Comments Add Comment

गौतमबुद्ध विमानस्थल : २५ दिनमा सकिएला बाँकी काम ?

५ महिनामा दुई प्रतिशत प्रगति

२४ मंसिर, काठमाडौं । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्न शनिबार भैरहवा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आयोजनाको ९३ प्रतिशत पुरा भएको जानकारी गराइयो । मन्त्री भट्टराईले आयोजना प्रमुखसहित सरोकारवालालाई अबको २५ दिनमा बाँकी काम पूरा गर्न निर्देशन दिए । यो २५ दिन भनेको सन् २०२० मा बाँकी रहेको अवधि हो । यो आयोजनाको म्याद यही डिसेम्बर ३१ सम्म मात्र छ । शिलान्यासयता करिब आधा दर्जन पटक म्याद थप भएपछि तय भएको मिति हो यो ।

मन्त्री भट्टराईले दिएको निर्देशन आयोजनाले कति सहजै पालना गर्ला ? यसका लागि पछिल्ला दिनमा आयोजनामा भएको कार्य प्रगति हेर्नुपर्छ ।

१९ असार २०७७ मा मन्त्रालयमा आयोजित कार्यक्रम ११ चैतदेखि १५ असारसम्मको कार्यसम्पादनको लामो सूची सार्वजनिक गरिएको थियो, जसमा भैरहवा विमानस्थलको कार्यप्रगति ९१ प्रतिशत देखाइएको थियो । मन्त्री भट्टराईलाई आयोजनाले दिएको जानकारी अनुसार अहिले कार्यप्रगति ९३ प्रतिशत पुगेको छ । अर्थातः चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा आयोजनाको भौतिक प्रगति २ प्रतिशत भएको छ । त्यसो भए बाँकी २५ दिनमा ७ प्रतिशत कार्य प्रगति सम्भव छ ?

आयोजना नियाली रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु यो सम्भव देख्दैनन् । प्राधिकरणका अनुसार विमानस्थलमा उपकरण जडान गर्न बाँकी कामका लागि नेपालमा दक्ष प्राविधिक छैनन् । आयोजना निर्माणको जिम्मेवारी लिएका कम्पनीहरुले कोरोना महामारीका कारण चीन र थाइल्याण्डबाट प्राविधिक फर्काउन नसकेको जनाएका छन् । नेपाल सरकारले पनि नेपाली आयोजनामा काम गर्ने विदेशमा अड्किएका कामदार आउन सक्ने निर्णय गर्न ढिला गर्‍यो ।

प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीका अनुसार इन्जिनियरहरु आएर तत्काल काम सुरु गर्दासमेत तीन महिनाभन्दा बढी समय लाग्ने अवस्था छ । कतिपय सामान नै आउन बाँकी रहेका कारण विमानस्थल निर्माणको काम सकिने मिति तोक्न नसकिने प्रतिक्रिया आफूले आयोजनाका जिम्मेवार पदाधिकारीबाट पाएको प्राधिकरणका प्रवक्तासमेत रहेका क्षेत्रीले बताए ।
६ अर्ब २२ करोड ५१ लाख लागतको भैरहवा विमानस्थल निर्माणको काम २१ डिसेम्बर २०१४ बाट शुरु भएको हो ।

के-के काम बाँकी छन् अब ?

पर्यटन मन्त्रालयका अनुसार चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एसिएशन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले विमानस्थलको भौतिक संरचना निर्माणको काम सकेको छ । धावनमार्ग, टर्मिनल भवनसहितका संरचना बनेर यन्त्र-उपकरण जडानको काम जारी छ ।

विमानस्थलमा उपकरण ल्याउने र जडान गर्ने जिम्मा एरोनटीकल रेडियो अफ थाइल्याण्डले पाएको छ । जडानका लागि थाइ र चिनियाँ दक्ष कामदार आउनपर्छ । कतिपय उपकरण नै ल्याउन बाँकी छ । तीनहजार मिटर लामो धावनमार्ग, ट्याक्सी वे र एप्रोनको सिभिलतर्फको काम सकिएर विद्युतीको काम भइरहेको छ । टर्मिनल, प्रशासनिक भवन, अग्नी निवारण तथा कन्ट्रोल टावर बनिसकेका छन् । ती संरचनामा उपकरण जडान र इन्टेरियरको काम जारी छ ।

संरचना बन्दैमा विमानस्थलको काम सकिन्न

अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि भौतिक संरचना निर्माणले मात्र पुग्दैन । हरेक सरोकारवाला निकायले कर्मचारी व्यवस्थापनको काम मिलाउनुपर्छ । पर्यटन मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणसहित सुरक्षाकर्मी, अध्यागमन, भन्सारले आफ्नो जिम्मेवारी अन्तर्गतको संरचना विमानस्थलमा खडा गर्नुपर्छ ।

ग्राउण्ड हृयाण्डिलिङ अर्को महत्वपूर्ण पक्ष हो । सोही क्रममा प्राधिकरणले ५६ जना कर्मचारी रहने गरी दरबन्दी स्वीकृत गरेको छ । यसअनुसार कर्मचारी व्यवस्थापनको काम बाँकी छ । नयाँ विमानस्थलमा एयरलाइन्स कम्पनीहरुले सेवा थाल्नअघि मार्केटिङ तथा प्रचार प्रसारको काम गर्छन् । सरकारले व्यवसायिकरुपमा विमानस्थल संचालनको मिति तोक्न नसक्दा एयरलाइन्सहरुले बजारीकरण थाल्न सकेका छैनन् ।

भारतसँग सम्झौता कहिले ?

भैरहवा विमानस्थल नेपाल-भारत सीमा नजिक छ । अन्तर्राष्ट्रिय उडानका जहाजले भारतीय आकास छुन सक्ने अवस्थामा छुट्टाछुट्टै अनुमति लिनुपर्छ । यसले गर्दा हरेक उडान प्रभावित हुन सक्छ । यसकारण, विमानस्थल संचालनमा आउनु अगाडि नै उडानबारे नेपाल-भारत सम्झौता भइसक्नु पर्छ ।

प्राधिकरणका उपमहानिर्देशक क्षेत्रीका अनुसार भैरहवा विमानस्थल संचालन सम्बन्धमा पठाएको पत्रको सकारात्मक प्रतिक्रिया आएको छ । अब आपसी छलफल गरी सम्झौताको मिति तय गरिने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment