Comments Add Comment

जो कुकुरका लागि बाँचे

मान्छेले कुकुरलाई एक बफादार प्राणीको रुपमा हेर्ने गर्छ । त्यसैले घरको सुरक्षाको लागि होस् वा शोभाका लागि कुकुर पाल्ने गरिन्छ । मानव समाजले कुकुरप्रति हेर्ने जुन दृष्टिकोण छ, त्यो एकदमै प्रेमिल, हार्दिक र आत्मीय छ ।

हाम्रो समाजमा पनि कुकुरका अनेक कथा छन्, जसले त्यसको वफादारिता, त्याग र सत्गुणको व्याख्या गर्छ । पौराणिक कथाहरुमा समेत कुकुरको गुणगान गाइएको छ ।

त्यसो त हाम्रै समाजमा कतिपय यस्ता पात्र छन्, जसले कुकुरकै खातिर आफ्नो सम्पूर्ण खुसी बिर्सिए । यहाँ त्यस्तै दुई पात्रको कथा पेश गरिएको छ ।

ज्ञानु देउला

कमलादीस्थित गणेस्थान मन्दिरमा एउटी बज्यैले आश्रय लिएकी थिइन् । उनी दिनभर मन्दिरमा आउने दर्शनार्थीलाई फूलमाला बेच्थिन् । केही पैसा जोहो गर्थिन् । एक्लो ज्यान, पार्टीको बास । उनलाई पैसाको खाँचो नै किन थियो र ?

यद्यपि उनी जे-जति आर्जन गर्थिन्, त्यसबाट उनले आफ्नो डेढ बित्ताको पेट भर्न होइन बरु उनकै आसपासमा झुम्मिने दर्जनौं बेवारिसे कुकुरको भोजनको लागि खर्च गर्थिन् । उनै मनकारी आमैको नाम, ज्ञानु देउला ।

कति कुकुर सडकमै हुन्थे । कतिलाई बुढो र रोगी भएपछि मान्छेले सडकमा ल्याएर छाडिदिन्थे । यसरी अनाथ बनेका कुकुरहरुको एक्लो धाइआमा थिइन्, उनी । आफूले जे खान्छन्, कुकुरलाई त्यही ख्वाउथे । मीठो मसिनो पनि ख्वाउने गर्थे । उनी कुकुरहसँगै खान्थिन्, त्यहीसँगै सुत्थिन् ।

उनी कुकुरलाई आफ्नै कोखको सन्तानझै‌ं माया गर्थिन् । कसैले कुकुरलाई गाली गर्‍यो भने, पिट्यो भने, लखेट्यो भने प्रतिकार गर्थिन् उनी । एकपटक गाडीले कुकुरलाई कुल्चियो भनेर ढुंगाले हानेर गाडीको सिसा नै फुटाइदिइन् ।

कुकुरलाई ख्वाउने, उपचार गराउने क्रममा उनले आफ्नो बचतबाट एक लाख रुपैयाँभन्दा बढी खर्च गरिन् । उनले आफ्नो जन्मदिन मनाइनन्, तर कुकुरको जन्मदिन मनाइदिइन् । कुकुर मर्दा त्यसको काजक्रिया गरिदिइन् । त्यतिमात्र कहाँ हो र कुकुरको आत्माले शान्ति पाओस् भनेर चारधाम जाने मान्छेहरुलाई कुकुरको फोटो र तील, जौं पठाउने गरिन् । आफूले स्याहार गरेको जति कुकुर मरे, तिनीहरुको नाममा उनले बिरुवा पनि रोपिदिइन् ।

पछि ज्ञानु देउलाको निधन भयो । उनको निधनपछि ती कुकुहरुले एउटा न्यानो आश्रय गुमाए, संरक्षक गुमाए । स्थानीय समाजले उक्त कुकुरहरूको बिचल्ली नहोस् भनी खाने र बस्ने बन्दोबस्ती गरिदिए । बिस्कुट लगायत भण्डारण गरियो । यद्यपि कुकुरहरूले उनै ज्ञानु देउलालाई खोजिरहेझैं लाग्थ्यो ।

जयनारायण सिंह

कुकुरलाई आफ्नो सन्तानलाई झै‌ं प्रेम गर्ने अर्का पात्र हुन्, जयनारयण सिंह । सडक कुकुरहरूका लागि उनी भरपर्दा अभिभावक हुन् । कुकुर पाल्ने शौख वा रहर होइन, बरु कुकुरप्रतिको हार्दिक स्नेहले उनलाई पगालेको छ । त्यसैले त हरक्षण उनी सडक कुकुरहरुको स्याहार‍‍-सुसारमा लागिरहेका हुन्छन् ।

उमेरले पाको भइसके उनी । तर उनलाई आफ्नो स्वास्थ्यको जति चिन्ता छ, त्यो भन्दा बढी सडक कुकुरहरुको । आफ्नो शेषपछि सडक कुकुरहरु अरू बिचल्लीमा पर्छन् कि भन्ने कुरालाई उनलाई निकै पिरोल्छ ।

जयनारायण जहिलेपनि कुकुरप्रति नै चिन्तित हुने गर्छन् । कुकुरले खाए, नखाएको कुरामा बढी ध्यान दिइरहेका हुन्छन् । उनी भेटेजति सडक कुकुरलाई खानेकुरा दिँदै हिँड्छन् । घरमै पनि पाल्छन् । आफ्ना कमाइको अधिक पैसा उनले सडक कुकुरै स्याहारमा खर्चिएका रहेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment