Comments Add Comment

पोखरेलको एआईजी बढुवा सिफारिसविरुद्ध संसदीय समितिमा उजुरी

२२ मंसिर, काठमाडौं । गृह मन्त्रालयले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न १५ मंसिरमा सिफारिस गरेको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबावमा विश्वराजलाई ब्याचबाट एकल बढुवा गर्दै महानिरीक्षक बन्ने प्रतिष्पर्धा अन्त्य गरिएको भन्दै समितिमा उजुरी परेको हो ।

समितिका एक सांसदका अनुसार उजुरीमा डेढ वर्ष अघि नै भावी आईजीपीको टुंगो लगाएपछि अन्य प्रतिष्पर्धी डीआईजीको मनोबल खस्किने भएकाले पनि यो उपयुक्त नभएको भनिएको छ ।

उनका अनुसार समितिले यो विषयमा छलफल राख्ने तयारीसमेत गरेको छ । विश्वराजलाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको स्थान सुरक्षित गर्ने गरी उपप्रधानमन्त्री पोखरेलको दबाबमा २७ कात्तिकमा प्रहरीमा एआईजीको एउटा दरबन्दी थपिएको थियो ।

यो निर्णयमा प्रहरी प्रधान कार्यालयसमेत असन्तुष्ट छ । यस विषयमा पोखरेलका समकक्षी डीआईजीहरुले समेत गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव न्यौपाने र महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग गुनासो राखिसकेका छन् ।

पोखरेल निकट अधिकृतहरुले नेपाली सेनामा झैँ सरकारले पहिल्यै भावी नेतृत्व तय गरेको तर्क गरे पनि प्रहरीको संरचना, कार्यक्षेत्र र सञ्चालन प्रणाली सेनाझैँ नभएकाले यहाँ त्यो तर्क गर्न नमिल्ने प्रतिष्पर्धीहरुको धारणा छ ।

पोखरेलले सरकारले जसलाई उपयुक्त देख्यो, उसलाई अघि बढाएर भावी नेतृत्वको तयार गर्नु संगठनका लागि फाइदाजनक हुने निकटस्थहरुसँग बताउने गरेका छन् । प्रहरी प्रधान कार्यालयभित्र भने पोखरेललाई आगामी चुनावमा सहयोग हुने गरी सरकारले अघि बढाएको चर्चा हुने गरेको छ ।

यो पनि पढ्नुहोस प्रहरीमा राजनीतिक हस्तक्षेप : मोतीलालदेखि विश्वराजसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment