Comments Add Comment

चीनले व्यापारिक नियम अवज्ञा गरेको अस्ट्रेलियाको आरोप

२४ मंसिर, काठमाडौं । चीनले द्विपक्षीय व्यापार सम्झौता अवज्ञा गरेको अस्ट्रेलियाले आरोप लगाएको छ । चीनले अस्ट्रेलियाले निर्यात गर्दै आएको सामग्रीहरुलाई रोक्न बारम्बार विभिन्न कदमहरु चाल्दै आएको अस्ट्रेलियाले बताएको हो । अस्ट्रेलियाका व्यापारमन्त्री सिमोन ब्रिमिङघमले चीनले दर्जनभन्दा धेरै अस्ट्रेलियाली सामग्रीहरुलाई लक्षित गर्दै आएको बताए । चीनले यसै वर्ष अस्ट्रेलियाबाट आउने अन्नहरु, रक्सी र मासुमा प्रतिबन्ध वा रोक लगाउने निर्णय गरेको थियो ।

चीनले अस्ट्रेलियामाथि प्रतिबन्ध लगाएसँगै अस्ट्रेलियाले यसमा आपत्ति जनाएको हो । चीन अस्ट्रेलियाको लागि सबैभन्दा धेरै व्यापार हुने मुलुक हो । ब्रिमिङघमले आफूहरुले निरन्तर अस्ट्रेलियामाथि भएको पक्षपाती निर्णयको विरुद्धमा आवाज उठाउँदै आएको बताए । उनले चीनसँगको विवादका सबै मुद्दाहरु वार्ताको माध्यमबाट समाधान गर्न सकिने पनि उल्लेख गरे ।

चीनले अस्ट्रेलियाको समग्र निर्यातको एक तिहाइ सामग्री खरिद गर्ने गरेको छ । यो खरिद उनीहरुबीचको द्विपक्षीय व्यापारको २७ प्रतिशत हो । पछिल्लो समय चीन र अस्ट्रेलियाबीच राजनीतिक तनाव बढ्दो क्रममा छ । चीनले अस्ट्रेलियाले आफूसँग शत्रुवत् व्यवहार गरेको आरोप लगाएको छ ।

यस वर्षको सुरुमा अस्ट्रेलियाले कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिको विषयमा अनुसन्धान हुनुपर्ने पक्षमा आवाज उठाएसँगै चीनसँगको व्यापारिक विवादहरु पनि सुरु भएको थियो । विश्लेषकहरुका अनुसार अस्ट्रेलियाको सोही मागको कारण अहिले दुई मुलुकको बीचमा तनाव सिर्जना भएको हो । पछिल्लो केही वर्षमा चीनले अस्ट्रेलियाको आन्तरिक राजनीति, व्यावसाय र शिक्षा क्षेत्रमा हस्तक्षेप बढाउँदै लगेको अस्ट्रेलियाको आरोप छ । चीनले भने यसलाई केवल ‘चीनविरोधी मानसिकता’ रहेको बताउँदै आएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment