Comments Add Comment

साझा र विवेकशील पार्टी एकतामा के–के छन् सहमति ?

सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य, दुवै पार्टीबाट बराबर सहभागिता

२४ मंसिर, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधबार दोस्रो पटक एकीकरण हुँदैछ । बिहान १० बजे साझा पार्टीका संयोजक रविन्द्र मिश्र र विवेकशीलका अध्यक्ष मिलन पाण्डेबीच पार्टी एकीकरणको सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।

त्यसपछि अपरान्ह साढे ३ बजे भर्चुअलरुपमा एकीकरणको घोषणा गर्ने तयारी गरिएको विवेकशीलका केन्द्रीय सदस्य हरिशप्रसाद भट्टले बताए । जुममार्फत गरिने घोषणासभामा सम्झौता पत्रमा हस्ताक्षर गरिएको भिडियोसमेत प्रशारण गर्ने तयारी रहेको उनले बताए ।

एकीकृत पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुने सहमति भएको छ । साझा पार्टीका मिश्र पहिलो वरियताका अध्यक्ष र विवेकशीलका पाण्डे दोस्रो वरियताका संयोजक हुनेछन् । यद्यपि, दुवैसमक्ष कार्यकारी अधिकार हुनेछ

पार्टी एकीकरणलाई विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न भएको दुवै पार्टीका नेताहरुको बुझाइ छ ।

यसअघि २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । त्यसबेला विवेकशीलका उज्जवल थापाले रवीन्द्र मिश्रले पार्टी एकलौटी ढंगले अघि बढाएको आरोप लगाएका थिए । पार्टी फुट्नु १६ महिनाअघि मात्रै दुई पार्टीबीच एकता भएको थियो ।

दोस्रो पटक हुन लागेको एकताको पूर्वसन्ध्यामा साझा पार्टीका मिश्रले विगतका कमजोरीप्रति क्षमायाचना गर्दै विवेकशील साझा पार्र्टीलाई देशको वास्तविक रुपान्तरणको संवाहक बनाउनेमा विश्वस्त रहेको बताएका छन् ।

एकीकृत पार्टीलाई बहुलवादमा आधारित कल्याणकारी लोकतन्त्र, समन्वयात्मक बजार अर्थतन्त्र र सामाजिक न्यायको मान्यतासहितको वैकल्पिक राजनीतिक शक्तिको रुपमा विकास गर्न चाहेको पार्टीका नेताहरु बताउँछन् ।

दुवै पार्टीका नेताहरुले राजनीतिलाई पेसा नभइ सेवामा रुपान्तरण गर्ने उद्घोषसहित राज्य व्यवस्था र सामाजिक संरचनाहरूमा सह–अस्तित्व, सहकार्य र एकता सुनिश्चित गर्ने र लोकतान्त्रिक बहुलवादप्रति प्रतिबद्ध रहने पार्टी निर्माणको घोषणा गर्ने तयारी गरिएको बताएका छन् ।

मिश्र अध्यक्ष, पाण्डे संयोजक

एकीकृत पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुने सहमति भएको छ । साझा पार्टीका मिश्र पहिलो वरियताका अध्यक्ष र विवेकशीलका पाण्डे दोस्रो वरियताका संयोजक हुनेछन् । यद्यपि, दुवैसमक्ष कार्यकारी अधिकार हुने सम्झौतामा हस्ताक्षर हुँदैछ ।

एकीकृत पार्टीको केन्द्रीय समितिमा विवकेशील र साझा दुवै पक्षबाट ६५/६५ जना गरी एक सय ३० जना केन्द्रीय सदस्य हुनेछन् । एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट १३/१३ जना सदस्य रहेको केन्द्रीय सचिवालय गठन गर्ने पनि भनिएको छ ।

साझा पार्टीका एक नेताका अनुसार एकीकृत पार्टीको केन्द्रीय समितिबाट अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाएर त्यसअनुसार काम अघि बढाउनेसमेत सहमतिको बुँदामा उल्लेख छ । कार्यविधि अनुसार नै दुई महिनाभित्र दुवै पार्टी माहतका सबै संरचनालाई पुनर्गठन र समायोजन गर्ने भनिएको छ ।

सम्झौतामा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने भनिएको छ ।

यसअघि दुई पार्टीबीच एकीकरणका लागि संवाद गर्न विवेकशीलबाट निर्देश सिलवालको संयोजनमा रञ्जु दर्शना र रमेश पौडेल सदस्य रहेको समिति बनाइएको थियो भने साझा पार्टीबाट समीक्षा बाँस्कोटाको संयोजनमा किरण श्रेष्ठ र केशव दाहाल सदस्य भएको समिति बनाइएको थियो ।

समितिले तयार पारेको एकीकृत प्रतिवेदनका आधारमा दुई पार्टीबीच एकीकरण हुन लागेको हो । प्रतिवेदनमा दुई अध्यक्ष रहने र वरियता पनि एउटै हुने भनिएको स्रोतको दाबी छ । यद्यपि, अन्तिम समयमा साझा पार्टीका नेताहरुले मिश्रलाई अध्यक्ष र पाण्डेलाई संयोजक राख्नुपर्नेमा साझा पार्टीका नेताहरुले दबाब दिएका थिए ।

साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपी हमाललगायतको दबाबपछि विवेकशील पछि हटेको थियो । विवेकशीलले पार्टी एकीकरणका लागि सदस्यहरुबीच अनलाइनबाट मतदानसमेत गराएको थियो । जसमा दुई तिहाइ सदस्यले एकीकरणका लागि सहमति दिएका थिए ।

उपाध्यक्षसहित १३ जनाको एकीकरणमा असहमति

विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जनाले चाहिँ एकीकरण प्रक्रियामा सहभागी नहुने बताएका छन् । विगतमा भएका मतभिन्नताका विषयलाई  किनारा नलगाइ एकीकरण हुन लागेकाले यो उपयुक्त नहुने राईले बताइन् ।

यसमा विषयमा आन्तरिकरुपमा कुरा राखे पनि सुनुवाई नभएपछि प्रेस विज्ञप्ति नै जारी गरेर एकीकरणमा प्रक्रियामा सहभागी नहुने बताएको उनले सुनाइन् ।

राईसँगै पार्टी एकीकरणमा सहभागी नहुने अन्यमा कार्यालय व्यवस्थापनतर्फ सचिव संगीता बाटाजु, संघीय समिति सदस्य कर्मा लामा तामाङ, छिरिङ तामाङ, विजयबाबु शिवाकोटी, जेसन वैद्य, शिशिर राई, जमाल अली, आशिष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की र आलोक सुवेदी छन् ।

संवाद समितिमा समेत रहेकी नेतृ रञ्जु दर्शनाले भने यसपटक एकीकरणको जग बलियो बताएको बताउँदै उपाध्यक्ष राईलगायतलाई एकीकरणमा सहभागी हुन आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment