Comments Add Comment

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

२२ मंसिर, काठमाडौं । काभ्रे, काठमाडौं, झापा र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

काभ्रेको बनेपा नगरपालिका–६ स्थित नयाँ तरकारी बजारमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना १२ प ७४२९ र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २ ०१७ प २७०८ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ६ बजे आपसमा ठोकिएका थिए ।

दुर्घटनामा २७०८ नम्बरको मोटरसाइकलमा पछाडि सवार चौतारा–६ सिन्धुपाल्चोकका २८ वर्षीय हरिकृष्ण बस्नेत र ७४२९ नम्बरको मोटरसाइकलका चालक काभ्रेको धुलिखेल नगरपालिका ६ का ३० वर्षीय सत्यमान तामाङको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी काठमाडौंको नयाँबानेश्वरमा आइतबार दिउँसो मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा गएराति मृत्यु भएको छ ।

बजे बा ६१ प ८४१० नम्बरको मोटरसाइकलले बाटो पार गर्दै गरेका काठमाडौं आलोकनगर बस्ने ७० वर्षीय लोकनाथ धिताललाई आइतबार दिउँसो ३ ठक्कर दिएको थियो । उनको उपचारको क्रममा गएराति पौने १० बजे बानेश्वरस्थित सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलसहित चालकलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको छ ।

यसैगरी चितवनको खैरहनी नगरपालिका १ मा आइतबार बेलुकी । ग १ च ९७२१ नम्बरको स्करपियो जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । जिपले विपरीत दिशाबाट आउँदै गरेको ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा खैरहनी नगरपालिका ७ का ३५ वर्षीय विजेन्द्र चौधरीको मृत्यु भएको हो ।

चौधरीलाई जिल्ला अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।

यसैगरी झापाको दमक नगरपालिका ४ कृष्ण मन्दिर नजिकै सोमबार बिहान करिब दुई बजेतिर नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment