Comments Add Comment

‘लभ जिहाद’को मुद्दामा अल्झिएको भारत

भारतमा 'लभ जिहाद'को पक्ष र विपक्षमा निकालिएको जुलुस ।

१९ मंसिर, काठमाडौं । भारतमा पछिल्लो समय धर्मसँग जोडिएका विवादका घटना बढ्दो क्रममा छ । यहाँ हिन्दू–मुस्लिमबीचको विवाद नयाँ घटना हुन छाडेको छ ।  पछिल्लो पटक हिन्दु-मुसलमान समुदाय जोडिएर चर्चामा रहेको विवाद हो ‘लभ जिहाद’ ।

भारतमा मुस्लिम पुरुषले हिन्दू महिलालाई विवाह गरेर धर्म परिवर्तन गराउने गरेको आरोप हिन्दू पक्षधरहरुले लगाउने गरेका छन् । त्यसैलाई उनीहरुले ‘लभ जिहाद’ नाम दिएका छन् ।

भारतको उत्तर प्रदेशको सरकारले हिन्दू र मुस्लिम धर्म मान्ने युवा युवतीबीचको विवाहको लागि स्थानीय जिल्ला प्रमुखको स्वीकृति चाहिने कानुन ल्याएको छ । यो कानुनको अहिले भारतभर विरोध भइरहेको छ ।

भारत सरकारको इस्लाम धर्मविरोधी नीतिको रुपमा यो कानुन आएको विरोधीहरुको भनाइ छ । भारतको सत्तारुढ भारतीय जनता पार्टीको सरकार मुस्लिम धर्मप्रति पूर्वाग्रही देखिने गरेको आरोप लाग्दै आएको छ । बहुसंख्यक हिन्दू धर्म मान्ने मानिस रहेको भारतमा मुस्लिमहरुलाई भने उपेक्षा गरिएको यो समुदायका व्यक्तिले आरोप लगाउने गरेका छन् ।

के हो ‘लभ जिहाद’ कानुन ?

गत नोभेम्बर महिनामा उत्तर प्रदेश यो कानुन पारित गराउने पहिलो भारतीय राज्य बनेको थियो । यो कानुन ल्याउँदा यसलाई जबर्जस्ती धर्म परिवर्तनविरुद्धको कानुन भनिएको थियो । भारतको मध्यप्रदेश, हरियाणा, कर्नाटक र असामले पनि यस्तो कानुन ल्याउने बताइसकेका छन् । यी सबै राज्यमा हाल भाजपाको सरकार छ ।

आलोचकहरुले भने भारतको यो कानुन प्रतिगामी रहेको भन्दै आपत्ति जनाउँदै आएका छन् । धेरैले यो कानुनले दुव्र्यवहार र हिंसा बढाउने बताएका छन् । ‘लभ जिहाद’ भन्ने शब्द हिन्दू धर्म पक्षधरले मात्रै प्रयोग गर्दै आएका छन् । तर, अहिलेसम्म भारतीय कानुनमा भने यो शब्द समावेश भएको छैन ।

यद्यपि यो शब्द पछिल्लो केही महिनायता भारतमा निरन्तर चर्चामा छ । गत अक्टोबर महिनामा भारतको एक लोकप्रिय ज्वेलरी ब्राण्डले बनाएको एउटा भिडियो पनि व्यापक विरोधपछि हटाएको थियो । उक्त भिडियो ‘लभ जिहाद’ लाई प्रेरित गर्ने किसिमको रहेको भन्दै हिन्दू समूहहरुले विरोध गरेका थिए ।

त्यस्तै गत नोभेम्बर महिनामा नेटफ्लिक्समाथि त्यस्तै आरोप लागेको थियो । नेटफ्लिक्सको टेलिभिजन सिरिज अ स्वीटेबल ब्वायमा एक हिन्दू महिला र मुस्लिम पुरुषले मन्दिरमा चुम्बन गरिरहेको दृश्यको भारतमा विरोध भएको हो । भारतको मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले यसले धार्मिक आस्थामा चोट पु¥याएको भन्दै सिरिज निर्मातामाथि कानुनी कारबाही अघि बढाउन निर्देशन दिएका थिए ।

भारतको कानुनले के भन्छ ?

भारतको केही स्थानका उच्च अदालतले भने यो कानुनको विरुद्धमा आफ्नो फैसला सुनाइरहेका छन् । इलाहावादस्थित उच्च अदालतले कोसँग विवाह गर्ने भन्ने कुरा परिपक्व जोडीले आफैं तय गर्न सक्ने र यो उनीहरुको स्वतन्त्रताको विषय रहेको बताएको थियो ।

साथै अदालतले धर्म परिवर्तनकै लागि विवाह भएको हो वा होइन भनेर निर्क्यौल गर्न कानुनको अपूर्णता रहेको निष्कर्ष निकालेको थियो । ‘लभ जिहाद’को कानुनले व्यक्तिको स्वतन्त्रताको अधिकार खोस्ने मात्र नभई विविधतामा एकताको अवधारणालाई जोखिममा पार्ने अदालतले बताएको थियो ।

त्यस्तै दिल्लीको उच्च अदालतले पनि परिपक्व युवायुवतीले आफ्नो विवाहको निर्णय आफैं गर्न सक्ने र उनीहरुको स्वतन्त्रताको विषय रहेको बताएको थियो । कर्नाटकको उच्च अदालतले पनि बुधबार भारतको संविधान अन्तर्गत महिला र पुरुष दुवैलाई आफूले रोजेको मानिससँग विवाहको अधिकार दिएको उल्लेख गरिएको भन्दै ‘लभ जिहाद’ कानुनको विरुद्धमा फैसला सुनाएको छ ।

कर्नाटकको उच्च अदालतले दुई व्यक्तिको राजीखुसीमा भएको विवाहमा उनीहरुको धर्म वा जातको विषयलाई लिएर अनुचित हस्पक्षेप उचित नहुने बताएको छ ।

यसअघि सन् २०१८ मा भारतको सर्वोच्च अदालतले पनि कुनै पनि व्यक्तिलाई विवाह र सम्पत्तिको विषयमा आफ्नो निर्णय लिने अधिकार सुनिश्चित हुने फैसला सुनाएको थियो ।

पछिल्लो विरोध

केही दिनअघि भारतको उत्तर प्रदेशमा ‘लभ जिहाद’ कानुनअन्तर्गत एक मुस्लिम पुरुष पक्राउ परेका थिए । उनीमाथि एक महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराउन खोजेको आरोप थियो । त्यस्तै बुधबार पारिवारिक सहमतिमा हुन गइरहेको हिन्दू युवती र मुस्लिम युवकबीचको विवाह पनि प्रहरीले रोकेको थियो ।

वासिङ्टन पोस्टमा राना अयुब लेख्छिन्, ‘सन् २०१४ मा नरेन्द्र मोदीले राष्ट्रिय निर्वाचनमा जित हात पारेपछि उत्तर प्रदेशमा श्रृङ्खलाबद्ध रुपमा साम्प्रदायिक हिंसाका घटना घटिरहेका छन् ।

६० जना भन्दा धेरैको हत्या भएको छ, महिलाहरुको सामूहिक बलात्कार भएको छ र ५० हजारभन्दा धेरै मानिस विस्थापित भएका छन्, जसमध्ये अधिकांश मुस्लिम छन् ।’ यसबाट पनि भारतको उत्तर प्रदेशमा साम्प्रदायिक विभेदको अवस्था कस्तो छ भन्ने अनुमान गर्न सकिन्छ ।

स्रोत : विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment