Comments Add Comment

मंसिर २८देखि उखु किसानले माइतीघरमा धर्ना दिने

२४ मंसिर, काठमाडौं । सर्लाहीका उखु किसानले काठमाडौं केन्दि्रत आन्दोलनको घोषणा गरेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै मंसिर २८ गतेदेखि माइतीघर मण्डलामा आन्दोलन थाल्ने घोषणा गरेका हुन् ।

माइतिघर मण्डलाबाट निकास ननिस्किए सिंहदरबार र बालुवाटार घेराउसम्मको आन्दोलन गर्ने गरी तयारी गरिएको को उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताए ।

‘मंसिर २७ गते बेलुका सर्लाहीबाट हामी पाँच सय जना किसान काठमाडौंका लागि हिँड्दै छौं, २८ गते माइतीघर घेराउ गर्छौं,’ संरक्षक मिश्रले भने ।

सरकारले किसानसँग गरेको पटक-पटकको बाचाअनुसार मंसिर २६ गतेसम्म किसानले बक्यैता प्राप्त गर्नपर्ने भएपनि एक वर्षको अवधिमा कुनै प्रगति नभएको मिश्रले बताए ।

‘तिहारअघि पनि उद्योग मन्त्रीलाई भेटेर हाम्रो माग राखेका थियौँ, उहाँले पैसा दिलाइदिने भनेर ठूलो-ठूलो कुरा गर्नुभयो, तर पैसा आएन,’ मिश्रले गुनासो गरे ।

सरकारले किसानसँग पटक-पटक सम्झौता गरेपनि त्यसको कार्यान्वयन नभएपछि निर्णायक आन्दोलनमा गर्ने क्षणमा पुग्नु परेको किसानहरुले बताएका छन् ।

काठमाडौं केन्दि्रत आन्दोलनको कार्यक्रमअन्र्तगत माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना दिने, नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई आफ्नो ब्यथा सुनाउने लगायतका तयारी किसानहरुको छ ।

माइतीघरबाट निकास ननिस्किए चरणबद्ध रुपमा सिंहदरबार र बालुवाटार घेर्नेसम्मको आन्दोलनका लागि किसानहरु तयार भएको संरक्षक मिश्रले बताए ।

बक्यौता कति ?

चार वटा चिनी मिलबाट उखु किसानले करोडौं रुपैयाँ बक्यौता पाउन बाँकी छ । सरकारी तथ्यांकअनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।

जसअनुसार श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ किसानलाई बुझाउन बाँकी छ ।

श्रीराम सुगर मिलले बक्यौता तिर्न जग्गा बिक्रीको प्रस्ताव राखेको तर भूमिसुधार मन्त्रालयबाट स्वीकृति नपाइएको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।

चिनी मिलका सञ्चालकहरु मन्त्रालयको सम्पर्कमै रहेको र किसानका लागि बक्यौता दिलाउन मन्त्रालयले निरन्तर प्रयास गरेको सहप्रवक्ता केसीको भनाइ छ ।

इन्दिरा र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवालले पनि राज्यमन्त्री मोतीलाल दुगडसँगको छलफलमा रकम तिर्ने प्रतिबद्धता जनाएको उनले बताइन् ।

५० करोड रुपैयाँ बराबरको चिनी मिलमा रहे पनि बिक्री गर्न नपाउँदा किसानको भक्तानी दिन नसकेको जानकारी अग्रवालले मन्त्रालयलाई गराएको केसीले बताइन् । अन्य मिलहरुबाट पनि भुक्तानीका लागि मन्त्रालयबाट ताकेता भईरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment