Comments Add Comment

बहराइन बन्यो फाइजरको कोरोना खोपलाई अनुमति दिने दोस्रो मुलुक

Photo Credit : Reuters

२१ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको अमेरिकी कम्पनी फाइजरले निर्माण गरेको खोपलाई अनुमति दिने बहराइन दोस्रो मुलुक बनेको छ । शुक्रबार बहराइनले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर फाइजरले बनाएको कोरोना खोपलाई अनुमति दिने निर्णय गरेको हो ।

यसअघि गत बुधबार बेलायतले उक्त कोरोना खोपलाई मान्यता दिएको थियो । बहराइनको राष्ट्रिय समाचार एजेन्सी बीएनएका अनुसार उच्च जोखिममा रहेका मानिसहरुलाई फाइजरको खोप प्रदान गरिनेछ । यद्यपि बहराइनले आफूले फाइजरबाट कति खोप खरिद गरेको भन्ने विषयमा भने कुनै जानकारी दिएको छैन । साथै मुलुकमा खोप कार्यक्रम कहिलेबाट सुरु हुन्छ भन्ने विषयमा पनि कुनै जानकारी दिइएको छैन । यस विषयमा गरिएको प्रश्नमा बहराइन तथा फाइजर दुवैले केही जानकारी दिएका छैनन् ।

बहराइनको लागि तत्कालको चुनौती फाइजरको खोपलाई आवश्यक पर्ने माइनस ८० डिग्रीको तापक्रम कायम गर्नु हुनेछ । बहराइनले यसअघि नै चिनियाँ कम्पनी सिनोफर्मले निर्माण गरेको खोपलाई आपतकालीनरुपमा प्रयोगको अनुमति दिइसकेको छ । सिनोफर्मका अनुसार बहराइनमा करिब ६ हजार मानिसले यो खोप लिइसकेका छन् ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment