Comments Add Comment

भक्तपुर कार दुर्घटना : छोरीको हत्या आशंका गर्दै आमाले दिइन् जाहेरी

२१ मंसिर, काठमाडौं । भक्तपुरमा गएराति पौने १ बजे भएको कार दुर्घटनामा ज्यान गुमाएकी ३० वर्षीया रिया श्रेष्ठको परिवारले उनको हत्या भएको आशंका गरेको छ । सवारी चालक लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीविरुद्ध आमा सम्झनाले हत्या आशंका गर्दै किटानी जाहेरी दिएकी हुन् ।

महानगरीय प्रहरी वृत्त, ठिमीका डीएसपी ऋषिराम कँडेलले जाहेरी प्राप्त भएको पुष्टि गर्दै अनुसन्धान थालिएको अनलाइनखबरलाई बताए । उनका अनुसार नियतवश छोरी रियालाई दुर्घटनामा पारिएको उल्लेख गर्दै सवारी ज्यानसम्बन्धी कसूरमा जाहेरीमा दिइएको छ ।

मध्यराति बा ८ च ४७५६ नम्बरको कार प्रवीण पेट्रोल पम्प अगाडि दुर्घटना हुँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो भने कार्की सामान्य घाइते छन् । पछाडि सवार २६ वर्षीय विजय देउजाको हात र कानमा चोट लागेको छ भने सुदीप थापाको अवस्था पनि सामान्य छ ।

कारको अगाडिपट्टीको भाग फलामको बार भएको पोलमा ठोक्किएर ६० फिटसम्म क्षति पुर्‍याएको छ । यत्रो दुर्घटना हुँदा अरुलाई केही नहुनु शंकास्पद भएको परिवारको दाबी छ ।

अनुसन्धान अधिकृतहरु भने कार्कीले घटनापछि युवतीलाई उठाएर सर्भिस ट्र्याकमा ल्याएर राखेको पाइएको छ । तर, मृत्यु भइसकेको थाहा पाएपछि उनीहरु भागेका थिए ।

अधिकृतहरुका अनुसार हालसम्मको अनुसन्धानबाट दुर्घटनामा शंकास्पद विषय फेला परेको छैन । उनीहरुका अनुसार युवतीले सिट बेल्ट नलगाएका कारण उछिट्टिएर अगाडि पुगेको हुनसक्ने देखिएको छ ।

‘पछाडि बस्नेलाई केही भएन, मुख्य क्षति युवती बसेकै साइडतिर देखिन्छ’, अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन्, ‘चालकले चाहिँ बेल्ट लगाएका रहेछन् ।’

हाल चालक कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । युवतीको शवलाई पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज, दुवाकोट लगिएको छ ।

नगरकोटबाट फर्किँदा दुर्घटना

स्रोतका अनुसार रञ्जित र रिया नगरकोट गएर फर्किएको पाइएको छ । घर फर्किइसकेपछि राधेराधेबाट देउजा र थापाले बोलाएपछि उनीहरु लिन गएका थिए । त्यसक्रममा फर्किँदा दुर्घटना भएको कार्कीको बयान छ ।

उनले कार तीब्र गतिमा रहेको जस्तो लागेपछि मिटरमा हेर्दा अचानक अगाडि गाईको बाच्छा देखेको बताएका छन्, जसलाई जोगाउन खोज्दा डिभाइडरमा ठोक्किएको कार्कीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment