Comments Add Comment

नयाँ परराष्ट्र नीति किन ?

हामीले लामो समयदेखि हाम्रो परराष्ट्र नीतिको एकीकृत दस्तावेज होस् भन्ने चाहना विभिन्न ढंगले प्रकट गर्दै आयौं। परराष्ट्र नीतिका विभिन्न तत्वहरु विभिन्न ठाउँमा छरिएर रहेका थिए । तर, हामीसँग नीति नै नभएको चाहिँ होइन ।

केही विषयहरु संविधानले निर्दिष्ट गर्दथ्यो, केही कुरा केही कानुन र अन्य नीतिमा थिए । जस्तो- राष्ट्रिय सुरक्षा नीतिलगायत अन्य नीतिमा यसका केही कम्पोनेन्टहरु थिए । सरकारको वार्षिक नीति र कार्यक्रम, वार्षिक बजेट र अरु विभिन्न माध्यमबाट पनि हाम्रो परराष्ट्र नीतिका केही कम्पोनेन्ट अभिव्यक्त थिए ।

सम्माननीय प्रधानमन्त्रीज्यूहरुबाट राष्ट्रसंघका महासभालगायत विभिन्न मञ्चहरुमा व्यक्त गर्ने आधिकारिक दृष्टिकोणहरु लगायतका माध्यमबाट हाम्रा नीतिहरु सञ्चालन गर्दै आयौं । तर, एउटै दस्तावेजमा वृहत रुपमा हामीले एकीकृत दस्तावेज निर्माण गर्न सकेका थिएनौं।

विगतमा भएका प्रयास

यससम्बन्धी प्रयासहरु विगतमा नभएका होइनन् । पञ्चायतकालमा हेर्दा राष्ट्रिय मूल नीति भन्ने दस्तावेज रहेछ, त्यसभित्र परराष्ट्र र सुरक्षाका विभिन्न कम्पोनेन्ट समेटिएको पाइन्छ ।

बहुदलीय व्यवस्थाको स्थापनासँगै यससम्बन्धी प्रयास भए । जस्तो- १९९० को परिवर्तनपछि उद्धवदेव भट्टको संयोकत्वमा एक कार्यदल बनाएर परिवर्तित अवस्थामा नेपालले कस्तो नीति अपनाउनुपर्छ भन्ने सम्बन्धमा सुझाव दिएको पाइन्छ । सन् २००६ को राजनीतिक परिवर्तनपछि मुरारिराज शर्माको नेतृत्वमा कार्यदल बनेको थियो र तत्कालीन परराष्ट्र तथा उपप्रधानमन्त्री केपी ओलीको पहलमा त्यो कार्यदलले काम गरेर प्रतिवेदन बुझाएको पाइन्छ ।

सन् २०१५ मा संविधान जारी भएपछि प्रोफेसर श्रीधर खत्रीको नेतृत्वमा एक कार्यदल बनेर प्रतिवेदन बनेको पाइन्छ । यद्यपि सो कार्यदलको प्रतिवेदनलाई क्याबिनेटले अपनत्व लिएको देखिँदैन । हरेक राजनीतिक टर्निङ प्वाइन्टपछि नेपालले एकीकृत दस्तावेज तयार पार्ने प्रयास गर्दै आएको छ ।

ती कार्यदलले असाध्यै राम्रो सुझाव दिएका छन् । हामी सबैलाई थाहा छ, अरु नीतिहरुको तुलनामा परराष्ट्र नीति सापेक्षितरुपले स्थिरखालको हुन्छ । कुनै पनि मुलुकको परराष्ट्र नीतिको मूल उद्देश्य भनेको राष्ट्रिय हितको प्रवर्द्धन गर्नु हो ।

के स्थिर, के गतिशील ?

राष्ट्रिय हित क्षण-क्षणमा परिवर्तन हुने कुरा होइन । त्यसकारण, जसरी राष्ट्रिय हित तुलनात्मकरुपमा स्थिर हुन्छ, त्यसलाई पूरा गर्न गरिने हाम्रा कन्डक्टहरुको संगालो परराष्ट्र नीति अन्य नीतिहरुभन्दा अलि स्थिर नै हुन्छ । तर, यसभित्र पनि स्थिर र डाइनामिक दुईवटै कम्पोनेन्टहरु हुन्छन् ।

स्थिर कुराहरुमा मुलुकको सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, स्वाभिमानको रक्षा, त्यो देशले लिने आधारभूत नीतिजस्तो नेपालको सन्दर्भमा भन्ने हो भने असंलग्न सिद्धान्त, मित्रताको नीति, शान्तिप्रतिको यसको अडिग प्रतिवद्धता लगायतका कुराहरु स्थिर नै रहन्छन् । तर, परराष्ट्र नीतिका केही कम्पोनेन्टहरु भने परिवर्तित पनि हुन्छन् ।

एउटा भूराजनीति अथवा विश्व राजनीतिमा परिवर्तन आयो भने त्यसअनुसार हरेक देशले आफ्ना नीतिहरुलाई एडजस्ट र एकोमोडेट गर्नुपर्ने हुन्छ, आफूलाई तद अनुरुप परिस्कृत र परिमार्जन गर्नुपर्ने हुन्छ । यो वाह्य परिवेशमा आउने परिवर्तनहरुले केही कुराहरुमा परिवर्तन गर्नुपर्ने हुन्छ ।

दोस्रो, भइरहेको सरकारको प्राथमिकतामा परिवर्तन आउँदा त्यो प्राथमिकतालाई सर्भ गर्ने विभिन्न कार्यनीतिहरुमा परिवर्तन आउन सक्छ । उदाहरणका लागि जतिबेला हामीकहाँ प्रजातन्त्र थिएन, प्रजातन्त्र हाम्रो प्राथमिकता हुँदा हाम्रा कतिपय विषय त्यसमा व्यक्त भइरहेका हुन्थे । शान्ति कायम गर्ने हाम्रो लक्ष्य भइरहेको समयमा शान्तिका पक्ष र संविधानका विषयले प्राथमिकता पाउँथे ।

अहिले हामीले प्राप्त गरेको स्थिरतालाई थप सुदृढ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने विषय छ र हाम्रो प्राथमिकता परिवर्तन आएको छ । हाम्रो प्राथमिकता सिफ्ट भएको हुनाले केही पक्षहरु व्यक्त हुनुपर्ने भएका कारणले केही नीतिमा परिवर्तन आउँछन् । यसरी परराष्ट्र नीतिका धेरै स्थिर र परिवर्तित पक्षहरुको समिश्रणको रुपमा हेर्न सक्छौं।

नयाँ दस्तावेजका आधारहरु

यसै हिसाबले वर्तमान सरकार आइसकेपछि परराष्ट्र नीति तर्जुमा गर्ने विषय उच्च प्राथमिकतामा थियो । हामीले तीनवटा कुरालाई यसको स्रोतका रुपमा लिएका छौं ।
पहिलो, यस अगाडि परराष्ट्र नीतिको सन्दर्भमा बनेका कार्यदलहरु र सुझावलाई महत्वपूर्ण सन्दर्भ सामग्रीका रुपमा लिएका छौं ।

दोस्रो, २०७६ को असारमा हामीले परराष्ट्र नीतिसम्बन्धी एक संवादको आयोजना गर्‍यांै । त्यसबाट आएका सुझावलाई हामीले अर्काे स्रोतका रुपमा लिएका छौं ।

तेस्रो, हामीले विभिन्न राजनीतिक दलका प्रतिवेदन अध्ययन र विभिन्न दस्तावेजहरुको अध्ययन गर्‍यांै । यी सबै विषयलाई समेटेर दस्तावेज तयार पारेका हौं ।

परराष्ट्र नीतिको ऐतिहासिक पृष्ठभूमि

अब हामीले हाम्रो परराष्ट्र नीति कसरी विकास गर्दै आयौं भन्ने सम्बन्धमा केही पृष्ठभूमिका बारेमा चर्चा गरौं ।

नेपालको परराष्ट्र नीतिका ३/४ वटा विकास क्रम छन् । पहिलो- गौतम वुद्धका टिचिङहरु रहेछन् । एउटा, उहाँले अहिंसामा जोड दिनुभयो । वुद्धभूमि हुनुका नाताले शान्तिप्रतिको हाम्रो प्रतिवद्धता पटक-पटक प्रकट भएको छ । जब कुनै पनि भुभागमा द्वन्द्व र अशान्ति हुन्छ, हामी द्वन्द्वको शिथिलीकरणको पक्षमा, विवादहरुको शान्तिपूर्ण रुपान्तरणको पक्षमा, आणविक र अन्य मास विध्वंशकारी हातहतियारलाई नियन्त्रण गर्ने पक्षमा उभिने गर्दछ । द्वन्द्व भएका ठाउँमा हामी शान्ति मिसनका रुपमा रहेका छौ ।

दोस्रो, पृथ्वीनारायण शाहले एक सन्दर्भमा नेपाललाई दुई ढुंगाको तरुल भन्नुभयो । आजको सन्दर्भमा त्यसका अर्थहरु विभिन्न हुन सक्छन् । तर, मेटाफोरलाई जस्ताको त्यस्तै बुझ्ने भन्दा पनि त्यसको लिनुपर्ने पक्ष भनेको हामी भुराजनीतिक रुपमा संवेदनशील अबस्थामा छौ । त्यो भएको हुनाले सन्तुलनको पक्ष, सबैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हिसाबले हामीले ध्यान दिनुपर्छ भन्ने एउटा महत्वपूर्ण निरन्तरताको रुपमा हामीले जोड दिनुपर्छ ।

तेस्रो, नेपाल वहुलताको विविधताको अनुपम भूमि हो । धेरै जनजाती र विविधताको विचमा पनि हामी हारमोनीको रहेका छौ । यसलाई अलिक म्याक्रो रुपमा हेर्दा विश्व पनि यस्तै होस भन्ने चाहान्छौ । शान्तिपूर्ण ढंगले सबै सहअस्तीत्वमा रहनुपर्छ । कसैले पनि आफ्ना पक्षहरुलाई इम्पोज गर्नुहुन्न ।

परराष्ट्र नीतिका चुनौती

यसवीचमा हाम्रा विभिन्न चुनौतीहरु रहेका छन् । चुनौतीको कुरा गर्दा अहिलेको विश्व व्यवस्था एकदमै तरल, भविश्यवाणी गर्न नसकिने खालको छ । एउटा ग्लोबल अर्डर थियो, त्यसमा हाम्रा विषय म्याच गर्थे, गर्दैनथे, त्यो आफ्नो ठाउँमा थियो । तर, कहीँ न कहीँ एक अर्डरले काम गरिरहेको थियो । अहिले त्यो अर्डर कहीँ न कहीँ खल्बलिएको अवस्था छ । हाम्रोजस्तो मुलुकका लागि यो एउटा चुनौती हो ।

नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षाको प्रश्नको छ र केही टुंग्याउन बाँकी छ, त्यसलाई पनि हामीले चुनौतीका रुपमा लिएका छौं। हामी सीमाको मामिलामा सबै राजनीतिक दलहरु एकै ठाउँमा आयौं । तर, अहिले पनि परराष्ट्र्र नीति सञ्चालन र इन्गेजमेन्टको सवालमा मल्टिपल सेन्टरहरु भएको जस्तो देखिएको छ, जुन चुनौतीका रुपमा रहेका छन् । यसबाहेक साना र अल्पविकसित मुलुकका अन्य चुनौतीहरु रहेका छन् । हाम्रोजस्ता मुलुकहरुका लागि नियममा आधारित अन्तराष्ट्रिय प्रणाली नै चाहिन्छ ।

(परराष्ट्रमन्त्री ज्ञवालीद्वारा आइतबार नयाँ परराष्ट्र नीति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा व्यक्त गरेको विचारको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment