
२२ मंसिर, काठमाडौं । दरबारमार्ग सामूहिक बलात्कार घटनाका दोषीलाई जिल्ला अदालत काठमाडौंले सुनाएको कारबाहीको फैसलालाई उच्च अदालत पाटनले पनि सदर गरेको छ ।
दरबारमार्गको ल्याण्डमार्क होटलमा एक युवतीमाथि रामेछापका शैलेश कार्कीसहित ३ जनाले गरेको सामूहिक बलात्कारको घटनामा जिल्ला अदालत काठमाडौंले कार्कीविरुद्ध २०७६ कात्तिक २७ गते ५ वर्ष कैद र पीडित युवतीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । त्यस्तै काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौचनलाई १४ महिना कैद सजाय सुनाएको थियो ।
जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत गएका उनीहरुको मुद्धामा उच्च अदालतका न्यायाधीश कुमार चुडाल र किरण पौडेलको इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गरेको हो ।
कार्कीले पीडित युवती आफ्नो प्रेमिका भएको बताएका थिए । २०७४ माघ ७ गते युवतीलाई होटलमा बोलाएर कार्कीले आफ्ना साथीहरु पनि बोलाएका थिए । त्यस दिन कार्की र उनका साथीहरुबाट युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
प्रतिक्रिया 4