Comments Add Comment
मिस नेपाल २०२० सँग अन्तरंग :

नम्रताको संघर्ष : मन्टेश्वरी शिक्षिकादेखि मिस नेपालसम्म

'आफ्नो जीवन सरल बनाउनु छ भने बच्चाहरुसँग समय बिताउनुस्'

२२ मंसिर, काठमाडौं । ‘मिस नेपाल बन्ने मेरो सानैदेखिको सपना थियो क्या…’ गर्विलो मुस्कानसहित नम्रता श्रेष्ठले आफ्ना ओठ चलाइन् । ‘नेपाल सुन्दरी’ को ताज पहिरिएको पर्सिपल्ट उनी कोपुण्डोलस्थित हिडेन ट्रेजरको कार्यालयमा सोमबार दिउँसो हामीसँग गफिँदै छिन् ।

कालो लेदर ज्याकेट, जिन्स पाइन्ट र हाइहिलमा सजिएकी उनले कालो-लामो कपाललाई यत्तिकै खुला छोडिदिएकी थिइन् । आम युवतीहरुभन्दा फरक देखिन्नथिइन् । अटुटरुपमा पोखिएको औपचारिक मुस्कानले मात्र ‘मिस नेपाल’को जनाउ दिइरहेको थियो । पहिलोपटक अन्तरवार्ता भए पनि आत्मविश्वासको कमी थिएन ।

हामीले उनको ‘माइन्ड चेक’ गर्न सुरुमै सोध्यौं, ‘कुनै त्यस्तो प्रश्न छ, जुन हामीले नसोधे हुन्थ्यो भन्ने चाहनुहुन्छ ?’

‘त्यस्तो त केही छैन, तर…’ उनले नअक्मकाइकन भनिन्, ‘जीकेसम्वन्धी प्रश्नहरुसँग चाहिँ अलि डर लाग्छ ।’

डर नलागोस् पनि किन ? पछिल्ला दिनमा एकपछि अर्का सेलिबि्रटीहरु सामान्य ज्ञानको प्रश्नोत्तरमा चिप्लिँदा ट्रोलको शिकार बनिरहेका छन् । नम्रता आफ्नो ‘सामान्य ज्ञान’ कमजोर छ भनेर होइन कि तथ्यमा चुकिएला भनेर डराएकी रहिछन् । यद्यपि, हामीलाई पनि उनीसँग लोकसेवाको परीक्षा लिनु थिएन ।

‘तपाईंलाई आफूमा के चिज छ भन्ने लाग्थ्यो, जसले गर्दा सानैदेखि मिस नेपालको सपना देख्न थाल्नुभयो ?’ एउटा मामूली प्रश्न तेस्र्याइयो ।

‘अँ… ममा सानैदेखि एउटा खुबी के थियो भने,’ उनले हौसिएर भनिन्, ‘म आफ्नो हाउभाउ र बोलिबचनले मानिसहरुलाई प्रभावित तुल्याउन सक्थेँ, गाइड गर्न सक्थेँ ।’

थपिन्, ‘म फेरि एकदम धेरै सोच्ने मान्छे क्या ! अनि मिस नेपालमा पनि ‘ओपिनियन म्याटर्स’ नि त ! एउटा लिडर खोज्नुभएको हो नि त उहाँहरुले । त्यो मान्छेहरुलाई गाइड गर्ने क्वालिटी ममा छ जस्तो लाग्थ्यो । त्यही भएर त टिचिङमा आएको नि ।’

(तपाईंको जानकारीका लागि नम्रता एक लाइसेन्सप्राप्त मन्टेश्वरी शिक्षिका हुन् । यो प्रसंगमा पछि आउनेछौं ।)

***

नम्रताले आफ्नो सानैदेखिको सपना साकार गर्ने पहिलो प्रयास चार वर्षअघि गरेकी थिइन् । सन् २०१६ को मिस नेपालमा भाग लिएर उनी टप ५ सम्मै पुगेकी हुन् । तर, उपाधिबाट भने चुकिन् ।

त्योबेला ताज जित्न नसक्नुका कारण खोतल्दै भन्छिन्, ‘अलि हतारमा भाग लिएकी थिएँ । उमेरको हिसाबले पनि अलि अपरिपक्व नै थिएँ क्या ! जीवनमा दुःख गरेको पनि कुनै अनुभव थिएन । मान्छेहरुसँग डिल गर्न जान्दिनथेँ ।’

त्यसबेला टे्रनिङका क्रममा नै आफू मिस नेपाल बन्दिनँ भने उनलाई ‘फिल’ आइसकेको थियो रे । तर, अन्तिम चरणसम्म पुग्छु भन्ने चाहिँ सोचेकी थिइन् ।

‘कथंकदाचित जितेको भए पनि म हाम्रो देशलाई सही तवरले प्रतिनिधित्व गर्न सक्थिनँ होला, किनकि ममा परिपक्वताको अभाव थियो,’ उनले मन बुझाउँदै भनिन् ।

नम्रता सजिलै हार मान्ने स्वभावकी होइनन् । उनलाई जसरी पनि मिस नेपालको ताज भिर्नु थियो । त्यसैले बीचका तीन वर्ष उनले आफूलाई तयार पार्नमा व्यतीत गरिन् । आफ्ना कमजोरी आफैंले पहिचान गरेर त्यसलाई सुधार्दै गइन् । औपचारिक अध्ययन अघि बढाउँदै आफ्नो व्यक्तित्व विकासमा मिहेनत गरिन् ।

गत वर्षको मिस नेपालमा भाग लिने उनले सोचेकी थिइन्, तर खोई किन हो लिइनन् । नलिएर ठिकै भयो जस्तो लाग्छ । यसकारण कि मिस नेपालको ग्रान्ड फिनालेका बेला उनलाई ठेउला आएको थियो । भाग लिएको भए ‘हेल्थ इस्यू’ ले गर्दा उनी फाइनलमा अयोग्य ठहरिन सक्थिन् ।

यसपालिको मिस नेपालमा भाग लिँदा उनी पहिलेको तुलनामा निकै परिपक्व बनिसकेकी थिइन् । ठेउलाको समस्या पनि थिएन । जित्छु भन्ने आत्मविश्वास सुरुदेखि थियो । तर, अन्तिम दिनमा भने आफू धर्मराएको उनी स्वीकार्छिन् ।

‘दोस्रोपटकको प्रयास भएकाले अरुले भन्दा मैले अलि बढी दबाव महसुस गरेँ,’ उनले भनिन्, ‘त्यो दिन बिहानैदेखि तनावमा थिएँ, साथीहरुले तिमी जित्छौ भनेर हौसला बढाएका थिए ।’

अनि जितेपछि ?

‘त्यो मेरो लामो समयदेखि देखेको सपना साकार भएको क्षण थियो,’ नम्रता सम्झन्छिन्, ‘साँच्चै मिस नेपाल भएकी हुँ भनेर विश्वास गर्नै लामो समय लाग्यो । अनुष्का श्रेष्ठले ताज लगाइदिएपछि मैले टाउकोमा हात लगेर छामेकी थिएँ ।’

नेपालमा होस् वा विदेशमा, सौन्दर्य प्रतियोगिता जितेपछि प्रायः सुन्दरीहरु भावविभोर हुन्छन् । खुशीका आँशु झार्छन् । नम्रतालाई पनि त्यस्तो क्षणमा धरधरी रुन्छु होला जस्तो लागेको थियो । तर, खोई किन हो, उनी रोइनन् । मनभित्र भावनाका अनेक छालहरु उर्लिए पनि उनका आँखाहरु ओभाना रहे । उनी आफैंलाई अचम्म लाग्यो ।

तर, त्यो रात उनलााई रातभर निद्रा परेन । मनभित्र नानाथरि कुराहरु खेले । अत्यधिक दुःखमा मात्र होइन, अत्यधिक खुशीले पनि मान्छेको निद्रा बिथोल्छ नै ।

‘बिहान चार बजेतिर निद्रा पर्‍यो होला, ७ बजे त उठिहालेँ,’ उनले भनिन् ।

निद्रा खुल्नासाथ नम्रतालाई एउटा मिठो सपनाबाट ब्युँझिएझैं भयो । टाउको छामिन् । यताउता हेरिन् । हिजो उनले जितेको ताज टेबलमा टक्रक्क थियो । उनले ताज उठाएर सुम्सुम्याइन् र टाउकोमा लगाइन् । विश्वास भयो कि त्यो सपना थिएन । ऐना हेरिन् । गमक्क परिन् । सेल्फी खिचिन् । फेरि गमक्क परिन् ।

गमक्क पर्ने क्रम दिनभरि नै चलिरह्यो । फोन र म्यासेजको जवाफ दिईसाध्ये थिएन । घर पुग्दा उनलाई भेट्न आउनेहरुको ताँती थियो । दिउँसो उनलाई वडा कार्यालयले बोलाएर सम्मान गर्‍यो । त्यसबेला नम्रता मात्र नभएर उनकी आमा पनि गमक्क परिन् ।

यसपटक पनि ताज नजितेको भए के नम्रताले यो प्रतियोगितामा ‘ह्याट्रिक’ गर्ने सम्भावना थियो ?’

‘अहँ थिएन । भाग्यमा रहेनछ भनेर छोड्थेँ होला । बरु भविष्यमा आफ्नी छोरीलाई मिस नेपाल बनाउनतिर लाग्ने थिएँ,’ नम्रताले इमान्दान्दार जवाफ दिइन् ।

***

केही महिनाअघिसम्म नम्रता एक शिक्षिका थिइन् । आफैं सिँगान पुछ्नसमेत नजान्ने साना नानीबाबुहरुलाई ‘ए फर एप्पल’ पढाएर उनको दिनचर्या बित्थ्यो । मिस नेपाल बन्न दौडिएकी उनले शिक्षण पेशा किन रोजिन् त ?

नम्रता भन्छिन्, ‘मैले कतै सुनेकी थिएँ, कि तपाईंलाई आफ्नो जीवन सरल बनाउनु छ भने बच्चाहरुसँग बढीभन्दा बढी समय बिताउनुस् । यो भनाइले ममा निकै प्रभाव पारेको थियो । साथै, शिक्षण पेशाको अनुभवले आफ्नो व्यक्तित्व विकास गर्ने र मिस नेपाल बन्ने लक्ष्यमा सहायक बन्न सक्ने पनि ठानेँ ।’

सन् २०१७ मा नम्रताले मन्टेश्वरी तालिम लिइन् । त्यसपछि यूरो किड्स स्कुलमा एक वर्ष काम गरिन् । तर, घरबाट टाढा पर्ने भएपछि त्यो छोडिन् । अनि, कुपण्डोलमा अर्को स्कुल ज्वाइन गरिन् । त्यसमा पनि एक वर्ष काम गरेपछि छोडिन् र मिस नेपालको स्पर्धामा हेलिइन् ।

दुई वर्षको मन्टेश्वरी अनुभवले आफूलाई निकै परिपक्व बनाएको उनी ठान्छिन् ।

‘अवोध बच्चाहरुसँग टाइम बिताउँदा सिकाउने मात्र होइन, धेरै कुरा सिक्न पनि पाइँदो रहेछ,’ उनले भनिन्, ‘म पहिले बच्चा रोएको समेत हेर्न सक्दिनँथे, तर अब रोएका बच्चालाई फुल्याउन पोख्त भएँ । बच्चाहरुलाई ह्यान्डल गर्दा मेरो धैर्यता र सहनशक्ति बढ्यो ।’

यद्यपि, यो एकदमै दुःखको काम भएको उनको स्वीकारोक्ति छ । कामको पेलानअनुरुप आर्थिक प्रतिफल निजी स्कुलका शिक्षक-शिक्षिकाले नपाएको उनी बताउँछिन् ।

‘साना बच्चाहरुलाई सिकाउन सबैभन्दा गाह्रो काम हो । शिक्षक-शिक्षिकाहरुले बालबच्चा, विद्यालय व्यवस्थापन र विद्यार्थीका बाबुआमासँग एकसाथ डिल गर्नुपर्छ । दुःख त एकदमै हुन्थ्यो । तर, हरेक दिन विद्यालयबाट घर फर्किँदा बच्चाहरुलाई आज यस्तो सिकाएँ भन्ने आत्मसन्तुष्टि पनि सँगसँगै हुन्थ्यो,’ उनले भनिन् ।

नम्रताको अनुभवमा देश र समाजले कम आँके पनि यो सबैभन्दा चुनौतिको पेशा हो । शिक्षक-शिक्षिकाका प्रत्येक बोली-बचन र व्यवहारले बच्चाहरुलाई प्रभाव पार्ने हुँदा निरन्तर सतर्क रहनुपर्ने उनी बताउँछन् ।

‘नेपालमा अरु केही विकल्प नभएपछि टिचिङ गर्छु भन्नेखालको मानसिकता छ । तर, यो एकदमै जिम्मेवार पेशा हो,’ उनी भन्छिन्, ‘तपाईंले एउटा पनि गलत कुरा पढाउनुभयो भने बच्चाहरुलाई आजीवन त्यसले असर गर्छ । बच्चामा पढाएका/सिकाएका कुराहरुको छाप सदैव बसिरहन्छ । शिक्षक-शिक्षिका नै बच्चाहरुका सबैभन्दा ठूला आइडल हुन् । त्यसैले हरेक दिन राम्रो तयारी गरेर विद्यालय जानुपर्छ ।’

नम्रतालाई सोधियो, ‘मिस नेपाल भएपछि त अब फेरि बच्चा पढाउने काममा फर्किनुहुन्न होला है ?’

उनले आफ्नो योजना सुनाइन् ।

‘बच्चाहरु पढाएर म अघाएकी छैन, बरु अब आफैं विद्यालय सञ्चालन गर्न चाहन्छु,’ उनले भनिन् ।

***

नम्रताको ध्यान अब निसन्देह मिस वल्र्डमा हुनेछ । सन् २०२१ मा आयोजना हुने ७० औंं मिस वल्र्डमा उनले नेपालको प्रतिनिधित्व गर्नेछिन् । यसको उत्साह र दबावले उनलाई एकसाथ थिचिरहेको छ ।

नम्रताभन्दा अघिल्ला दुई मिस नेपालले मिस वर्ल्डमा ‘ब्यूटी विथ प्रपोज’ को महत्वपूर्ण टाइटल जितेका थिए । अब यसमा ह्याटि्रक गर्ने जिम्मेवारी नम्रताको काँधमा छ । तर, उनी ब्यूटी विथ प्रपोजलाई मात्रै फोकस नगर्ने बताउँछिन् ।

‘त्यो निकै महत्वपूर्ण विधा हो, तर मैले एउटामा मात्रै फोकस गरेँ भने अरुमा पछि पर्न सक्छु, त्यसैले सबै पाटोमा उत्तिकै मिहिनेत गर्नेछु,’ उनले भनिन् । ‘वान स्टेप एट अ टाइम’ भन्ने सिद्धान्तलाई मुल मन्त्र बनाउने उनले बताइन् ।

‘आइ जस्ट होप, नेपाललाई बेस्ट वेमा रिपि्रजेन्ट गर्न पाउँ,’ उनले भनिन् । आफ्नो आँखा मिस वल्र्डको उपाधिमै हुने उनले बताइन् ।

समाजशास्त्रकी विद्यार्थी हुन् नम्रता । अहिले मास्टर्स थर्ड सेमेस्टरमा अध्ययनरत छिन् । उनलाई नेपालको समाजलाई गहिरोसँग अध्ययन गर्ने हुटहुटी छ । आफ्नो अध्ययनसँग मेल खाने गरी कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आवद्ध हुन सक्ने सम्भावनालाई उनी नकार्दिनन् ।

पढाइदेखि करिअरसम्मका कुरामा कहिल्यै पनि परिवारले आफूलाई दवाव नदिएको उनले बताइन् । तथापि एकपटक आमाले उनलाई विदेश जान सल्लाह दिएकी थिइन् ।

‘आमाले नेपालमा गाह्रो छ, तिमी विदेश जाउ भन्नुभएको थियो, तर मैले यहीँ बस्ने जिद्दी लिएँ । विदेश जान र घुम्न जति पनि समय छ, तर पहिले म आफ्नो सपना पूरा गर्छु भनेर कन्भिन्स्ड गरेँ । अहिले आमा पनि खुशी हुनुहुन्छ,’ नम्रताले सुनाइन् ।

***

प्रत्येक मिस नेपाललाई ‘सोध्नैपर्ने’ केही कर्मकाण्डी प्रश्नहरु छन्, जुन छुटाएर हामीले परम्परा तोड्न चाहेनौं :

अब फिल्ममा नायिका बन्न अफर आयो भने के गर्नुहुन्छ ?

मिस नेपाल भएपछि नायिका नै बन्नुपर्छ भन्ने छैन । पहिले चाहेको भए फिल्म खेल्न सक्थेँ पनि होला । तर, रुची लागेन । फेरि दुईजना नम्रता श्रेष्ठ अलरेडी फिल्म इन्डष्ट्रीमा हुनुहुन्छ । म पनि थपिएर दर्शकलाई अलमलमा पार्न चाहन्न -हाँसो)

विवाहका बारेमा के योजना छ ?

खोई कहिले हुन्छ, हुन्छ । अलि पछि नै होला सायद । विवाह त गर्नुपर्छ । जीवन साथी चाहिन्छ नै । तर, विवाहपछि पिँजडामा बाँधिएको जस्तो अनुभव नहोस ।

कस्तो पुरुषले तपाईंलाई आकर्षित गर्छन् ?

मलाई पुरुषको शारीरिक आकर्षणले भन्दा पनि गुड म्यानरले आकषिर्त गर्छ । मलाई माया गर्ने मात्र नभएर सम्मान पनि गर्ने पुरुष चाहिन्छ । म मायालाई भन्दा सम्मानलाई माथि राख्छु । लुक्स जति राम्रो भए पनि यदि व्यवहार ठीक छैन भने त्यो पुरुष मेरा लागि बनेको होइन । फिजिकल एपियरेन्स अलि पछि आउँछ ।

कसैसँग प्रेममा हुनुहुन्छ कि हुनुहुन्न ?

छैन, छैन । आइ वाज विथ डिप रिलेसनसीप विथ मिस नेपाल क्राउन सिन्स फोर इयर्स । ब्वाइफ्रेन्ड बनाएर हिँड्ने फुर्सद पनि भएन । क्राउन त भेटेँ, प्रेमी पछि भेट्छु होला । (हाँसो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment