Comments Add Comment

डलरको दबदबालाई काउन्टर दिन डिजिटल मुद्रालाई हतियार बनाउँदै चीन

२२ मंसिर, काठमाडौं । विश्व वित्तीय क्षेत्रमा यतिबेला अमेरिकी डलरको दबदबा छ । विश्वका अधिकांश मुलुकले अमेरिकी डलरमा अन्तर्राष्ट्रिय कारोबार गर्छन् । तर, चीन विश्वका वित्तीय क्षेत्रमा रहेको अमेरिकाको एकाधिकार तोड्न चाहन्छ ।

साथै, विश्व वित्तीय बजारमा आफ्नो मुद्राको नियन्त्रण कायम गर्न चाहन्छ । यी दुवै योजनामा चीनको डिजिटल मुद्राले महत्वपूर्ण सहयोग गर्ने धेरैको बुझाई छ ।

केही वर्षको तयारीपछि चीनले आफ्नो महत्वाकांक्षी डिजिटल मुद्राको परीक्षण सुरु गरेको छ । चीनले यसवर्षको सुरुवातमा थालनी गरेको परीक्षण अहिले चीनको चार सहरमा चलिरहेको छ ।

अहिलेसम्म यी सहरहरुमा यो मुद्राको समग्र कारोबार दुई अर्ब युआन (३० करोड डलर) नाघिसकेको छ । यो कार्यक्रम राष्ट्रव्यापीरुपमा फैलिए चीन राष्ट्रिय डिजिटल मुद्राको कारोबार गर्ने सबैभन्दा ठूलो अर्थतन्त्र बन्नेछ । यसले युरोपेली केन्द्रीय बैंकले ल्याउँदै गरेको युरोको डिजिटल भर्सनलाई पछि पार्नेछ ।

चीनले आफ्नो डिजिटल युआनको माध्यमबाट कारोबार गर्नु निकै सहज र सुरक्षित हुने बताउँदै आएको छ । अधिकारीहरुका अनुसार यसले बैंकको खाता र परम्परागत वित्तीय सेवामा पहुँच नभएका मानिसहरुलाई पनि सहयोग गर्नेछ ।

चीन नगदरहित अवस्थामा पुगिसकेको छ अर्थात् उसको अधिकांश कारोबार डिजिटल माध्यमबाट हुने गर्छ । त्यसका लागि उनीहरुले राज्यको स्वामित्वमा रहेका एप तथा प्लेटफर्मको प्रयोग गर्दै आएका छन् ।

आधिकारिक डिजिटल युआनले उनीहरुको कारोबारको तरिका परिवर्तन गर्नेछ । साथै यसले चीन सरकारलाई मानिसहरुले कसरी कहाँ पैसा खर्च गर्दैछन् भन्ने कुराको उल्लेख्य सूचनाहरु जान्छ । साथै, मानिसहरुले कुन क्षेत्रमा पैसा खर्च गर्दैछन् भन्ने कुराको जानकारी पनि चीनले पाउन सक्छ । जुन, सबैभन्दा पहिला डिजिटल मुद्रा आउँदाको अवधारणासँग बाझिन्छ । बिटक्वाइन तथा अन्य डिजिटल मुद्राहरु विकेन्द्रित ब्लकचेन प्रणालीमा आधारित छन्, जसको कारण कुनै व्यक्ति तथा संस्थाले यसमा नियन्त्रण राख्न सक्दैनन् ।

‘आवश्यक परेको समयमा डिजिटल युआनले सरकारलाई अर्थतन्त्र र समाजमाथिको निगरानी बढाउनमा सहयोग गर्छ’, युनिभर्सिटी अफ साउथ क्यारोलिना ऐकनका प्राध्यापक फ्रान्क सिई बताउँछन्, ‘यसले नियामकको केन्द्रीकरणलाई बढावा दिन्छ । सरकारले दृढताका साथ यो कार्यक्रम ल्याउनुको मुख्य कारण यही हुन सक्छन ।’

चिनियाँ नियामकहरुले डिजिटल युआनको योजना अमेरिकी डलरको एकाधिकारको अन्त्य गर्ने र युआनको प्रभाव अन्तर्राष्ट्रिय मञ्चमा बढाउने उद्देश्यका साथमा ल्याइएको बताइरहेका छन् ।

यद्यपि नयाँ मुद्रा बजारमा ल्याउँदा चीनले धेरै किसिमको चुनौतीहरुको सामना भने गर्नुपर्नेछ । साथै, विश्लेषकहरुले यसले अमेरिकी डलरलाई चुनौती दिने सम्भावना पनि निकै न्यून रहेको बताउँछन् । त्यस्तै वित्तीय प्रणालीमा नियन्त्रण कायम गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको इच्छा पनि विश्वव्यापी मुद्रा बनाउनको लागि अर्को अवरोध हो ।

लयमा डिजिटल मुद्रा

चिनियाँ केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाका अनुसार डिजिटल मुद्रा निर्माणको काम सन् २०१४ देखि सुरु भएको हो । यो परियोजना कार्यान्वयनमा आउनुभन्दा अघि अधिकारीहरुले यसमा ६ वर्ष काम गरेका छन् । यस वर्ष चीनले शेन्जेन, सुझोउ, चेन्दु र साओङगान सहरमा यो मुद्राको परीक्षण सुरु गरेको हो ।

क्रिप्टोकरेन्सीमा जस्तै डिजिटल युआनमा पनि ब्लकचेन प्रणालीका केही तत्वहरु समावेश गरिएको छ । प्रत्येक डिजिटल कारोबारको रेकर्ड हुन्छ र कारोबार गरेको पत्ता लगाउन सकिन्छ । चीनको केन्द्रीय बैंकका गभर्नर फान यिफेईका अनुसार अहिले सञ्चालनमा रहेका केही नगदसँग पनि यो मुद्रा साट्न सकिन्छ ।

डिजिटल मुद्राको विकासको अन्य उद्देश्यहरु पनि छन् । सजिलै पत्ता लगाउन सकिने युआनको सहयोगमा मौद्रिक आपूर्ति व्यवस्थापन गर्ने चीनको योजना छ । यसले चीनको निजी प्रविधि कम्पनी र उनीहरुले डिजिटल भुक्तानी प्रणालीको प्रभाव कम गर्न पनि सहयोग पुग्छ ।

वास्तवमा चीनको केन्द्रीय बैंकले उल्लेखित योजनाका लागि डिजिटल मुद्रा ल्याउने योजना बनाएको भने होइन । चीनले तीव्र गतिमा बढ्दे डिजिटल प्रविधिबाट जोखिम महसुस गरेसँगै यो मुद्राको अवधारणा सार्वजनिक गरेको हो । चीनको एन्ट ग्रुपको अलिपे र टेन्सेन्टको वीच्याट पेको सेवा पछिल्लो दशकमा उल्लेख्यरुपमा वृद्धि भएको छ ।

यी निजी कम्पनीहरुले चीनको डिजिटल कारोबारको अधिकांश हिस्सा ओगट्ने गरेका छन् । यसले भने चिनियाँ केन्द्रीय बैंकको ध्यान यतातर्फ मोडिएको हो ।

उदाहरणको लागि सन् २०१३ मा अलि पेले ‘मनी मार्केट फण्ड’ कार्यक्रम ल्याएको थियो । यो कार्यक्रम यति धेरै लोकप्रिय बन्यो कि नियामकले नै कम्पनीलाई उक्त कार्यक्रमको आकार सीमित पार्न आग्रह गरे ।

यो प्रणालीमा देखिन सक्ने जोखिम उनीहरुको मुख्य चिन्ताको विषय थियो । यदि उक्त बृहत् कोष कुनै कारण असफल भएको खण्डमा त्यसले चिनियाँ अर्थतन्त्रमा ठूलो नोक्सानी पुर्‍याउने थियो ।

चीनलाई लामो समयदेखि नै केन्द्रीय बैंकको अधीनमा रहेर प्रविधि कम्पनीहरुले डिजिटल मुद्रामा लगाएको एकाधिकार र उनीहरुले वित्तीय प्रणालीमा पारेको असरप्रति चासो रहँदै आएको स्वीस बैंकका एसिया लगानी रणनीतिविद् एन्थोनी चाङ बताउँछन् ।

गत महिना चीनले एन्ट ग्रुपको आईपीओ रोक्ने निर्णय गर्‍यो । जसको कारण थियो, उक्त ग्रुपका प्रमुख ज्याक मासँग पछिल्लो समय सरकारको राम्रो सम्बन्ध नरहनृु । यो चिनियाँ बजारमा सरकारको समन्वयविना कोही पनि अत्यधिक शक्तिशाली बन्न सक्दैन भन्ने उदाहरण रहेको जानकारहरु बताउँछन् ।

निगरानी झन् बढ्ने

चीन आफ्नो मुद्रा मुलुकभन्दा बाहिर नजाओस् भन्नेमा विशेष सतर्क छ । चिनियाँ कम्युनिस्ट पार्टीले स्थायित्व र राजनीति नियन्त्रण कायम राख्दै चीनको आर्थिक, वित्तीय र सामाजिक प्रणालीमा ठूलो नियन्त्रण कायम राखेको छ । साथै, उसले मुलुकलाई एसिया र समग्र विश्वमा देखिएको ठूलो वित्तीय संकटबाट पनि बचाउने रणनीतिहरु अघि सार्दै आएको छ । यस्तोमा डिजिटल युआनले उनीहरुलाई पुँजीगत लगानीको लागि थप सहज हुने जानकारहरुको भनाइ छ ।

गत वर्ष चीनबाट अवैधानिक बाटो हुँदै उल्लेख्य रकम बाहिरिएको थियो । अमेरिकासँगको व्यापार युद्धको अवस्थामा चीनले यो समस्याको सामना गरेको हो । साउथ क्यारोलिना युनभिर्सिटीका प्राध्यापक सीईका अनुसार चीनको लागि डिजिटल मुद्रा मुलुकको निगरानीको लागि ‘अन्तिम टुक्रा’ हो । चीनले यसअघि नै उल्लेख्य मात्रामा फेस रिकग्निसन र क्यामेराजस्ता प्रविधिको माध्यमबाट आफ्ना नागरिकहरुमाथि निगरानी राख्दै आएको छ । जसको सहयोगमा उसले आफ्ना नागरिकको सूचना पनि संकलन गरिरहेको छ ।

चीनको केन्द्रीय बैंकले आफ्नो डिजिटल मुद्रालाई ‘नियन्त्रणयोग्य अज्ञात’को संज्ञा दिएको छ । यसको अर्थ कारोबार गर्नेमध्ये दुवैलाई आफूले कोसँग कारोबार गर्दैछु भन्ने थाहा नभए पनि केन्द्रीय बैंकसँग भने उनीहरु दुवैको निजी विवरणहरु हुनेछ ।

केन्द्रीय बैंकको डिजिटल मुद्रा नगद जस्तो गोप्य नहुने स्पष्ट देखिन्छ । यसको फिचर्सहरु हेर्ने हो भने मानिसहरुको मुद्रा प्रयोगलाई केन्द्रीय बैंकले प्रत्यक्षरुपमा निगरानी राख्न सक्छ ।

यो मुद्दामा घेरिएको मुलुक चीनमात्र भने होइन । युरोपेली केन्द्रीय बैंकले पनि अन्त्यमा डिजिटल मुद्रा केन्दीय बैंककै नियन्त्रणमा रहनुपर्नेमा जोड दिएको छ । अर्को विकल्प सबै कारोबार केन्द्रीय बैंकको लेजरमा रहने गरी यसलाई नियन्त्रण गर्ने रहेको छ ।

युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टिन लागार्डले यति छिटै डिजिटल मुद्रामा अघि बढ्न नहुने बताएकी छिन् । प्रयोगकर्ताको गोपनीयता मुख्य विषय रहेको भन्दै उनले यो योजनालाई छिटै अघि बढाउनु उचित नहुने उनको भनाइ छ ।

महत्वाकांक्षी योजना, प्रशस्त चुनौती

चीनको डिजिटल मुद्राले मुलुकलाई अन्य आर्थिक जोखिम समाधानको लागि पनि सहयोग पुग्नेछ । विशेषगरी अमेरिकासँगको विवादमा उसलाई केही सहयोग पुग्न सक्छ । यदि चिनियाँ बैंकहरुलाई अमेरिकाले स्वीफ्टको प्रयोगमा रोक लगाएको अवस्थामा चीनको नयाँ योजना महत्वपूर्ण हुन सक्छ । स्वीफ्ट यस्तो म्यासेजिङ सेवा हो, जसले विश्वभरका बैंकिङ प्रणालीमा पैसा पठाउन र पाउन सकिन्छ । यदि डिजिटल युआनको प्रयोग गर्ने हो भने कुनै पनि व्यक्ति वा संस्थाले सजिलै अन्तर्राष्ट्रियरुपमा कारोबार गर्न सक्छन् ।

यद्यपि चीनको यो महत्वाकांक्षी योजना कार्यान्वयन भने त्यति सहज छैन । विश्वभर हुने कारोबारको हिस्सा हेर्ने हो भने पनि युआनको हिस्सा निकै कम छ, जबकी अमेरिकी डलरको हिस्सा सबैभन्दा बढी छ । यस्तोमा समग्र डलरको बजार खोस्नु चीनका लागि पक्कै पनि सहज छैन ।

त्यति मात्र होइन सबै चिनियाँ प्रयोगकर्ताले पनि डिजिटल युआनको प्रयोग गर्छन् भन्ने छैन । किनकी उनीहरुमध्ये अधिकांशले अहिले अहिलेकै प्रणालीमा आधारित डिजिटल कारोबार गर्दै आएका छन् । उनीहरुले नयाँ मुद्रामा जान नचाहन पनि सक्छन् ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment