Comments Add Comment

४ वर्षीया बालिका बलात्कार गर्ने किशोरलाई साढे १२ वर्ष कैद

१८ मंसिर, उदयपुर । जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका-५ का एक १५ वर्षीय किशोरलाई साढे १२ वर्ष जेल सजाय फैसला गरेको छ ।

बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका-५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजाय गर्ने फैसला गरेको अदालतका तहसिलदार राजकुमार आचार्यले बताए ।

यस्तै सोही किशोरसँगै सामूहिकरुपमा चार वर्षीया बालिका बलात्कार गर्ने अर्का ११ वर्षीय बालकलाई अदालतले अनुसन्धानसम्मको जेल सजायपछि बाँकी सजाय स्थगन गरेर सजाय मुक्त गरेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।

विसं २०७६ सालको चैत ६ गते दुवैले स्थानीय छिमेकी बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगसहित इलाका प्रहरी कार्यालय कटारीमा पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए ।

प्रहरीमा उजुरी परेलगत्तै इलाका प्रहरीले पक्राउ गरेर दुवैलाई अनुसन्धानका लागि बाल सुधार गृहमा राखेर बलात्कारसम्बन्धी मुद्दा चलाएको थियो । बुधबार मुद्दा फैसला हुँदा ११ वर्षीय बालकको बाँकी कारबाही स्थगन भएको थियो भने १५ वर्षीय किशोरविरुद्ध १२ वर्ष छ महिनाको जेल सजायको फैसला भएको जिल्ला अदालत उदयपुरले बताएको छ ।

जेल सजाय पाएका किशोरलाई बालक भएका कारण १८ वर्ष हुँदासम्म विराटनगरस्थित सुधारगृहमा राख्ने र त्यसपछि कारागार पठाउने तयारी गरिएको पनि अदालतका सूचना अधिकारी तथा तहसिलदार आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment