Comments Add Comment

‘महिला हिंसा रोक्न राजनीतिक दलमै आचारसंहिता चाहिन्छ’

२४ मंसिर, काठमाडौं । महिला सांसदहरुले महिला हिंसा अन्त्यको लगि राजनीतिक पार्टीमा आचारसंहिता जरुरी भएको बताएका छन् ।

आफैँ महिनावारी बार्ने र हिंसा अन्त्यको कुरा गर्ने महिला सांसद, श्रीमती महिनावारी भएको चार दिन भात पकाउँछु भन्ने पुरुष नेता रहेसम्म महिला हिंसा अन्त्य हुन नसक्ने सांसद बिमला राई पौड्याल बताउँछिन् ।

‘आफैँ हिंसामा पर्ने, हिंसा गर्ने तर, हिंसा रोक्नुपर्छ भनेर वकालत गर्ने प्रवृत्ति सांसदहरुमा छ । यो रोक्नका लागि दलहरुमा आचारसंहिता बनाउन जरुरी’, पौड्यालले भनिन्, ‘आचारसंहिता बनाएर लागू गरौं र त्यसको अनुगमन गरौं ।’

बिहीबार ‘लैंगिक न्यायका लागि संघीय सांसद समूह’ले सिंहदरबारमा गरेको एक कार्यक्रममा सांसद पौड्यालले यस्तो बताएकी हुन् ।

कार्यक्रममा सांसद विद्या भट्टराईले महिला हिंसा अन्त्यको विषय राजनीतिक दलहरुको प्राथमिकतामा पर्नुपर्ने बताइन् ।

‘महिला हिंसा दलहरुको कति प्राथमिकतामा परे ? भन्दा त्यस्तो छैन’ उनले भनिन्, ‘महिला हिंसा र अपराधको विषय दलहरुभित्र अवमूल्यनमा पर्दै आएको छ । यो सबैको साझा मुद्धा हो भन्ने पार्नुपर्ने छ’ उनले भनिन् । विद्यालय तहमा शिक्षक पीडक र विद्यार्थी पीडित हुने गरेको समेत पाइएकाले यसतर्फ समेत ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

लैंगिक न्यायका लागि संघीय सांसद समूहकी संयोजक विन्दा पाण्डेले महिला हिंसा अन्त्यका लागि विभिन्न कानुनमा सुधारको खाँचो औंल्याइन् ।

स्थानीय तहको चुनाव आउन लागेका कारण त्यसलाई समेत ख्याल गरेर महिला प्रतिनिधित्वको सुनिश्चितता थप गर्ने गरी निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गर्न बहस चलाउन आवश्यक रहेको उनको भनाइ छ । सांसद अनिता देवकोटाले मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन दबाब दिनुपर्ने बताइन् ।

पुरुष नेताले टर्चर दिन थाले : सभापति खरेल

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले प्रत्यक्ष निर्वाचित सांसदलाई सम्बन्धित क्षेत्रका पुरुष नेताहरुले अर्को पटक चुनावमा आफू उठ्ने भन्दै टर्चर दिन थालेको गुनासो गरेकी छन् ।

खरेल झापा २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनले आफैँलाई टर्चर दिएको वा अरुलाई भन्नेमा केही खुलाइनन् ।

उनले भनिन्, ‘प्रत्यक्ष निर्वाचित भएर आएका महिला सांसदलाई पुरुष नेताले टर्चर दिन थाले । विभिन्न प्रलोभन देखाएर महिला सांसदविरुद्ध लाग्ने यो महिलामाथिको राजनीतिक हिंसा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment