै पनि हुन सक्ने बताउँछन् । यस्तो विषयमा पर्याप्त अध्ययनविना दाबी गर्न नहुने उनको भनाई छ । शंकरमान राजवंशी पनि हाँडीगाउँ क्षेत्रमा नै कैलाशकुट भवन रहेको कुरामा यकिन विश्वास गर्दैनन् ।

प्रा. डा. रिमाल हाँडीगाउँ क्षेत्रमा मानमानेश्वरीे मन्दिर रहेको, एसवी देवले उत्खनन् गर्दा हालको गहना पोखरी र बालमन्दिर बीचमा लिच्छविकालसम्मका प्रमाणहरु भेटिएकोले यो क्षेत्र आफैंमा विशेष क्षेत्र रहेको उनी बताउँछन् । यो क्षेत्रमा पर्याप्त रुपमा खोज्ने हो भने मानगृह समेत भेटिने सम्भावना रहेकोभन्दै अझै पनि खाली ठाउँ रहेका क्षेत्रमा व्यवस्थित हिसाबले खोजी गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।

काठमाडौंमा बढेको सहरीकरणका कारण सम्भावित पुरातात्विक क्षेत्र निजी स्वामित्वका घरहरुले भरिएकाले खोजीकार्य कठिन बनेको छ

कैलाशकुट भवनको सन्दर्भमा गौतमबज्र बज्राचार्य र मेरी स्लसरको मत पनि भिन्न छ । उनीहरुले काठमाडौंको जैशीदेवलमा रहेको केलाच्छेचोकमा कैलाशकुट भवन हुनसक्ने बताएका छन् । अन्य कतिपय इतिहासकारले कपनको बालुवाखानीमा भेटिएको अभिलेख अंशुवर्माले राजविहारबाट जारी गरेको उल्लेख गरेका छन् । राजा बस्ने भएकोले राजविहार नाम उल्लेख गरिएको भन्ने तर्कसहित कतिपयले सो ठाउँमा कैलाशकुट भवन रहेको दाबी समेत गरेका छन् । नारायणचौर (नक्साल)को अभिलेखले चावहिलभन्दा माथिको ठाउँतिर कैलाशकुट भवनको संकेत गरेको छ ।

सरकारको पहल पनि असफल

१५०० वर्ष पुरानो यो दरबारको खोजीको लागि सरकारले पनि पहल नगरेको होइन । तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷०७६ को बजेट भाषणमा कैलाशकुट भवन खोज्नको लागि आवश्यक बजेट विनियोजन गरेको बताएका थिए । पुरातत्व बिभागका तत्कालीन महानिर्देशक भेषनारायण दाहाल सरकारले बजेट बनाएपछि आफ्नो संयोजकत्वमा एउटा समिति गठन भएको बताउँछन् । उनी भन्छन् ‘समितिले प्रारम्भिक अध्ययन गरी हाँडीगाउँ क्षेत्रमा भूभौतिक सर्वेक्षण गर्न सुझाव दिएको थियो ।’

बजेटमा सो विषय समेटिएपछि दाहालको नेतृत्वमा तारानन्द मिश्र, सुदर्शनराज तिवारी, मदनकुमार रिमाल, रामबहादुर कुँवर लगायत सदस्य रहनेगरी एउटा खोजी समिति पनि गठन भएको थियो ।

समितिको सुझाव अनुसार गत आर्थिक वर्षमा हाँडीगाउँ क्षेत्रमा भूभौतिक सर्वेक्षण गरियो । पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम हाँडीगाउँ क्षेत्रमा गरिएको भूभौतिक सर्वेक्षणमा लिच्छविकालसम्मको मानव गतिविधिको प्रमाण भेटिए पनि दरबारको भग्नावशेष नभेटिएको बताउँछन् । यद्यपि भूभौतिक सर्वेक्षणको पूर्ण प्रतिवेदन सार्वजनिक भने नभइसकेकोले सबै कुरा बताउन नसकिने गौतम बताउँछन् ।

विभागका प्रवक्ता रामबहादुर कुँवर हाँडीगाउँ क्षेत्रमा ठूलो बस्ती बसेकोले सो क्षेत्रमा कैलाशकुट भवनको संरचना भेट्नु चुनौतीपूर्ण रहेको बताउँछन् । खाली ठाउँमा गरिएको भूभौतिक सर्वेक्षणले अपेक्षित नतिजा हासिल गर्न कठिन भएको उनी बताउँछन् ।

कैलाशकुट भवन खोजी गर्न बजेटमा नै पैसा छुट्याएर समिति गठन गर्दा पनि किन भेटिएन दरबारको भग्नावशेष ? खोजी समितिका सदस्य रिमाल त्यसको केही कारण रहेको बताउँछन् । उनका अनुसार, पहिलो त ऊबेला अभिलेखमा कैलाशकुट भवन कहाँ थियो भनेर स्पष्ट उल्लेख नहुनु नै अहिलेको चुनौती हो । दोस्रो, काठमाडौंमा बढेको सहरीकरणका कारण सम्भावित पुरातात्विक क्षेत्र निजी स्वामित्वका घरहरुले भरिएकाले खोजीकार्य कठिन बनेको छ । तेस्रो कारण, भूभौतिक सर्वेक्षण गर्नुपूर्व समितिले पर्याप्त आन्तरिक तयारी र द्वितीय स्रोतको अध्ययन गर्न नगर्दा अपेक्षित नतिजा आउन नसकेको रिमाल बताउँछन् ।

‘मलाई पनि समितिमा सदस्य राखिएको थियो, तर ३–४ पटकभन्दा बढी बैठक भएन’, उनी भन्छन्, ‘पर्याप्त साहित्यिक स्रोत र स्थलगत अध्ययन गरेर जानुपर्नेमा एकैपटक भूभौतिक सर्वेक्षण गर्न हतार गरेकोले पनि अपेक्षित नतिजा आउन सकेन ।’

जब खोजीको विषय बन्यो कैलाशकुट

प्रजातन्त्र पुनस्थापनापछि तीब्र रुपमा चलेको इतिहासको खोजीले कैलाशकुट भवनको भव्यताको अनुमान गर्न सक्यो । सोही समयदेखि धेरैमा दरबारबारे कौतुहल जाग्न थाल्यो ।

लिच्छवि राजा अंशुवर्माको समयमा जारी भएका अधिकांश अभिलेख कैलाशकुट भवनबाट जारी भएका छन् । यसकारण कैलाशकुट भवन अंशुवर्माको समयमा निर्माण भएको पुष्टि हुने मानिन्छ । पहिले मानगृहबाट जारी हुने गरेकामा ई. ६०५ पछि कैलाशकुट भवनबाट जारी हुन थाले ।

अंशुवर्माले कैलाशकुट भवनको नाम उल्लेख गरेको पहिलो अभिलेख ई. ६०५ को बुंगमती अभिलेख हो । त्यसपछि अंशुवर्माले राखेको खोपासीको अभिलेख, साँगाको अभिलेख, कपन बालुवाखानीको अभिलेख, पशुपति, पाटन जस्ता क्षेत्रमा राखेका अभिलेखमा कैलाशकुट भवन उल्लेख छ । हाँडीगाउँमा पनि यस्ता केही प्रमाणहरु पाइएका छन् । तिनले यही क्षेत्रतिर कैलाशकुट भवन छ भन्ने संकेत गरेका छन् ।

कैलाशकुट भवनको भव्यताको वर्णन

यहीको अभिलेख र विदेशीहरुको यात्रा विवरणमा कैलाशकुट भवनको भव्यताबारे उल्लेख छ । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा राखिएका अभिलेखमा यो दरबारको भव्यता र कलाकृतिको बारेमा बढी व्याख्या गरिएको छ । चिनियाँ यात्रीको यात्रा वृत्तान्तमा भने यो दरबारको स्वरुप, यसको विशालता आदि पक्ष समेत समेटिएको छ ।

कैलाशकुट भवनको विशालताबारे ई. ६०८ को साँगा अभिलेखमा उल्लेख छ । त्यस्तै, नरेन्द्रदेवको ई. ६४३ को पाटन भन्सारचोकको पहिलो अभिलेखमा पनि कैलाशकुट भवनको भव्यताको वर्णन छ । साँगाको अभिलेखको सुरुमा भनिएको छ– ‘पृथ्वीतलको टीका जस्तो भएको, कुरिकुरि लागिरहेका दुनियाँले आँखा झिम्म नगरी हेरिरहने कैलाशकुट भवन…’

नरेन्द्रदेवको अनन्तलिंगेश्वरको अभिलेखमा पनि कैलाशकुट भवनको उस्तै प्रशस्ती गाइएको छ । जसमा ‘कैलाश जस्तो भएको आँखालाई आनन्द दिने, राम्रो संसारमा प्रसिद्ध भएको कैलाशकुट भवन…’ भन्ने वाक्यांश छ । नरेन्द्रदेवकै भन्सारहिटीको अभिलेखमा भनिएको छ– ‘जुनले टल्केको हिमालयको टाकुराझैं झलझल गर्ने संसारमा प्रसिद्ध कैलाशकुट भवन …’

यसबाहेक राजा नरेन्द्रदेवको पालामा नेपाल आएका चिनियाँ दूत वांग हुयेन शेलेले नेपाल विवरणमा नरेन्द्रदेव बस्ने दरबारबारे लेखेका छन् । चीनमा निर्वासित जीवन बिताएर फर्किएका नरेन्द्रदेवले पछि प्रशासनिक केन्द्रको रुपमा भद्राधिवास भवन बनाएपनि उनी कैलाशकुट भवनमै बस्थे । वांगले कैलाशकुट कै प्रशंसा गरेका हुन् भन्नेमा धेरै इतिहासकार एकमत छन् ।

त्यसमा भनिएको छ– नेपालको राजधानीमा तलैतला परेको एक भवन छ । सो भवन ८० प्यु (४०० फिट ?) घेरामा बनेको छ । यसको माथिल्लो भागमा मात्र १० हजार मान्छे बस्न सक्ने ठाउँ छ । तीन खण्डमा बनेको यो दरबारमा प्रत्येक खण्डमा साततले बुर्जाहरु छन् । बहुमूल्य प्रस्तर तथा बहुमूल्य रत्नहरु त्यहाँ जडिएका छन् । बीचको साततले बुर्जा तामाको पाताले छाइएको छ । यसको बार्दली, आँखीझ्याल, लठ्ठा र भित्रपट्टिका हरेक भागमा राम्रा र बहुमूल्य पत्थरहरु जडिएको छ । सो बुर्जाका चार कुनामा तामाको पानी बगाउने नालीहरु जडान गरिएको छ । तलतिर सुनको मकरको मुखबाट पानी निस्कन्छ । बुर्जाको टुप्पाबाट झरेको पानीको धारो तल सुनको मकरको मुखबाट फोहोरा जस्तै निस्कन्छ ।

विभिन्न वंशावलीहरुले पनि कैलाशकुट भवनको विशालताको वर्णन गरेका छन् । तिनलाई आधार मान्दा लिच्छविकाललाई स्वर्णयुग बनाएका अंशुवर्मा बस्ने दरबार पनि निकै चामत्कारिक रहेको अनुमान गर्न सकिन्छ । त्यो दरबार रहेको ठाउँ खुट्टिन नसक्नुले चाही इतिहासको अध्याँरोलाई कायमै राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment