+
+

भारत र नेपालले अगाडि बढ्ने निर्णय गरिसके – भारतीय विदेशमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १८ गते १२:३९

१८ मंसिर, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल र भारतबीच बिगतमा केही समस्या रहे पनि अहिले दुवै मुलुकले आपसी सम्बन्धलाई अगाडि बढाउने निर्णय गरिसकेको दाबी गरेका छन् । उनले नेपालसँगको भारतको समस्या विश्वका जुनसुकै दुई छिमेकी मुलुकबीच हुनेजस्तो समस्या रहेको बताएका हुन् ।

‘द हिन्दू’सँगको अन्तर्वार्ताको क्रममा जयशंकरले विश्वभर आफ्ना छिमेकी मुलुकसँग कुनै समस्या नरहेको मुलुक नभएको दाबी गरे । जयशंकरको भारतीय विदेश नीति समेटिएको किताबमा उनले ‘उदारता र दृढता’को नीति आफ्ना छिमेकी मुलुकसँग राख्ने उल्लेख गरेका छन् ।

तर, नेपालको संविधानमा नै नेपाल र भारतबीच विभाजन देखिएको छ । यसै वर्ष नेपालले लिम्पियाधुरासहितको नक्सा जारी गरेको थियो । त्यसपछि दुई मुलुकबीच तनावको अवस्था देखिए पनि अहिले भारतीय अधिकारीहरुले नेपालको भ्रमण गरिरहेका छन् । तर, नेपाल आफ्नो मुद्दाबाट पछि हटेको छैन । यस्तोमा भारतको दृढताको नीति कसरी कायम रह्यो भनी जयशंकरलाई प्रश्न गरिएको थियो ।

यसको जवाफमा उनले कुनै एउटा घटनालाई लिएर समग्र सम्बन्धको विषयमा टिकाटिप्पणी गरिनु उचित नहुने बताएका थिए । उनले भने, ‘समस्या हुन्छन् । मेरो मतलब, मलाई कुनै यस्ता दुई छिमेकी मुलुक देखाउनुहोस्, उनीहरुको बीचमा कुनै समस्या नै नभएको होस् ।’

उनले थपे, ‘अहिले हाम्रा अधिकांश छिमेकी मुलुक प्रजातान्त्रिक छन्, मुख्य कुरा उनीहरुसँग उनीहरुसँग उनीहरुको राजनीति छ र हामीसँग हाम्रो राजनीति छ, मुद्दाहरु त्यहीँ हुन्छन् ।’ यस्ता मुद्दाहरु कसरी समाधान गर्ने र तनाव कसरी कम गर्दै जाने भन्ने मुख्य विषय रहेको उनको भनाइ छ ।

स्रोत : द हिन्दू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?