+
+
Shares
जाँचबुझ आयोगसँग छलफल :

‘अरनखटन गर्नेको बयान, आन्दोलन र अपराध छुट्याएर कारबाही’

जाँचबुझ आयोगका सदस्य विज्ञानराज शर्माले आन्दोलन र अपराधलाई छुट्याएरै जाँचबुझ गरी प्रतिवेदन सरकारलाई बुझाउने र त्यसको अधिकांश सिफारिस कार्यान्वयन हुने आश्वासन दिए ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ कात्तिक ११ गते २२:०३

११ कात्तिक, पोखरा । २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा कास्कीले ठूलो क्षति बेहोर्‍यो । सरकारी र निजी क्षेत्र गरी कास्कीमा साढे ५ अर्ब हाराहारी क्षति भएको अनुमान गरिएको छ ।

२४ भदौको प्रदर्शनका क्रममा प्रमुख सरकारी कार्यालयहरू खरानी बने । ११६ वटा आवास सहितका सरकारी कार्यालय जलेर ध्वस्त भए ।

नेताका घर, रिसोर्टसहित २७ वटा निजी सम्पत्ति जलाइएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार पोखरामा मात्र निजी क्षेत्रले साढे ३ अर्बभन्दा ठूलो क्षति बेहोरेको छ ।

संघीय कार्यालय २६ वटा जले भने प्रदेशका ३३ वटा संरचना खरानी बने । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका २७ वटा कार्यालय, पोखरा महानगरपालिकासहित स्थानीय तहमा ४, वडा कार्यालय २५ वटा, उपत्यका नगर विकास समिति जलाइएका छन् ।

चार पांग्रे सवारी साधन १ सय १९ र चार पांग्रे २ सय १० वटा जलेका छन् भने २ अर्ब १८ करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।

भौतिक क्षतिले आक्रान्त कास्कीको निजी क्षेत्र भनिरहेको छ, ‘आन्दोलन र अपराध छुट्याऊ, लुटपाट, तोडफोड, आगजनी गर्नेमाथि कारबाही नगर्ने हो भने ठूलो अन्याय हुनेछ । त्यो देशका निम्ति भारी पर्नेछ ।’

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २३ र २४ भदौमा भएको मानवीय तथा भौतिक क्षतिको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा आयोग गठन गरेको छ । त्यही आयोगका सदस्य तथा प्रवक्ता पूर्वएआइजी विज्ञानराज शर्माले मंगलबार सरोकारवालासँग छलफल गरी सुझाव लिएका छन् ।

छलफलका सहभागीले आन्दोलन र अपराधलाई एकै ठाउँमा राखेर नहेर्न र त्यसलाई छुट्याएर अपराधीलाई कारबाही गर्न माग गरेका छन् ।

निजी सम्पत्ति तोडफोड तथा आगजनी गर्नेलाई कतै उन्मुक्ति दिन खोजिएको त होइन भन्ने उनीहरूले संसय व्यक्त गरे । पूर्वन्यायाधीश कार्की संयोजकत्वको आयोगले न्याय दिने आशासहित सुझाव र खबरदारीसमेत गरे ।

जेनजी आन्दोलनको समर्थन गरेका अधिकांश व्यवसायी तथा सरोकारवालाले आन्दोलनकारीमाथि गोली हान्ने र भोलिपल्ट विध्वंश मच्चाउने दुवैलाई कारबाही गर्नुपर्ने सुझाव दिए । समाजमा प्रहरी प्रशासनदेखि नागरिकसम्मको गिरेको मनोबल उठाउन दोषीमाथि कारबाही थाल्नुको विकल्प नभएको उनीहरूको सुझाव थियो ।

आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गरिएको होटल एडमका सञ्चालक वासुदेव त्रिपाठी, वरपिपल रिसोर्टका जितु गुरुङ, गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाले सञ्चालन गरेको रिसोर्टसहित व्यापारिक प्रतिष्ठान, सांसद गणेशमान गुरुङका प्रतिनिधिले प्रहरीले सीसीटिभी फुटेज, भिडियो हेरेरै कारबाही अगाडि बढाउन सक्ने बताए । उनीहरूले किटानी जाहेरी दिँदा थप असुरक्षा बढ्न सक्ने भएकाले धेरै जना सशंकित रहेको समेत सुनाए ।

पोखराका नागरिक तथा प्याराग्लाइडर विमल अधिकारीले समाजमा मनोवैज्ञानिक हिसाबले ठूलो क्षति पुगेर र त्यसबाट बागिर निस्कन नसकिरहेको बताए ।

पर्यटन व्यवसायी गोपी भट्टराईले २३ गते विद्यार्थीमाथि गोली हानिएको घटनाले विक्षिप्त बनाएको र २४ गते अर्को डरलाग्दो दृश्य देखिएको भन्दै दोषीउपर कारबाहीका लागि छिटोभन्दा छिटो प्रतिवेदनमार्फत सिफारिस गर्न आग्रह गरे ।

चेम्बर आफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले आन्दोलनपछि निजी क्षेत्र त्रसित बनेको र आन्दोलनपछि समाजमा झनै भयावह अवस्था सिर्जना भइरहेको बताए ।

पोखराका नागरिक समाज, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले पनि आन्दोलन र अपराधलाई छुट्याएर हेर्न जाँचबुझ गर्नुपर्ने सुझाव दिए भने तत्काल कारबाहीको प्रक्रिया अगाडि नबढाउने हो भने समाजमा झनै अराजकता बढ्नेतर्फ पनि सचेत गराए ।

कतिपयले आयोगकै भूमिकामाथि पनि शंका व्यक्त गरे भने यसअघिका आयोगका प्रतिवेदन जस्तै यो पनि सार्वजनिक नहुने आशंकासमेत गरे ।

यी मान्छे घटनामा संलग्न छन् भनेर देखाइदिन्छौंः शर्मा

आयोगका सदस्य विज्ञानराज शर्माले आन्दोलन र अपराधलाई छुट्याएरै जाँचबुझ गरी प्रतिवेदन सरकारलाई बुझाउने र त्यसको अधिकांश सिफारिस कार्यान्वयन हुने आश्वासन दिए ।

कसैलाई नगरेको काम गरेको छ भनेर किटान नगर्ने तर बयानका सिलसिलतामा आएका प्रमाण र अरू प्रमाणले २३ र २४ गते देखिएका दोषीहरूलाई कारबाही गर भन्ने शर्माले बताए ।

विशेषगरी नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानबाट २३ र २४ गते भएको अरनखटनको रिपोर्ट मागेको उनले बताए । ‘को कहाँ थियो, समस्या आएका ठाउँमा खटेका मानिसहरूसँग हामी बयान लिन्छौं,’ शर्माले भने, ‘बयानपछि त्यो घटना के हो भन्ने कुरा निस्किँदै जान्छ।’

२४ गतेका घटनाका सीसीटिभी फुटेज, फोटो र विवरण आयोगमा पठाउन पनि उनले आग्रह गरे । अहिले प्रत्येकको हातमा क्यामरा भएको हुँदा पहिले जस्तो अनुसन्धान गर्न समस्या नहुने उनको भनाइ थियो ।

‘हामीले यसरी अनुसन्धान गर, यी मान्छे चाहिँ घटनामा संलग्न छन् भन्ने कुरा देखाउने प्रयास गर्छौं,’ शर्माले भने, ‘त्यो २३ र २४ गते दुइटैको ।’ आयोगका सन्दर्भमा पनि केही प्रश्नहरू उठेको प्रसंग पनि उनले निकाले ।

कुनै अपराधी उम्किन नपाओस् र पीडितले न्याय पाओस् भन्ने भित्री इच्छा मात्रै आफूहरूको भएको शर्माले बताए । कतिपय ठाउँमा माथिबाट आदेश आएको छैन भनेर द्वुविधा पनि भएको शर्माको भनाइ थियो ।

शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री लेखक विरुद्धको निवेदन पनि आयोगमा पठाइएको तर आयोगले प्रहरीलाई अनुसन्धान गर्न भनेर पठाइएको जानकारी दिए । आयोगले फौजदारी अभियोगको हकमा प्रहरीले नै अनुसन्धान गर्न सक्ने भनिसकेको समेत सुनाए ।

रोजगारी सिर्जना गर्न के गर्न सकिन्छ भनेर स्पष्टसँग आयोगले सुझावसमेत दिने शर्माले बताए । सरकारी वा कुनै पनि पक्षको दबाब आफूहरूले नलिने उनले दाबी गरे । राज्यले गर्नुपर्ने काम गरेन, हाम्रो निवेदन प्रहरीले लिएन, अपराधी खुल्लमखुला हिँडिरहेको छ, कारबाही गर्नुपर्‍यो भन्ने धेरैको सुझाव आएको सदस्य शर्माले बताए ।

लगानीकर्ताहरूलाई कसरी सुरक्षित गर्न सकिन्छ, अन्तर्राष्ट्रिय अभ्यासहरू केके छन् भनेर पनि आफूहरूले हेर्ने उनले दाबी गरे । यो प्रतिवेदन हिजोको जस्तो नहोस् भनेर आफूहरूले भनेको पनि शर्माले सुनाए । ‘हिजोको जस्तो दराजमा नथन्कियोस्, यसलाई पब्लिस गर्नुपर्छ भनेका छौं,’ शर्माले भने ।

राज्य संयन्त्रलाई आत्मबल बढाउने काम पनि आफूहरूले गरेको शर्माले बताए । जबसम्म सुरक्षा संयन्त्रले काम गर्न सक्दैन, जबसम्म सबै संयन्त्रको मनोबल कमजोर हुने उनको भनाइ थियो ।

छानबिन र अनुसन्धानका बीचमा एउटा आधार बनाइदिने काम आफूहरूको भएको उनले बताए । प्रतिवेदन धेरै हदसम्म सरकारले लागु गर्ने उनको विश्वास थियो । कुनै पनि अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि काम नहुने जाँचबुझ आयोगले नगर्ने ।

प्रहरीले अनु्सन्धान र अपराध छुट्याएर कारबाही थालिसक्योः एसपी कार्की

चोरलाई समातेर कारबाही गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएको पीडितको गुनासो थियो । प्रहरीले किटानी जाहेरी नलिएको र सरकारले निर्देशनसमेत नदिएको भन्दै पन्छिने काम भएको आरोपसमेत नागरिकको छ । तर कास्की प्रहरीले अब आन्दोलन र अपराध छुट्याएर कारबाही गर्ने बताएको छ ।

कास्की प्रहरी प्रमुख नवीन कार्कीले आन्दोलन र आपराधिक क्रियाकलापलाई छुट्याएर हेर्ने बताए । सडकमा डोजर, लोडर ल्याएर, लुटपाट, चोरी गरेर आतंक मच्याउने आपराधिक क्रियाकलापको अनुसन्धान गरिरहेको एसपी कार्कीले बताए । अहिलेसम्म ३ वटा किटानी जाहेरी परेको उनले जानकारी दिए ।

उनले त्यसरी नै व्यवसायीका तर्फबाट जाहेरी लिने र अनुसन्धान गर्ने आश्वासन दिए । प्रहरीको हतियार लुट्ने, जलाउने, प्रहरीको पोशाकलाई मजाक बनाउने १५ जनालाई नियन्त्रणमा लिएको एसपी कार्कीले बताए ।

‘पोखरालाई आतंकित पार्न जेनजी भन्दा पनि विगतमा आपराधिक पृष्ठभूमि भएका, पटकपटक प्रहरी हिरासतमा परेका, कारागार बसेर निस्किएका, कारागारबाट भागेका, पछि प्रहरी हिरासतबाटै भागेका मानिसहरू संलग्न भएको विभिन्न अनुसन्धानले देखाएको छ,’ एसपी कार्कीले भने, ‘अझै पनि नागरिकबाट भिडियो, प्रमाणहरू अपेक्षाअनुसार आइसकेको छैन ।’

१३० भन्दा बढी मोटरसाइकल र ७७३ जना भागेकोमा स्वतस्फूर्त धेरै जना आएको भए पनि ८६ जनालाई पक्राउ गरेर बुझाइएको उनले जानकारी दिए । हिरासतबाट भागेका ३० जनालाई समातेको उनले बताए ।

प्राप्त प्रमाण, भिडियो हेरेर व्यक्ति पहिचान गर्ने काम प्रहरीले गरिरहेको उनको भनाइ थियो । आन्दोलनको एउटा रूप भए पनि आपराधिक क्रियाकलाप गर्नेले छुट नपाउने उनको दाबी थियो ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?