Comments Add Comment

कतारी राजदूत भन्छन्– मेनपावरको छनोटमा दूतावासको कुनै भूमिका हुँदैन 

१९ मंसिर, काठमाडौं । कतार पुलिसको भर्ना प्रक्रियामा काठमाडौस्थित कतार दूतावास संलग्न भएका खबरहरु सार्वजनिक भइरहेका छन् । लाजिम्पाटस्थित होप इन्टरनेशनल म्यानपावर कम्पनीमा परिसरमा कूटनीतिक नियोगको गाडी फेला परेको विषय यतिवेला सर्वत्र चासोको विषय छ ।

सो घटना र कतारले नेपाली कामदार लैजाने प्रक्रियाका बारेमा नेपालका लागि कतारी राजदूत युसुझ निब अल हैलको प्रतिक्रिया यस्तो छ–

दोहाको हाम्रो गृह मन्त्रालयको लक्ष्य ५ हजारभन्दा बढी सुरक्षा गार्ड लैजाने हो । हामीले लाने नेपाली सुरक्षा गार्डलाई राम्रो तलव, निशुःक खाना, निशुःक बस्ने ब्यवस्था र निःशुल्क औषधि उपचारको व्यवस्था गर्छौं ।

जहाँसम्म सडकमा मेरो कार्यालयको कार राखिएको भन्ने छ, कतारबाट आउने कुनै पनि सरकारलाई प्रतिनिधीलाई सुविधा दिनु दूतावासको दायित्व हो ।

कार, एयरपोर्ट, होटल, अनुवादक लगायतका सुविधा नै दिनुपर्छ । तर, एउटा स्पष्ट हुनुपर्ने विषय चाहिँ के हो भने हामी दूतावासले कुनै मेनपावर छनौट गर्दैनौं ।

दोहा लैजाने कामदार छनौटको तयारी के छ, योग्य कामदार मात्र जान पाउन् भन्ने उद्देश्यले गृह मन्त्रालयका अधिकारीहरु आएका हुन् । उहाँहरुको कामसँग दूतावासको केही सम्बन्ध हुन्न, खाली हामीले मागेको लजिष्टिकल सहयोग मात्र प्रदान गर्ने हो ।

जहाँसम्म छनौटको कुरा छ, सबै मेनपावरले आवश्यक कागजात प्रक्रियामा आउनुपर्छ । श्रम मन्त्रालयबाट आवश्यक कागजात लिनुपर्छ । सबै कागजात हेरेर प्रक्रिया अगाडि बढ्ने हो र त्यो सबैकाम दोहाबाट नै हुने गर्छ । दोहामा रहेका नेपाल म्यानपावरले र हाम्रो त्यहाँको निकायले नै गर्ने हो, हाम्रो भूमिका हुन्न ।

त्यसमाथि पनि सुरक्षा गार्ड लैजानको लागि हाम्रा केही मापदण्डहरु रहेका छन् । उचाइ, अनुभव, उमेर लगायतका मापदण्डहरु पूरा गर्नुपर्छ । अघिल्लो वर्ष हामीले ३०० सुरक्षा गार्ड लग्यौं। मेरो सरकार नेपाली सुरक्षागार्डप्रति एकदमै खुसी छ ।

उनीहरु एकदमै इमान्दार छन् र उनीहरु एकदमै छिटो सिक्छन् । उनीहरुलाई केही दिन मात्र दिनुपर्छ, धेरै छिटो सिक्छन् । नेपालीको कुनै पनि कम्प्लेन र केसहरु छैनन् ।

कतार सरकार मात्र होइन्, नेपाली कामदारहरु पनि एकदमै खुसी छन् । उनीहरुले राम्रो कमाउन्, राम्रो घर बनाउन र राम्रोसँग बसुन् भन्ने हाम्रो लक्ष्य हो ।

तर, केही समय मेरो कार्यालयको कार लगायत विषयमा मिडियामा केही कुरा आएका छन् । यस विषयमा मैले परराष्ट्र मन्त्रालयलाई स्पष्ट पारिसकेको छु । हामी कुनै मेनपावर छनौट गर्दैनौं । हामीले कुनै पनि म्यानपावरसँग सम्पर्क गर्न गरेका छैनौं । अन्तरवार्ताका सम्बन्धमा हामीले न कसैलाई कुनै आधिकारिक पत्र नै दिएका छौं ।

जति पनि मेनपावर छनौट भएका छन्, त्यसमा मेरो दूतावासको संलग्नता छैन् । कतार सरकारको उच्च तहमा नै दस्तावेजहरुका आधारमा मेनपावर छनौट गर्छ र पछि जानकारी गराइन्छ । यस्तो स्पष्ट प्रावधान हुँदाहुँदै पनि केही व्यक्तिले ममाथि केही आरोप लगाए । मेरो साथी र अन्य कुराहरु पनि बाहिर आए । मैले सबैलाई भनेको छु, मैले मेनपावर छनौट गरेको कुनै प्रमाण भए आफू त्यसमा छलफल गर्न तयार छु ।

धेरै मिडियाले फलानो मेनपावर छनौट गर्नका लागि दबाव दिएको भनेर लेखे तर मैले कसैलाई पनि दबाव दिएको छैन । यो अप्रमाणित हल्ला फैलाउँदा नेपाली जनतालाई नै घाटा हुने हो ।

कतार र नेपालको सरकारका बीचमा एकदमै राम्रो सम्बन्ध छ । दुई देशको बीचमा ४२ बर्षदेखि सम्बन्ध छ । भूकम्पको समयमा कतार सरकारले नेपाललाई एकदमै धेरै सहयोग गर्‍यो ।

कोभिडको समयमा पनि हामीले कतार च्यारिटी मार्फत सहयोग गरिरहेका छौ । स्वास्थ्य, अस्पताल लगायतका थुप्रै क्षेत्रमा हामीले एकदमै धेरै सहयोग गरिरहेका छौं । तर, हामी सबै मेनपावर छान्न सक्दैनौं र यसमा दबाव दिन पनि मिल्दैन ।

हाम्रो कुनै संलग्नता छैन, हाम्रा कुनै कर्मचारी मेनपावर गएका छैनन् । हामीले कुनै पनि मेनपावरसँग सम्पर्क गरेका छैनांै । सबै काम कागजी प्रक्रिया मार्फत जाने हो । जसको आवश्यक कागजात छ, जसको तालिम केन्द्र छ, उनीहरुले प्रक्रियाका आधारमा काम अगाडि बढ्ने हो । कतार र नेपाल सरकारको वीचमा जे सहमति छ, त्यही सहमतिअनुसार हामी अगाडि बढ्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment