
२२ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीलाई भवनलगायतका विभिन्न संरचना बनाउन १० करोड रुपैयाँ दिएको छ ।
भवन निर्माण, पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठान र प्रहरी तालिम केन्द्रलगायत विभिन्न संरचना निर्माणका लागि कुल ९ करोड ९३ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
भवन निर्माण र पर्वतीय प्रदेश प्रहरी प्रतिष्ठानका लागि ३ करोड ९३ लाख, प्रहरी संरचना निर्माणका लागि ५ करोड र प्रहरी तालिम केन्द्र निर्माणका लागि १ करोड खर्च गर्ने अख्तियारी दिएको हो ।
उच्च हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई तालिम दिने उद्देश्यले पर्वतीय प्रहरी प्रतिष्ठान निर्माण गर्न लागिएको प्रदेश सरकारका प्रवक्ता एवंम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले बताइन् ।
मंसिर १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजानिक गर्दै मन्त्री केसीले प्रदेश प्रहरी गठन भएपछि प्रतिष्ठानले कर्णालीका उच्च हिमाली क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई तालिम दिने बताइन् ।
बजेट र जग्गा अभावका कारण कर्णालीका एकसय २४ वटा प्रहरी युनिट भाडाको भवनमा बस्दै आएका छन् ।
संरचना निर्माणका लागि जग्गा अभावका कारण कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, संघीय प्रहरी इकाइ कार्यालय, दंगा नियन्त्रण गण र कुकुर शाखा लुम्बिनी प्रदेशको नेपालगञ्जबाटै सञ्चालिन हुँदै आएका छन् ।
प्रदेश सरकारले प्राकृतिक विपद्का घटनाबाट मृत्यु भएका परिवारका सदस्यलाई प्रति परिवार २ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको स्वीकृत बजेट अन्तर्गतको दुर्घटना उद्धार कार्यक्रम संशोधन गरेर राहत रकम दिने निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिइन् ।
प्रदेशमा विभिन्न समयमा आगलागी तथा बाढी पहिरोजस्तो प्राकृतिक विपद्बाट ज्यान गुमाएका परिवारलाई राहत रकम उपलब्ध गराइने छ ।
उक्त राहत रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मृतकको यकीन गरेर दोहोरो नपर्ने गरी राहत सुविधा उपलव्ध गराउने छन् ।
प्रतिक्रिया 4