Comments Add Comment

अफगान युद्धमा मारिने सर्वसाधारणको संख्या तीन गुणा बढ्यो

२३ मंसिर, काठमाडौं । सन् २०१७ यता अफगानिस्तानको युद्धमा परी मारिने निर्दोष नागरिकको संख्या तीन गुणाले बढेको छ । एक अमेरिकी अध्ययनले देखाएअनुसार अमेरिका र उसका सहयोगी मुलुकहरुले गरेको हवाई आक्रमणमा परी मृत्यु हुने निर्दोष नागरिकको संख्या ३३० प्रतिशत बढेको हो । ब्राउन युनिभर्सिटीको कस्टस् अफ वार प्रोजेक्टका अनुसार सन् २०१९ मा मात्र सात सय नागरिकको मृत्यु भएको थियो ।

अफगानिस्तानमा अमेरिकी सेनाले आफ्नो कारबाही सुरु गरेयता २०१९ मा सबैभन्दा धेरै निर्दोष नागरिकहरु हवाई आक्रमणमा मारिएका हुन् । अनुसन्धानकर्ताहरुका अनुसार अफगानिस्तानमा जमिनमा अमेरिकी सेनाको संख्या निकै कम हुने भएकाले हवाई आक्रमण बढेको हो । त्यसका साथै तालिबानमाथि शान्ति वार्ताको लागि थप दबाब सिर्जना गर्न पनि हवाई आक्रमण बढाइएको थियो । गत फेब्रुअरीमा तालिबानसँगको सम्झौतासँगै अमेरिकाले अफगानिस्तानमा आफ्ना सेना घटाउने निर्णय गरेको थियो ।

तर, अझै अफगानी सेनाको कारबाही भने रोकिएको छैन । अमेरिकाको तालिबानसँगको सम्झौतापछि अफगानी सेनाले आफ्नो आक्रमण बढाएको छ । अहिले अफगानी सेनाले आफ्ना नागरिकहरुलाई अहिलेसम्मकै सबैभन्दा धेरै क्षति पुर्‍याएको अनुसन्धानकर्ताहरुको भनाइ छ । सन् २०२० को सुरुवाती ६ महिनामा अफगानी सेनाबाट ८६ अफगानी नागरिकको मृत्यु भएको छ भने १०३ जना घाइते भएका छन् ।

गत महिना सेभ द चिल्ड्रेनले अफगानिस्तानमा पछिल्लो १४ वर्षयता औसतमा दैनिक पाँच बालबालिका आक्रमणमा परी मारिँदै आएको प्रतिवेदन सार्वजनिक गरेको थियो । संयुक्त राष्ट्रसंघको विवरणअनुसार सन् २००५ देखि २०१९ को बीचमा कम्तीमा २६ हजार २५ बालबालिकाहरु मारिएका वा अङ्गभङ्ग भएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment