Comments Add Comment

एक प्रहरी अधिकृतको आध्यात्मिक जीवनशैली

चोरी, डकैती, हत्या, हिंसा, बलात्कार, ठगी किन हुन्छ ? सरसर्ती विश्लेषण गर्ने हो भने यसका अनेक गुप्त कारण फेला पर्छन् । उपत्यका प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले आफ्नो कार्यकालमा थुप्रै अपराध केलाएका छन्, अपराधीको मनोवृत्ति खोतलेका छन् । यसबाट उनले एउटै निचोड निकालेका छन्, ‘जहाँबाट मान्छेले आफ्नो संस्कार लत्याउँछ, त्यहीँबाट नैतिकता र निष्ठाको मृत्यु हुन्छ । तब मान्छे अपराधकर्म गर्न समेत पछि हट्दैन ।’ अपराधको आवरण जस्तोसुकै देखिएपनि यसको गुदी भने आफ्नो धर्म–परम्परा र संस्कारबाट बिचलन हुनु नै हो ।

धर्म–परम्परा एवं संस्कारले मान्छेलाई आत्मानुसासित बनाउँछ । आफ्नो मन र इन्द्रियलाई नियन्त्रण गर्ने विधि सिकाउँछ । नैतिकता, निष्ठा, इमान र सत्यको धरातलमा बाँच्न प्रेरित गर्छ । पोखरेललाई यस्तै लाग्छ । उनी भन्छन्, ‘अहिले जे जति अपराध भइरहेका छन् त्यसको खास कारण भनेकै हामी आफ्नो धर्म–परम्परा र संस्कारबाट विमुख हुनु हो ।’

उनी आध्यात्मिक प्रवृत्तिका छन् । धर्म–संस्कारमा गहिरो आस्था छ । पोखरेलको दैनिकी पूजापाठबाट सुरु हुन्छ । मन्दिर धाउँछन् । उपवास बस्छन् । भक्ति आराधना गर्छन् । उनलाई आत्मिक शान्तिका लागि यो नै उत्तम विधी हो भन्ने लाग्छ । अध्यात्मले जीवन र जगतलाई नजिकबाट बुझ्ने अवसर दिन्छ । जब मान्छेलाई आफ्नो जीवनको सत्य बोध हुन्छ, उनमा अनावश्यक महत्वकांक्षा, कुष्ठा, गुनासो केही पनि रहँदैन । आफ्नो कर्म र प्राप्तिमा सन्तोष गर्छ । तब मान्छे विनयी र विवेकवान् बन्छन् । पोखरेल यसै भन्छन् ।

बिहान सबेरै उठ्नु, मनतातो पानी पिउनु, पितृलाई जल अर्पण गर्नु, पूजा आराधना गर्नु, एक घण्टा ट्रेड मिलमा दौडनु उनको नियमित दैनिक तालिका हो । मौसमी फलफूल खाएसँगै उनी आफ्नो कार्यक्षेत्रमा खटिन्छन् ।

अहिले उनको जिम्मेवारी काठमाडौं उपत्यकाको समग्र सुरक्षा व्यवस्था हेर्नु हो । चोरी डकैतीदेखि देहव्यापारसम्मका सामाजिक विकार कसरी न्यूनीकरण गर्ने ? हरक्षण उनी यसैमा खटिन्छन् । त्यसका साथसाथै मानवीय समाज निर्माणका लागि आफ्नो विवेकले भ्याएसम्मका अभ्यासहरु गर्छन् । ‘कामको आधारमा, पदको आधारमा मान्छेको भूमिका फरक हुनसक्छ’ पोखरेल भन्छन्, ‘तर सबै मान्छे समान हुन् र सबैलाई समान व्यवहारको खाँचो हुन्छ ।’ पद र शक्तिको आधारमा गरिने विभेदलाई उनी ‘अज्ञानता’ मान्छन् ।

पोखरेलले सम्पूर्ण प्रहरीका लागि एउटै मेसको व्यवस्थाको थालनी गरे । जुनसुकै तहका प्रहरीले पनि एकै थलोमा बसेर खानपिन गर्नुपर्छ । झट्ट हेर्दा यो कुनै ठूलो काम त होइन । यद्यपि यसले प्रहरी जवानहरुको मनोवल उकास्न र प्रहरी सेवाप्रति अपनत्व जगाउन मनोवैज्ञानिक भूमिका खेल्ने पोखरेलको बुझाइ छ ।

त्यसो त पोखरेल स्वयं सादगी जीवन रुचाउँछन् । चाहे खानपानको कुरामा होस् वा जीवनशैलीकै कुरामा, उनलाई तडकभडक रुच्दैन ।

साधारण दाल–भातले उनको भोक तृप्त गर्छ । दिउँसो खानामा दाल, भात, तरकारी हुन्छ । कालो दाल भए अरु स्वाद हुन्छ । रातको खाना पनि उही हो । सानैदेखि फलफूलमा रस भिजेकाले उनी नियमितजसो मौसमी फलफूल खान भने छुटाउँदैनन् । पहिरन एवं फेसनप्रति भने उस्तो सौख छैन । महंगा ग्याजेट्सप्रति कुनै आशक्ति छैन । घुमफिर, मनोरञ्जनमा लगाव छैन । विलासी जीवनको मौह छैन ।

‘मैले आफ्नो जीवनकालमा जम्माजम्मी ६ वटा फिल्म हेरेँ होला’ पोखरेल भन्छन्, ‘आफ्नो काममै बढी रमाउने हुँदा मलाई अतिरिक्त मनोरञ्जनको खाँचो भएन ।’ श्रीमद्भागवत गीताको एउटा चर्चित वाक्यांश छ, कर्म गर तर फलप्रति आशक्तिरहित भएर । सत्कर्म गर्नु र त्यसमै आनन्दित रहनु भन्ने भावार्थ बोकेको यही वाक्यांशले उनको जीवनलाई निर्देशन गरेको छ । पोखरेल भन्छन्, ‘आफ्नो कर्मबाटै आनन्द अनुभूत गर्नुपर्छ भन्ने लाग्छ ।’

हामीले भोग्ने दुःख–सुख, सजिलो–अप्ठ्यारो यी सबै पूर्वनिर्धारित हुने उनको विश्वास छ । यसलाई उनी प्रारब्धको खेल भन्छन् । कुनैपनि कुरा हामीले चाहेर मात्र हुँदैन । त्यसैले जीवनको सफलताप्रति धेरै हौसिनु र असफलताप्रति धेरै उदास हुनुको कुनै अर्थ छैन भन्ने लाग्छ ।

जीवनको पूवाद्र्धमा पोखरेलले सोचेका थिएनन्, प्रहरी सेवामा लागिएला । प्रहरीको उच्च तहमा पुगिएला । पढ्नका लागि भनी काठमाडौं आएका उनी संयोगले उनी यो क्षेत्रमा लागे । करियरको सुरुवाती दिनहरुमा त उनी न्याय सेवामा काम गर्न चाहन्थे । तर, जागिरे जीवनको सिलसिलामा उनको अन्तिम मोड बन्यो, प्रहरी ।

‘कुन क्षेत्र वा कुन पद भन्ने ठूलो कुरा होइन’ उनी भन्छन्, ‘जहाँ रहेर पनि आफ्नो कर्ममा विश्वास गर्ने हो । आफ्नै कर्ममा रमाउने हो ।’ जीवनको यो घडीसम्म आइपुग्दा पोखरेललाई कामप्रति कुनै गुनासो रहेन ।

त्यसैले त उनी हरबखत आफैलाई भुलेर अनेक–अनेक कल्पनामा मग्न हुन्छन् । कहिले कल्पन्छन् ‘काठमाडौं उपत्याकालाई कसरी शान्त र सुन्दर बनाउने होला ?’ कहिले सोच्छन्, ‘अपराधमुक्त समाज भए कस्तो हुँदो हो ?’

‘राती सुतिरहेको बेला यस्ता–यस्तै अनौठो कल्पना आउँछ’ उनी सुनाउँछन् ।

अक्सर उनी रातको ११ बजेभित्र ओछ्यानमा पुग्छन् । तर, सुत्नसाथ निद्रा पर्दैन । आधा घण्टा त यताउता गर्दागर्दै बित्छ । त्यसपछि पो गहिरो निद्रा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment