Comments Add Comment
प्रिमियर लिग :

वल्भ्सको पोष्टमा लिभरपुलको चार गोल, टोटनहमले आर्सनललाई हरायो

२२ मंसिर, काठमाडौं । साविक विजेता लिभरपुल, टोटनहम र लेस्टर सिटीले प्रिमियर लिगको पछिल्लो खेलमा जित हात पारेका छन् । गएराति भएको खेलमा लिभरपुलले वल्भ्समाथि ४-० को शानार जित हात पार्दा लण्डन डर्बीमा टोटनहम हट्सपरले आर्सनललाई २-० ले हरायो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि हम्मद सालाह, जर्जिनिओ विज्नाल्डम र जोएल मातिपले समान एक गोल गरे भने एक गोल उपहार पाएको थियो ।

खेलको २४ औं मिनेटमा सालाहले गोल गर्दै अग्रता दिलाएको लिभरपुलको लागि विज्नाल्डमले ५८ औं मिनेटमा अग्रता दोब्बर पारे । ६७औं मिनेटमा मातिपले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए । ७८ औं मिनेटमा वल्भ्सका नेल्सन सेमेडोले आत्मघाती गोल गरेपछि लिभरपुलले ४-० को जित हात पारेको हो ।

यस सिजन लिभरपुलको यो सातौं जित हो ।

यस्तै टोटनहमले पनि लिगको सातौ जित हात पार्ने क्रममै घरेलु मैदानमा आर्सनललाई हरायो । टोटनहमले दुवै गोल पहिलो हाफमा गरेको थियो । १३औं मिनेटमा हेउन मिनस सनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा ह्यारी केनले टोटनहमको अग्रता दोब्बर पारेका थिए ।

जितपछि लिभरपुल र टोटनहमले ११ खेलबाट समान २४ अंक जोडेका छन् । तर गोलअन्तरमा टोटनहम अगाडि रहँदै शीर्ष स्थानमा छ भने लिभरपुल दोस्रो स्थानमा छ । समान खेलबाट २२ अंक रहेको चेल्सी तेस्रो स्थानमा झरेको छ ।

यस्तै अर्को खेलमा सेफिल्ड युनाइटेडलाई २-१ ले पराजित गर्दै लेस्टर सिटी चौथो स्थानमा उक्लेको छ । सेफिल्डको मैदानमा भएको खेलमा जेमी भार्डीले ९० औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसअघि बयोज पेरेजले २४औं मिनेटमा गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए भने २६ औं मिनेटमा ओलिभ म्याक बर्नीले सेफिल्डका लागि बराबरी गोल गरेका थिए ।

जितपछि ११ खेलबाट २१ अंक जोड्दै लेस्टरले म्याचेष्टर युनाइटेडलाई पछि पार्दै चौथो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको युनाइटेड १९ अंकसहित पाँचौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment