Comments Add Comment

बारामा मन्दिरबाट स्वास्थ्य चौकीको सेवा

२१ मंसिर, वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी टोलस्थित पोखरी छेउमास्वास्थ्य चौकीको भवन भने जीर्ण अवस्थामा छ । ०७६ चैत ६ गते आएको हुरीले छानो उडाइदिएपछि यो भवन प्रयोगविहीन छ ।

बरु भवन नजिकैको शिवमन्दिरको एउटा कोठाबाट स्वास्थ्य सेवा दिने गरिएको छ । छानो उडाएको भवन मर्मतका लागि गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्षलगायत सरोकारवालाल  बेवास्ता गर्दा स्वास्थ्य सेवा पाउन मुश्लिक भएको स्थानीय धनेश्वर प्रसाद पटेल बताउँछन् ।

‘स्वास्थ्य चौकीको छानो उडाएपछि मन्दिरमा राखिएको छ । मन्दिर स्वास्थ्य चौकी भन्दा पछाडि छ । उपचारका लागि आउने मानिसहरुलाई देखाइदिने मान्छे समेत हुँदैन’ उनले भने ‘ मुखिया (गाउँपालिका अध्यक्ष), मन्त्री सबैले स्वास्थ्य चौकीको दुदर्शा देखेका छन् । कसैले बनाइदिएका छैनन् ।’

मन्दिरको कोठामा बिरामी अटाउने ठाउँसमेत छैन । ‘स्वास्थ्य चौकी जरुरी छ तर कसैले बनाएका छैनन्’ स्थानीय पटेलले भने, ‘छेउमै लाखौंको लागतमा सामुदायिक भवन बनिरहेको छ । जनताको स्वास्थ्य पहिलो प्राथमिकतामा हुनुपर्ने हो । कसैलाई मतलब नै छैन ।’

मन्‍दिर नजिकै एउटा सामुदायिक भवन बन्दैछ, जसमा प्रदेश सरकारले २० लाख रुपैयाँ लगानी गरेको छ ।

हावाहुरीले छानो उडाएलगत्तै गाउँपालिका अध्यक्ष हरिनारायण साहको नेतृत्वमा इन्जिनियरसहितको टोलीले स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गरेको थियो । उनीहरुले स्वास्थ्य चौकीको मर्मत गर्नुको साटो नयाँ बनाउने आश्वासन दिएर गएको स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेब हरिओम साह बताउँछन् ।

छानो उडाएको स्वास्थ्यचौकीको भवन ।

स्वास्थ्य चौकीमा सिनियर अहेब, २ जना हेल्थ असिस्टेन्ट र २ जना अनमी कार्यरत छन् । कार्यालय सहयोगी छैनन् । दुई वटा कोठामा सञ्चालित स्वास्थ्य चौकीको सेवा एकै कोठामा सीमित भएको छ । पाँच जना कर्मचारी अटाउने ठाउँसमेत छैन । सेवाग्राही आउँदा कसरी सेवा दिने ? स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु गुनासो गर्छन् । त्यसमाथि मन्दिरको छत पनि चुहिने छ । जसले गर्दा औषधीहरु जोगाउन समस्या परेको छ ।

धमिरा लागेर ३ सय सीसी सिटामोल, केही बोतल मेन्ट्रोन्डाजोल लगायत औषधी खेर गएको स्वास्थ्यकर्मीहरु बताउँछन् । गर्भवती जाँच गर्ने बेडमा नै औषधी राखिएको छ ।

हेल्थ असिस्टेन्ट गौतम रामले मन्दिरको कोठा एकदमै साँघुरो भएकोले सेवा प्रवाहमा समस्या भइरहेको सुनाए । ‘भुइँमा औषधी राख्दा धमिरा लाग्यो, औषधी खेर गयो । केही सुरक्षित हुन्छ कि भनेर गर्भवती जाँच गर्ने बेडमा नै औषधी राखेका छौं’ उनले भने ‘ओपीडी र अन्य सेवा एकै ठाउँबाट दिन साह्रै गाह्रो छ । परिवार नियोजन सेवा लिन आउनेहरुसँग कुराकानी गर्न, सुई लगाउनुपर्दा झनै समस्या हुन्छ ।’

रामेछापमा आफ्नै भवन र आवश्यक न्युनतम पूर्वाधार र प्रविधिको बन्दोबस्त भएको स्वास्थ्य चौकीमा काम गरेर आएका रामलाई यहाँ उकुसमुकुस भइरहेको छ ।

विशेष गरी गर्भवती सेवा प्रदान गर्न निकै कठिनाई भइरहेको अनमी सरिता पौडेल बताउँछिन् । ‘गर्भवती जाँच र फेमिलि प्लानिङसम्बन्धी सेवा दिनुपर्दा सरहरुलाई बाहिर पठाउनुपर्छ’ उनले भनिन् ।

सेवा प्रवाह गर्ने स्थान अप्ठ्यारोमा हुँदा जेष्ठ नागरिक, अपांगता भएकाहरु स्वास्थ्य सेवा लिन आउनै छोडेको स्वास्थ्यकर्मीहरु बताउँछन् । नजिकै अरु भवन नभएकाले स्वास्थ्य चौकी मन्दिरमा राख्नुपरेको गाउँपालिका अध्यक्ष हरिनारायण साह बताउँछन् । उनले चालु आर्थिक वर्षभित्र नयाँ स्वस्थ्य चौकी बनिसक्ने गरी काम भइरहेको दावी गरे ।

उनका अनुसार स्वास्थ्य चौकी निर्माणका लागि गत आर्थिक वर्षमा बजेट विनियोजन गरेको हो । तर कर्मचारी सरुवा भइरहँदा काम हुन नसकेको उनको भनाइ छ ।

‘यो वर्ष पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौं । पहिला बनेकै ठाउँमा नयाँ भवनको काम छिट्टै शुरु हुन्छ’ उनले भने ‘१९ लाख रुपैयाँ विनियोजन गरेका थियौं, नपुग्ला जस्तो देखिएको छ । जति पैसा लाग्छ पालिकाले व्यवस्थापन गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment